२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री अर्को साता आइपुग्ने 

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाले चीनबाट ल्याउन लागेका स्वास्थ्य सामग्रीहरु आउने सातामात्रै आइपुग्ने भएको छ । ढुवानी प्रक्रियामा समस्या भएपछि तोकिएको मितिभन्दा एक साता ढिलो सामग्री आइपुग्ने सेनाले बताएको छ । 

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री अर्को साता आइपुग्ने 

सेनाको वैशाख २३ मा पहिलो लटको स्वास्थ्य सामग्री चीनबाट काठमाडौं उतार्ने बताएको थियो । तर, चीनमा लगातार ५ दिनको बिदा, नेपालसहित विश्वका अन्य मुलुकहरुले पनि एकैपटक स्वास्थ्य सामग्री आपूर्ति गर्न खोज्नु, सबै मुलुकलाई एकैपटक सामग्री चाहिएको कारण विमानस्थलमा ट्राफिक समस्या हुनु र भन्सारका चेक–जाँचलगायतका समस्याका कारण तोकिएको समयमा स्वास्थ्य सामाग्री ल्याउन नसकेको सेनाले दाबी गरेको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आउँदो मंगलबारसम्ममा पहिलो फ्लाइटबाट काठमाडौंमा चीनबाट स्वास्थ्य सामग्री आउने बताए ।

सेनाले गोन्जाउ एयरपोर्टमा नेपाल ल्याउने सामग्री जम्मा गर्ने स्थान पाएको पनि उनले बताए । उक्त सामग्री अब भन्सारले चेकजाँच गरिसकेपछि नेपालबाट वाइडबडी विमान गएर ल्याउने छ ।

‘शुक्रबारसम्म भन्सारको काम सकियो भने नेपालबाट शनिबार वा आइतबारै गएर स्वास्थ्य सामग्री ल्याउँछ । नत्र मंगलबार सम्ममा पहिलो लटको स्वास्थ्य सामग्री काठमाडौंमा उत्रने छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

सेनाले ढुवानी कम्पनी फ्ल्यास फ्रेइट नेपाल कार्गो कम्पनीसँग वैशाख १६ गते सम्झौता गरेको थियो । चार्टडबाट दुई खेपमा अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउन तीन लाख ७२ हजार पाँच सय डलर (चार करोड ४४ लाख ३६ हजार रुपैयाँ) दिने सम्झौता गरेको थियो । जसअनुसार पहिलो विमानमा १४ थरीका १८.८४३ टन र दोस्रो विमानमा १७ थरीका २८.७७ टन स्वास्थ्य सामग्री ल्याउने तयारी छ ।

प्रवक्ता पाण्डेले गोन्जाउबाट स्थलमार्गदेखि पनि स्वास्थ्य सामग्री लिएर ढुवानी सम्झौता गरेको कम्पनीका ट्रकहरु नेपालतर्फ आइसकेको बताए । ‘बुधबार र बिहीबार स्वास्थ्य सामग्री लिएर ट्रकहरु हिँडिसकेका छन्,’ उनले भने । गोन्जाउबाट नेपाल–चीनबीचको तातोपानी नाकाबाट सडकमार्ग हुँदै ती ट्रकहरु आइपुग्न सात दिन लाग्नेछ । र, तीन दिन भन्सारमा चेकजाँच हुने छन् । त्यसपछि काठमाडौंमा सामग्री आइपुग्ने छ । सेनाले स्थलमार्गबाट अन्य सामग्री ल्याउनको लागि ढुवानी कम्पनीसँग दुई करोड ८६ लाख ७६ हजार चार सय रुपैंयाको सम्झौता गरेको थियो ।

सेनाले मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट सरकार…–सरकार (जीटुजी) प्रक्रियामार्फत् कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि ६७ थरीका स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो ।

सैन्य कुटनीतिमा जोड

चीनबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि अतिआवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औं मुलुक हो । स्वास्थ्य सामग्री खरिद गर्न सकिए पनि उक्त सामग्री पाउन भने लामो समय कुर्नु पर्ने हुन्छ ।

नेपालमा स्वास्थ्य सामग्रीको अभाव भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार नेपालस्थित चिनियाँ दुतावासका सैनिक–सहचारीलाई सैनिक मुख्यालय जंगी अड्डामा निमन्त्रणा गरेर स्वास्थ्य सामग्री छिटोभन्दा छिटो नेपालमा ल्याइदिने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

‘प्रधानसेनापतिले पनि सैनिक सहचारीलाई बोलाएर आग्रह गर्नु भएको छ । उता, परराष्ट्र मन्त्रालयले पनि कुटनीतिक नोटमार्फत् चीनलाई आग्रह गरिरहेको छ । हामीले पनि बेइजिङस्थित हाम्रो सैनिक सहचारीलाई स्वास्थ्य सामाग्री छिटोभन्दा छिटो नेपालमा पठाउने सम्बन्धमा भूमिका खेल्न आग्रह गरेका छौं,’ प्रवक्ता पाण्डेले भने, ‘सबै संयन्त्रहरु प्रयोग गरेका छौं । अर्को साताभित्र स्वास्थ्य सामग्री आइपुग्छ ।’

प्रकाशित : वैशाख २५, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?