कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउनू’

विद्या राई

काठमाडौँ — प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले लकडाउन अवधिमा सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज एवं सरल बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाउनू’

समिति सभापति निरुदेवी पालले लकडाउन पालना गर्नुको विकल्प नभएको परिस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउँदै लाभान्वितको जीवनयापनमा सहयोग गर्न/गराउन सरकारलाई निर्देशन दिइएको जानकारी दिइन् ।

यस्तै, समितिले लकडाउनमा उपलब्ध गराइने राहत एवं अन्य सुविधामा सहज पहुँच अभिवृद्धि गर्न र समन्वय गर्न, गराउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । ‘बन्दाबन्दीको बहुआयामिक असर खासगरी यो वर्गमा बढी हुने, शारीरिक अवस्थाकै कारण राहत तथा सुविधामा न्यून पहुँच हुने भएकाले विशेष प्राथमिकताका लागि मन्त्रालयलाई ध्यानाकर्षण गराएका छौं,’ समिति सभापति पालले भनिन् ।

दैनिक उपभोग्य खाद्य सामग्रीको न्यून उपलब्धतामा बालबालिका, सुत्केरी, गर्भवती एवं जेष्ठ नागरिकको पोषणको अवस्थामा गिरावट आउन सक्ने भएकाले बालगृह, प्रसूतिगृह एवं वृद्धाश्रमको नियमित अनुगमन गर्न र पोषणको अवस्था परीक्षण गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

क्वारेन्टाइनहरूमा गर्भवती, बालबालिका, अशक्त, जेष्ठ नागरिकलाई सहज हुने तथा लैंगिक, शारीरिक र मानसिक हिंसा नहुने गरी व्यवस्थापन गर्न, गराउन पनि समितिले निर्देशन दिएको छ ।

कोभिड–१९ महामारीको त्रासयुक्त सूचनाको अधिकता एवं सीमित दायराभित्रको जीवनशैलीले बालबालिकाको मानसिक स्वास्थ्य, मनोविज्ञानमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सार्वजनिक सञ्चारमाध्यमलाई रचनात्मक सामग्री प्रचारप्रसारका लागि समितिले ध्यानाकर्षण गरेको छ ।

समितिले बालबालिका, गर्भवती, सुत्केरी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकको मनोसामाजिक र शारीरिक स्वस्थ्य तथा औषधिको पहुँचलाई सरलीकृत गर्न, गराउन कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई पनि ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : वैशाख २४, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?