१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

औषधि अभावमा मुटुरोगीको मृत्यु

नियमित खाइरहेको मुटुरोगको औषधि दुई साताअघि सकियो । लकडाउनले काठमाडौंबाट औषधि ल्याउने अवस्था नबनेपछि उनको मृत्यु भएको हो ।
वसन्तप्रताप सिंह

बझाङ — लकडाउनका कारण नियमित सेवन गर्ने औषधि अभावमा एक जना मुटुरोगीको मृत्यु भएको छ । मुटुको भल्भमा समस्या भई नियमित औषधि खाँदै आएकी साइपाल गाउँपालिका–१ धलौनकी ४७ वर्षीया कंकादेवी बोहराको औषधि खान नपाएर सोमबार मृत्यु भएको हो ।

औषधि अभावमा मुटुरोगीको मृत्यु

जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा घर भए पनि बोहरा नियमित रूपमा औषधि मिलोस् भन्न सदरमुकाम चैनपुरमा डेरा गरेर बसिरहेकी थिइन् । उनी ६ वर्षदेखि मुटुको चाल नियमित गर्ने ‘डिडोक्सिन’ नामक औषधि सेवन गर्दै आइरहेकी थिइन् । उक्त औषधि दुई साताअघि सकिएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो । ‘मेरो औषधि सकियो, कहाँबाट ल्याउने होला भनेर चिन्तामा हुनुहुन्थ्यो,’ उनकी छिमेकी करिस्मा विकले भनिन्, ‘यसअघि गाडी चल्दा काठमाडौंबाट आउने आफन्तहरूले ल्याइदिने गरेका रहेछन् । अहिले गाडी बन्द छ, औषधि ल्याइदिने कोही भएनन्, उहाँ औषधि खान नपाएरै बित्नुभयो ।’

औषधि खान छोडेपछि उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको थियो । चार जना नाबालक छोराछोरीसँग बस्दै आएकी उनी ओछ्यानबाट उठ्न नसक्ने भएपछि सोमबार साँझ छिमेकी डेरावालाहरूले बोकेर जिल्ला अस्पताल पुर्‍याएका थिए । उनको जिल्ला अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

अस्पतालका डा. सन्दीप ओखेडाले नियमित औषधि सेवन गर्न छोडेकै कारण उनको मृत्यु भएको बताए । ‘औषधि खान छोडेको दुई हप्ता भइसकेको रहेछ । गम्भीर अवस्थामा अस्पताल पुर्‍याएको थियो । हामीले निकै कोसिस गर्दा पनि बचाउन सकेनौं ।’ बिरामीको औषधि सकिएको विषयमा केही दिन पहिला मात्रै जानकारी भएको भए मगाउन सकिने सम्भावना रहेको भन्दै उनले आफन्तले पनि खबर नगरेका कारण उनको मृत्यु भएको बताए ।

श्रीमान् राजमल बोहराको केही वर्षअघि मृत्यु भइसकेको छ । उनी ११ र ९ वर्षका दुई छोरी र ५ र ७ वर्षका दुई छोराका साथमा चैनपुरमा बस्दै आएकी थिइन् । १० वर्षदेखि मुटुको समस्या झेल्दै आएकी बोहरालाई केही वर्षअघि काठमाडौंमा उपचार गर्दा डाक्टरले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । एकल महिला भत्ता र दैनिक मजदुरीबाट आएको रकमले गुजारा गर्दै आएकी उनले खर्च अभावमा शल्यक्रिया गराउन सकेकी थिइनन् ।

बोहराको मृत्युपछि उनका चार सन्तानको बिचल्ली हुने भएको छ । ‘चार जना बच्चाको लालनपालन र पढाइ खर्च उनैले धानेकी थिइन्,’ उनकी घरबेटी पवित्रा बोहराले भनिन्, ‘आमा बितेको खबर पाएपछि चारै जना रोएकारोयै छन् । उनीहरूको बिचल्ली हुने भयो ।’ बिचल्लीमा परेका बालबालिकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनका गाउँलेसँग सल्लाह गरिरहेको पवित्राले बताइन् ।

अरू पनि जोखिममा

लकडाउनका कारण नियमित औषधिको सेवन गरिरहेका अन्य दीर्घरोगीहरू पनि जोखिममा रहेको जिल्ला अस्पतालका डा. ओखेडा बताउँछन् । उनले जिल्लामा ७–८ सयको हाराहारीमा नियमित औषधि सेवन गरिरहेका व्यक्ति रहेको जानकारी दिए । उनका अनुसार मुटुरोगी, सुगरलगायतको औषधि सेवन गरिरहेकालाई लकडाउनले समस्या पारेको छ । औषधि सिद्धिएकाहरूले जिल्ला अस्पतालमा समयमै सम्पर्क गरेमा ल्याइदिन सकिने उनले जनाए । ‘कोही त्यस्तो समस्यामा भए अस्पतालमा सम्पर्क गर्नुहोला,’ उनले भने ।

प्रकाशित : वैशाख २४, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?