२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लकडाउनमै उपत्यका भित्रिन्छन् दैनिक ५७ सय

जनकराज सापकोटा

काठमाडौँ — सरकारले परीक्षणको दायरा फराकिलो नबनाई लकडाउन मात्रै लम्ब्याइरहँदा राजधानी उपत्यका छाड्ने र भित्रिनेहरूको संख्या बढ्दै जान थालेको छ । वैशाख ११ देखि २४ सम्मको अवधिमा मात्रै ३० हजार ९० सवारीसाधन उपत्यका भित्रिएका छन् । गृह मन्त्रालय स्रोतबाट प्राप्त तथ्यांक केलाउँदा यही अवधिमा ३४ हजार ३ सय ३५ सवारी बाहिरिएका छन् ।

लकडाउनमै उपत्यका भित्रिन्छन् दैनिक ५७ सय

खाद्यान्न, तरकारी, इन्धनलगायत अत्यावश्यक सामग्रीका गाडी आउन दिइए पनि यति धेरै संख्यामा सवारी आउजाउ हुनुले लकडाउनको कार्यान्वयन फितलो रहेको प्रस्ट हुन्छ । सरकारले लकडाउन भने पनि यो चौध दिनमा ७९ हजार ७ सय जना विभिन्न सवारीमार्फत र ७ सय ६१ जना पैदल नै उपत्यका भित्रिएको देखिन्छ । यही अवधिमा १ लाख ७७ हजार ८ सय ६४ जना गाडीमा र १७ हजार ७ सय ९९ जना हिँडेर बाहिरिएका छन् । यसरी हेर्दा दैनिक औसतमा ५ हजार ७ सय जना बाहिरबाट उपत्यका पसिरहेका छन् । भित्रिने र बाहिरिनेको सबैभन्दा लामो लर्को काठमाडौंको नागढुंगा र भक्तपुरको जगाती नाकामा देखिन्छ ।

लगातार कोरोना संक्रमित भेटिएका जिल्लाहरूबाट मानिस काठमाडौं आउने क्रम पछिल्ला दिनसम्मै जारी छ । २४ गते मात्रै नागढुंगा, जगाती, मुड्खु, फर्पिङ र साँखु नाकाबाट १ हजार ७ सय १९ सवारीमा ४ हजार २ सय ६८ यात्रु उपत्यका भित्रिए । एक जना हिँडेर आए । सोही दिन १ हजार ६ सय ३८ सवारीमार्फत ४ हजार ५ सय ६ जनाले उपत्यका छाडे । ५ जना हिँडेर गए ।

गृह मन्त्रालयस्रोतका अनुसार लकडाउनमा उपत्यकाभित्रै पनि दैनिक १५ सय सवारीसाधनमा २५ सयदेखि ३ हजारसम्म यात्रु आउजाउ गरिरहेको अनुमान छ । अत्यावश्यक सेवाबाहेकका काममा पनि आवतजावत जारी रहेको र संक्रमणको जोखिम रहेका क्षेत्रबाटसमेत राजधानी भित्रिने क्रम नरोकिएकाले राजधानी असुरक्षित रहेको बुझाइ कोभिड नियन्त्रण उच्चस्तरीय समितिको छ ।

एक सातायता भने काठमाडौंबाट बाहिरिनेको संख्या क्रमशः घट्दै गएको छ । तर, भित्रिनेको संख्या अझ बढेको देखिन्छ । यसले पनि उपत्यकामा संक्रमणको जोखिम बढाएको छ । पछिल्लो एक सातामा हिँडेर आउने–जानेहरूको संख्यामा उल्लेख्य कमी आएको छ ।

प्रहरी स्रोतका अनुसार उपत्यका भित्रिने र बाहिरिनेसँगै लकडाउन उल्लंघन गर्ने व्यक्ति र सवारीको संख्या पनि बढ्दै गएको छ । २३ र २४ गतेको २४ घण्टामा मात्रै प्रहरीले देशैभरि ३३ सय ४० जनालाई नियन्त्रणमा लियो । जबकि २२ र २३ गतेको २४ घण्टामा यो संख्या २६ सय ४८ मात्र थियो । एक दिनकै अन्तरमा लकडाउन उल्लंघन गर्नेको संख्या ६ सय ९२ ले बढेको देखियो । प्रहरीले लकडाउन सुरु भएयता १ लाख ३१ हजार ८ सय २९ व्यक्ति र ५९ हजार ३ सय ३ सवारीलाई नियन्त्रणमा लिएर छोडेको छ । यिनमा १ लाख ३ हजार ५ व्यक्ति र २० हजार ५ सय ७४ सवारी उपत्यकामै छाडिएका हुन् ।

लकडाउन उल्लंघन गर्ने व्यक्ति र सवारीको संख्या उपत्यकामा धेरै देखिनु अनि बाहिरका जिल्लाबाट उपत्यका छिर्नेको क्रम पनि नरोकिनुले राजधानी संक्रमणको जोखिममै रहेको बुझाउँछ ।

प्रकाशित : वैशाख २५, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?