१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपाल प्रवेश गर्न भारतीय नागरिकद्वारा सशस्त्रको चेकप्वाइन्टमा ढुंगामुढा

हवाई फायर गरी भीड तितरबितर

बारा — बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको हो ।

गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो । सशस्त्र प्रहरी बल दुई नम्बर छिन्‍नमस्ता बाहिनी बल मुख्यालयका डीआईजी राजु अर्यालले स्थिति सामान्य भइसकेको बताए । अर्यालले भने, 'जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्‍ने भारतीयलाई उतै फर्काइसकेका छौं । जबर्जस्ती प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिनलाई हवाई फायर गरिएको हो ।' अनधिकृत घुसपैठ रोक्‍नलाई दुवै देशका सुरक्षा अधिकारीले सावधानी अपनाएर काम गरेको अर्यालले बताए ।

लकडाउनयता मात्रै भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् । चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिरहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहार गरिएको छ ।

आउजाउमा रोक लगाउँदा भारतीय भूमिबाट आएको भीडले प्रहरीका हतियार नै खोस्नेसम्मका गतिविधि गरेका छन् । कतिपय चेकप्वाइन्टमा सीमापारिबाट रातको समयमा सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा प्रहार हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । आक्रमणका घटना नरोकिए दशगजाबाट ३ किमि क्षेत्रमा निषेधाज्ञा र कर्फ्यु लगाई सीमा क्षेत्रलाई ‘रेड जोन’ घोषणा गर्नुपर्ने सुझावसमेत आएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ । मंगलबारमात्रै सरकारले सीमाबाट ५ किमिभित्र सेनाको गस्ती परिचालन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित : वैशाख २५, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?