२० नेताले तय गरे स्थायी कमिटी बैठकको एजेन्डा

काठमाडौँ — पार्टी बैठकको माग गर्दै अध्यक्षद्वयलाई पत्र लेखेका नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले जतिसक्दो छिटो स्थायी कमिटी बैठक आह्वान गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नेकपा पार्टी कार्यालय धुम्बराहीमा भएको उनीहरुको भेलाले विधानअनुसार पार्टीको बैठक डाक्नै पर्ने निचोड निकालेका हुन् ।

२० नेताले तय गरे स्थायी कमिटी बैठकको एजेन्डा

‘हामीले विधानसम्मत बैठकको माग गरेकाले विधान नमिचेर जतिसक्दो छिटो बैठक राख्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भनेका छौं,’ स्थायी कमिटी सदस्य जनार्दन शर्माले भने,‘हामीले नै माग गरेको बैठक भएकाले त्यसको एजेन्डा पनि हामीले तय गरेका छौं ।’अध्यक्षद्वयले पार्टी बैठकको एजेन्डा तय गर्न नसकेर स्थायी कमिटी बैठक स्थगित गरेको खबर सार्वजनिक भइरहेका बेला नेताहरुले एजेन्डासमेत तय गरेका हुन् । उनीहरुले कोरोनाको संक्रमण रोकथाम, विदेशमा रहेका नेपालीहरुको स्वदेश फिर्ता, पार्टी एकता सुदृढीकरण, सरकारको कामको समीक्षा र आगामी बजेटलाई स्थायी कमिटी बैठकको एजेन्डा बनाएका छन् । भेलाबाट एजेन्डा पास भएपछि ४ नेता यी एजेन्डा र बैठक छिटो बोलाउनुपर्ने मागसहित अध्यक्ष दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । प्रधानमन्त्रीसँग पनि यो विषयमा कुराकानी भएकाले थप सल्लाह गरेर दुई चार दिनमै बैठक बोलाउने बताएको नेता शर्माले जानकारी दिए । ‘हामीले कार्यकारी अध्यक्ष प्रचण्डमार्फत्, प्रधानमन्त्रीज्यूलाई पनि छिटो बैठक बोलाउन आग्रह गर्दै फेरि ध्यानाकर्षण गरेका छौं,’ नेता शर्माले भने, ‘तपाईंहरुले पनि भन्नुभयो, मेरो पनि प्रधानमन्त्रीसँग कुराकानी भएको छ, दुई/चार दिनमा बैठक बोलाउँछौं भनेर अध्यक्षले जवाफ दिनुभएको छ ।’

धुम्बराहीमा भेला सकिएपछि अध्यक्ष दाहाललाई भेट्न शर्मासहित स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त र हरिबोल गजुरेल दाहाल निवास खुमलटार पुगेका थिए ।

आफूहरुले बैठक डाक्न गरेको आग्रहमा अध्यक्ष उदासिन भएको भन्दै यी नेताहरु आपसमा छलफल र परामर्श गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको र सरकार एकलौटी चलेको भन्दै त्यसको जवाफ स्थायी कमिटी बैठकमै आएर दिनुपर्ने उनीहरुको माग छ । मागबमोजिम बिहीबारका लागि बैठक डाकिए पनि तयारी नपुगेको भन्दै अध्यक्षद्वयले स्थगित गरेका थिए । पार्टी बैठक नै बोलाउने या नबोलाउने भन्नेबारेमा नेकपाको बुधबारको सचिवालय बैठकमा नेताहरुका बीचमा चर्काचर्की भएपछि बैठक एजेन्डामै प्रवेश नगरी सकिएको थियो ।

प्रकाशित : वैशाख २५, २०७७ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?