१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

किरातीले उभौली चाड पूजामात्रै गरेर मनाए

गणेश राई

काठमाडौँ — किरात जातीले कोराना भाइरस (कोभिड–१९)को कारण उभौली चाड औपचारिक पूजामात्र गरेर मनाएका छन् ।

किरातीले उभौली चाड पूजामात्रै गरेर मनाए

काठमाडौं उपत्यकामा रहेका राई, लिम्बू, सुनुवार र याक्खा जातिका प्रतिनिधिहरूले ललितपुरको सानो हातिवनस्थित किरात माङहिममा औपचारिक पुजाआजा गरेका हुन् ।

पूजारीले सामूहिक चुलामा आगो बालेर फलफूल चढाएर औपचारिक रुपमा पूजाआजा गरेका छन् । पूजारीले सहभागीलाई सेतो टिका लगाइ दिएको जनाइएको छ ।

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले पुजारी प्रेमबहादुर राईलाई लिएर औपचारिक पूजा गराएको बताए । ‘यो पटक सामाजिक दूरी कायम गरेर औपचारिक पूजामात्र गर्ने अग्रीम निर्णय भएअनुसार पूजा विधिमात्र पुर्‍याएका छौं,’ अध्यक्ष राईले भने, ‘कोरोनाबाट बच्न संसारभरि सामूहिक भेला नगर्ने र ढोल, झ्याम्टा बजाएर साकेला सिली नाच्दैनौं ।’

त्यसैगरी सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार, लिम्बुको किरात याक्थुङ चुम्लुङका सदस्य गोबिन्द आङबुङ र किरात याक्खा छुम्माका एकजना प्रतिनिधि पूजारीले पूजा गरेको जनाएका छन् ।

इतिहासविद् मन्जुलकुमार याक्थुम्बा लिम्बूका अनुसार उक्त धार्मिक वन वि.सं.१९०५ देखि तत्कालीन नेपाली सेनाको किरात पल्टनमा कार्यरत किरात सैनिकले यसरी पूजाआजा गर्न थालेका र त्यसयता निरन्तर रहेको छ ।

यस धार्मिक स्थललाई किरात माङहिम (देवस्थल) भनिन्छ । त्यहाँ किरात लिम्बू, याक्खा, सुनुवार र राईको अलग–अगल चार चुला रहेका छन् । माङहिम व्यवस्थापन समितिले यस धार्मिक स्थलमा पूजाआजा, विवाहजस्ता पवित्र कार्य सम्पादन गर्दै आएको छ ।

प्रकाशित : वैशाख २५, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?