कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कर्णाली सरकारको गुनासो : मेसिन ल्यायौं, किट पाएनौं

सोमबारदेखि सुर्खेतमा पीसीआर परीक्षण रोकियो
क्वारेन्टाइमा ४ हजार ७ सय, परीक्षण शून्य
प्रदेश सरकारले किट किन्न खोज्दा संघले स्वीकृति दिएन  
कलेन्द्र सेजुवाल

सुर्खेत — संघीय सरकारले चैत तेस्रो साता सुर्खेतस्थित प्रदेश अस्पतालमा आरटी–पीसीआर (रियल टाइम–पोलिमरेज रियाक्सन) मेसिन पठायो । कम क्षमताको मात्र होइन, त्यसको विश्वसनियतामाथि नै प्रश्न उठेपछि कर्णाली प्रदेश सरकारले आफै ठूलो क्षमताको मेसिन खरिद गर्‍यो । संघीय सरकार मातहतको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आफ्नै स्रोतबाट ठूलो मेसिन ल्यायो ।

कर्णाली सरकारको गुनासो : मेसिन ल्यायौं, किट पाएनौं

करिब ५५ लाख मूल्यमा कर्णालीमा ल्याइएका दुइटै मेसिन सञ्चालनमा आए पनि आवश्यक प्रयोगशाला सामग्री नहुँदा परीक्षणको काम प्रभावित भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले स्वाब संकलन गर्नको लागि आवश्यक पर्ने भीटीएम (भाइरल ट्रान्सफर्म मिडियम) र परीक्षण गर्दा चाहिने प्रोसेसिङ किट (आरएनए एक्प्रेसन) सकिएका छन् । ‘हामीले बडो मुस्किलले मेसिन त ल्यायौं, तर संघीय सरकारले आवश्यक प्रयोगशाला सामग्री नपठाउँदा सोचेअनुसार काम अघि बढ्न सकेको छैन,’ सामाजिक विकासमन्त्री दल रावलले भने, ‘सामान माग त गरेका छौं, अहिलेसम्म आएका छैनन् ।’

वैशाख १६ गतेदेखि परीक्षण सुरु भएको सुर्खेतस्थित आरटी–पीसीआर मेसिनमा हालसम्म १ सय ६२ वटा नमुनामात्र परीक्षण भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार पर्याप्त प्रयोगशाला सामग्री हुने हो भने हालको जनशक्तिले दैनिक ९६ वटा नमुना परीक्षण गर्न सक्छ । मंगलबारदेखि परीक्षणको लागि संकलित स्वाबको नमुना र प्रोसेसिङ किट सकिएको उनले बताए । ‘विभिन्न जिल्लाबाट संकलन भएर आएका स्वाबको परीक्षण सकिएको छ,’ उनले भने, ‘परीक्षण सामग्री नआउँदासम्म त काम अघि बढ्ने अवस्था छैन ।’ केन्द्रीय प्रयोगशालाले सानो मेसिनमा पनि परीक्षण नगर्ने भनेकोले वैशाख १२ गतेदेखि काम रोकिएको उनले बताए । एक पटकमा एउटा मात्र नमुना प्रोसेसिङ गर्ने उक्त मेसिनमा चैत २० देखि परीक्षण सुरु भएको थियो । मेसिनमा २ सय १० वटा स्वाबको नमुना परीक्षण भएको थियो ।

प्रदेशले मेसिन खरिद गरेसँगै भीटीएम, प्रोसेसिङ किटजस्ता प्रयोगशाला सामग्री खरिद गर्न खोजेको थियो । यसको लागि मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयलाई निर्देशनसमेत दिएका थिए । तर, संघीय सरकारले स्वीकृति नदिँदा प्रक्रिया अघि नबढेको सामाजिक विकासमन्त्री रावलले बताए । ‘आफैं सामान खरिद गर्न पाएको भए यस्तो अभाव हुने थिएन, किटहरु पनि छिटो ल्याउन सकिन्थ्यो,’ उनले भने, ‘तर केन्द्रीय प्रयोगशालाबाटै स्वीकृतिको लागि समस्या भएको छ ।’

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आरटी–पीसीआर जडान गरिँदै ।

जुम्लामा खरिद प्रक्रिया सुरु

संघीय सरकार मातहतको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संघ र प्रदेश सरकारसँग माग गर्नुका साथै आफै पनि १ हजार थानको लागि टेन्डर प्रक्रिया अघि बढाएको छ । मेसिन खरिद गर्ने बेला नै भीटीएम र प्रोसेसिङ किटको पनि टेन्डर गरिएको रजिष्ट्रार काफ्लेले बताए । परीक्षणको दायरा बढाउनु पर्ने अवस्था आएमा संघीय र प्रदेश सरकारसँग सहयोग माग्नुका साथै आफै पनि किट खरिद गर्ने योजना बनाइएको उनको भनाइ छ ।

प्रतिष्ठानमा सोमबारदेखि पीसीआर परीक्षण सुरु भए पनि प्रयोगशाला सामग्री कम रहेका छन् । संघीय सरकारले २ सय थान भीटीएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ सय थान प्रोसेसिङ किट पठाएको थियो । पहिलो दिन सोमबार ८ जनाको स्वाब परीक्षण भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।‘अहिलेको स्टकले दुई–चार दिन त धान्छ होला,’ उनले भने, ‘थप आएनन् भने काम रोकिने अवस्था आउन सक्छ ।’

क्वारेन्टाइनमा पनि भएन परीक्षण

पीसीआर परीक्षणको लागि आवश्यक पर्ने प्रयोगशाला सामग्री र द्रुत परीक्षण गर्ने आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) सकिएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको समेत परीक्षण हुन सकेको छैन । क्वारेन्टाइनमा बसेको १४ दिन बितेपछि कतिपय व्यक्ति परीक्षणबिनै घर फर्किएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १० वटै जिल्लाका रहेका क्वारेन्टाइनमा हाल करिब ४ हजार ७ सय व्यक्ति बसिरहेका छन् । संघीय सरकारले दुई चरणमा गरेर ८ हजार आरडीटी किट पठाए पनि प्रदेश सरकारसँग स्टक सकिएको छ । करिब साढे ५ हजारको परीक्षण भएको र बाँकी किट पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा रहेका प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले बताइन् ।

प्रदेश सरकारले सोमबार मध्यरातदेखि कर्णाली प्रवेश गर्ने सबै नाका पूर्णत: सिल गर्ने निर्णय गरेको छ । तर, त्यसअघि नै भारतलगायत संक्रमित मुलुकबाट र देशका विभिन्न स्थानबाट उद्धार गरेर गाउँमा पुगेका व्यक्तिको कोरोना परीक्षण गरिनुपर्ने आवाज उठ्ने गरेको छ । लकडाउनपछि कर्णाली प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति उद्धार गरिएर कर्णालीका गाउँमा पुगेका सुर्खेत जिल्ला प्रहरी कार्यालयको भनाइ छ । त्यस्तै, चैत १ गतेयता भारतलगायत मुलुकबाट ५ हजार ७ सय ७६ व्यक्ति घर फर्किएका जिल्ला प्रशासन कार्यालयहरुको तथ्यांकमा उल्लेख छ । पीसीआर परीक्षण भने मंगलबारसम्म १ हजार ९६ जनाको मात्र भएको छ ।

चिकित्सक गाउँ जाँदै

आरडीटी किट अभाव र प्रयोगशाला सामग्री नहुँदा पीसीआर परीक्षण रोकिए पनि प्रदेश सरकारले चिकित्सक सहितको टोली गाउँ पठाउने तयारी भने सुरु गरेको छ । चिकित्सक टोली बस्ने २७ स्थानको छनोट भइसकेको र बुधबार सम्बन्धित स्वास्थ्यकर्मीलाई चिठी पठाइने सामाजिक विकासमन्त्री रावलले जानकारी दिए ।

उनका अनुसार परीक्षण सामग्री अभाव भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले गाउँमा पुगेर स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै सचेतनाको काम गर्नेछन् । साविकको कर्णाली अञ्चलका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा प्रतिष्ठानबाट र अन्य पाँच जिल्ला सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा प्रदेश अस्पतालबाट चिकित्सक खटाइने मन्त्री रावलले बताए । सम्बन्धित जिल्ला अस्पतालका चिकित्सकलाई पनि पायक पर्ने स्थानमा खटाइने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २४, २०७७ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?