कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

कोसी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज 

निको हुनेको संख्या ३० पुग्यो
देवनारायण साह

विराटनगर — विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतका एक जना युवा, विराटनगरका २ जना पुरुष र उदयपुरकी एक महिला र चार पुरुष रहेका छन् ।

कोसी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज 

डिस्चार्ज भएकाहरुले उपचार केन्द्रमा आफूहरुलाई चिकित्सकहरुले नियमित हेरचाह गरेकोले आत्मबल मजबुत भएर कोरोना निको भएको बताए । उनीहरुले उपचार केन्द्रमा कोरोना रोगको कुनै किसिमको औषधि खानु नपरेको बताए । उनीहरुले भुल्केबाट ल्याउने क्रममा प्रहरीले एकैछिनमा गाईघाटबाट एउटा जाँच गराएर ल्याइदिने भन्दै ढाँटेर ल्याएको गुनासो पोखे । आफूहरुले शरीरमा लगाएको एउटा लुगाले मात्रै १८ दिन बिताउनु परेको उनीहरुले गुनासो पोखे । उनीहरुले क्वारेन्टाइनमा बस्नका लागि घर जान पाउनुपर्ने माग गरेका थिए ।

तर उनीहरुमध्ये एक जनालाई भुल्के र अन्य ७ जनालाई विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा पठाइएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताइन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक जनालाई स्थानीय प्रशासनको समन्वयमा त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा वा उनको घरमै राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताए । डिस्चार्ज भएका सबैलाई मन्त्री घिमिरेले बिदाई गरेका थिए ।

उनीहरुको सोमबारदेखि लगातार गरिएको स्वाब परीक्षण रिपोर्टमा बिहीबार कोरोना भाइरस नेगेटिभ देखिएको थियो । भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएकामध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको र ७ जनाको रिपोर्ट पोजिटिभ नै आएको घिमिरेले बताए । उनीहरुमध्ये वैशाख ८ गते १० जना, ९ गते ४ जना र १० गते १ गरी १५ जनामा संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।

कोसी अस्पतालका चिकित्सक डा. दीपक सिग्देलले उपचार केन्द्रमा आएदेखि हालसम्म कसैलाई पनि कुनै किसिमको उपचार नगरिएको बताए । ‘कोरोना भाइरसको संक्रमण देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उपचार केन्द्रमा बसेका ३१ जनामै कुनै किसिमको कोरोना भाइरसको लक्षण देखिएको छैन ।’

यसअघि प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनामध्ये ६ जना स्वस्थ भएर बुधबार डिस्चार्ज भएका थिए । उनीहरुलाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ । लगातार ३ पटकसम्म स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउनेको संख्या १३ पुगेको छ । रिपोर्ट पोजिटिभ आउनेहरुको ५ दिनपछि पुन: स्वाब परीक्षण गरिने सिग्देलको भनाइ छ ।

उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासी सहित १२ जनामा वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएको थियो । जसमध्ये १४ जना डिस्चार्ज भइसकेका छन् । अब भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको २ र भुल्केका १४ जना गरी १७ जना केन्द्रमा उपचाररत छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या ३० पुगेको छ । ७१ जना संक्रमितको भने विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७७ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?