कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अपांगता भएका ४० प्रतिशतको आयस्रोत गुम्यो

चैतदेखिको कोठाभाडा तिर्न सकेका छैनन्, चिनेको पसलबाट उधारो सामान ल्याएर छाक टार्दै छन् ।
विद्या राई

काठमाडौँ — चप्पल कारखानामा डेरा गरी बस्ने डडेलधुराका दृष्टिविहीन सागर विष्ट दोहोरी साँझमा काम गर्थे । मादल बजाएबापत दैनिक चार सय रुपैयाँ ज्याला बुझ्थे ।

अपांगता भएका ४० प्रतिशतको आयस्रोत गुम्यो

उनकी पत्नीसमेत दोहोरी साँझमै काम गर्थिन् । कमाइको पैसाले कोठा भाडा मासिक तीन हजार रुपैयाँ तिर्ने र जीविका धान्ने गर्थे ।

कोरोना महामारीले गर्दा सरकारको निर्देशनमा चैत ६ देखि दोहोरी साँझ बन्द भए । लकडाउन घोषणापछि उनीहरू कोठाबाहिर निस्कन पाएका छैनन् । ‘दोहोरी साँझमा तलब खासै राम्रो त थिएन तैपनि पेट पालिएको थियो,’ उनले रोजीरोटी गुमेको पीडा सुनाए, ‘सरकारले ६ महिनासम्म दोहोरी साँझ खोल्न नदिने समाचार सुन्दै छौं, अब के गर्ने भन्ने चिन्ता छ ।’

सामान्य अवस्थामा समेत अपांगता भएकालाई काम पाउन मुस्किल पर्छ । सागर र उनकी पत्नीलाई दोहोरी साँझको कामबाहेक अरू सीप छैन । ६ हप्तादेखिको लकडाउने गोजी रित्तिएको छ । वडाले उनीहरूलाई १० किलो चामल राहत दिएको थियो । त्यो पनि सकियो । चिनेजानेका बैतडीका एक दाइको पसलबाट उधारो सामान ल्याएर छाक टार्दै छन् । खाना पकाउने ग्यास सकिन लागेको छ । चैतदेखिको भाडा तिर्नै बाँकी छ । ‘घरबेटीले अहिलेसम्म मागेका छैनन्, मागे भने कसरी तिर्ने, ती दाइको उधारो कसरी तिर्ने ?’ सागरले भने ।

काभ्रे पाँचखालका दीर्घबहादुर खड्काको पनि सागरको जस्तै समस्या छ । उनी पनि आँखा देख्दैनन् । गठ्ठाघरमा कोठा भाडामा बस्ने उनी दोहोरी साँझमा ‘इलेक्ट्रिक ड्रमसेट’ बजाउँथे । त्यसबापत पाएको दैनिक तीन सय ज्यालाले मासिक भाडा पाँच हजार तिर्ने, पढाइ खर्च र जीविका धान्ने गर्थे । काम बन्द भएपछि उनी छटपटिएका छन् । ‘बन्द हुनुअघिसम्मको ज्याला दिएको थियो, त्यसैले अहिलेसम्म खर्च पुर्‍याएँ,’ उनले भने, ‘लकडाउन खुले पनि दोहोरी साँझ नखोल्ने सरकारले भनेको रहेछ, यसपछि झन् समस्या थपिने भो ।’

चैतदेखिको कोठा भाडा तिर्न बाँकी छ । अरू बेला आफैंले जानीबुझी भाडा बुझाउने गरेकाले यसपालि नमागेको हुन सक्ने उनले बताए । ‘सरकारले भाडा नलिनु भनेको छ, घरबेटीले के टेर्थे होला र,’ उनले सुनाए, ‘सरकारको निर्णय मानिदिएर घर भाडामात्रै नलिए पनि धेरै राहत मिल्ने थियो ।’

२० प्रतिशतको गुम्दै

कोरोना महामारीले गर्दा लकडाउन अवधिमा सागर र दीर्घजस्ता अपांगता भएका व्यक्तिहरू थुप्रैले आयस्रोत गुमाएका छन् । राष्ट्रिय अपांग महासंघले लकडाउन अवधिमा ४०.०८ प्रतिशतको आयस्रोत गुमेको र १९.८९ प्रतिशतले चाँडै नै गुमाउने अवस्था रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

यसरी आयस्रोत गुमाउनेमा महिला ४८.६८ प्रतिशत र पुरुष ५१.३२ प्रतिशत रहेको महासंघका महासचिव राजु बस्नेतले बताए । ‘विशेषगरी दैनिक ज्यालादारी गरेर जीविका चलाउने साथीहरूको आयस्रोत गुमेको छ, यसपछि जीविका कसरी धान्ने भन्ने चिन्ताले पिरोलिनुभएको छ,’ उनले भने । महासंघले यसका लागि चैत ३० देखि वैशाख १० सम्म सबै प्रदेशलाई समेटेर ७१ जिल्लाका ४ सय २२ जना अपांगता भएका व्यक्ति वा तिनका अभिभावक/संरक्षक र ६१ जिल्लाका १ सय १ जना अपांगता भएका व्यक्तिका संस्थाका प्रतिनिधिसँग टेलिफोनमार्फत अन्तर्वार्ता लिई सर्वेक्षण गरेको थियो ।

प्रदेश–१ को विराटनगरमा दैनिक ज्यालादारी गर्ने बहिराहरूले पनि आयस्रोत गुमाएका छन् । बहिरा महासंघ नेपाल प्रदेश–१ का अध्यक्ष सीताराम ओझा भन्छन्, ‘लकडाउनले गर्दा राठी, चप्पल, जुट, चाउचाउलगायत कम्पनीमा दैनिक ज्यालादारी गर्ने बहिरा साथीहरूले आयस्रोत गुमाए । विराटनगर, दुहबी, इटहरी आसपास क्षेत्रमा दुई सयजतिले दैनिक मजदुरी गुमाएका छन् ।’ आफूहरू रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेको अपांगता भएका व्यक्तिहरूले गुनासो गरेका छन् ।

महासंघले अपांगता भएका व्यक्तिको आयस्रोतसँगै कोरोनाबारे सूचनाको पहुँच, खानेकुरा, राहत, औषधि उपचारलगायत विषयमा अध्ययन गरेको थियो । कोरोना महामारी र लकडाउनको परिस्थितिमा अपांगता भएका व्यक्तिमा परेको प्रभावको लेखाजोखाले उजागर गरेका मुख्य तथ्यहरूको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

प्रतिवेदनअनुसार ४१.२३ प्रतिशतले कोरोना महामारीबारे ज्यादै कम सूचना र जनचेतनामूलक सामग्री पाएका छन् भने ५.९ प्रतिशतले केही पनि जानकारी पाएका छैनन् । कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने उपायबारे थोरै अथवा पूरा जानकारी नपाउने ४२.१८ प्रतिशत छन् भने ६.८८ प्रतिशतलाई केही पनि जानकारी छैन । यस्तो जानकारी नपाउनेमध्ये ६० प्रतिशत पूर्ण वा अति अशक्त समूहमा पर्छन् ।

टेलिभिजनबाट सूचना लिने सबैभन्दा धेरै ६७ प्रतिशत छन् । रेडियो र साथीभाइ/नातागोताबाट सूचना लिने ६० र ५६ प्रतिशत छन् । ४६ प्रतिशत अपांगता भएका व्यक्तिको विचारमा कोरोनाबारे सूचना तथा जनचेतना सामग्री थोरै मात्रामा पहुँचमा छन् । १५ प्रतिशको विचारमा सामग्रीहरू पटक्कै पहुँचयुक्त छैनन् । सूचनामा उनीहरूको पहुँच नपुग्नुले अपांगता भएकाहरू कोरोना संक्रमणको जोखिममा रहेको महासंघका महासचिव बस्नेतले बताए ।

यसैगरी ७.८३ प्रतिशतसँग खानेकुरा र दैनिक चाहिने खाद्यवस्तुको अभाव भइसकेको छ । ५४.५० प्रतिशतलाई निकट भविष्यमै अभाव हुने पाइएको छ । ६०.३४ प्रतिशतलाई राहतको जरुरी छ । ४५.१२ प्रतिशतलाई नियमित रूपमा पाउँदै आएको स्वास्थ्य सेवा र औषधि पूरै अवरुद्ध भएको छ । जसमा हेमोफिलिया भएका व्यक्तिसमेत पर्छन् । ३५.९७ प्रतिशतले स्वास्थ्य सेवा र औषधि पाए पनि पर्याप्त छैन । ४५ प्रतिशतलाई अत्यावश्यक सामग्री क्याथेटर, डाइपर, ट्युब, मास्क, सेनिटाइजर, युरिन ब्यागलगायत जरुरी परिसकेको छ । ३.०८ प्रतिशतले हिंसा र दुर्व्यवहारको सिकार हुनुपरेको छ ।

लकडाउन र कोरोना महामारीले ७९ प्रतिशतले डर लागेको, ३१.५१ प्रतिशतले एकदमै धेरै डराएको बताएका छन् । धेरै डराउनेमा ६०.१५ प्रतिशत महिला छन् भने ३९.८५ प्रतिशत पुरुष छन् । ७.५ प्रतिशत अपांगता भएकालाई मनोसामाजिक परामर्शको जरुरी परिसकेको छ ।

२०६८ को जनगणनाअनुसार देशभर पूर्ण अशक्त, बौद्धिक अपांगता, अति अशक्त शारीरिक अपांगता, अटिजम, डाउन सिन्ड्रोम, हेमोफोलिया, श्रवण दृष्टिविहीनलगायत अपांगता भएका मानिसको संख्या ५ लाख १३ हजार ३ सय २१ छ । कोरोना महामारी र लकडाउनको परिस्थितिमा अपांगता भएका व्यक्तिमा परेको प्रभावको लेखाजोखा नमुना सर्वेक्षणका आधारमा अध्ययन गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : वैशाख २५, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?