नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास : भारतले माग्यो माफी

नेपाल प्रवेश गर्न नदिएको भन्दै भाला, तरबार, चक्कु, लट्ठीजस्ता घरेलु हतियारसहित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गर्न करिब २ सय भारतीय दशगजासम्म आइपुगेका थिए । प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि उनीहरू भागेका थिए ।
अर्जुन राजवंशी

बिर्तामोड — सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गर्न थालेका छन् । झापाको एक सय ४४ किलोमिटर क्षेत्रमा भारतसँग सीमा जोडिएको छ । नेपालतर्फ खेती गर्न आउन नपाएका तथा चोरी तस्करीमा संलग्न भारतीय नागरिकहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई नै निशाना बनाउन थालेका हुन् ।

नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास : भारतले माग्यो माफी

सोमबार साँझ झापा गाउँपालिका–४ जुलिगाछी बस्तीस्थित १३१/१ नम्बर पिलरनजिक खटिएका नेपाली सुरक्षाकर्मीलाई आक्रमण गर्न भाला, तरबार, चक्कु, लट्ठीलगायत घरेलु हतियारसहित करिब दुई सय जनाको समूह सीमा क्षेत्रमा आएको हो ।

नेपाली सुरक्षाकर्मीलाई घेरेर आक्रमण गर्न खोजेका उनीहरूलाई रोक्न सशस्त्र प्रहरीले फायर खोल्नुपरेको थियो । दुई राउन्ड हवाई फायर गरेपछि उनीहरू मकैबारी हुँदै भागेका सीमा तैनाथ एक सशस्त्र प्रहरीले बताए । सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ देखि करिब ५ सय मिटर उत्तरमा जनपद प्रहरीका जवानले सुरक्षा दिइरहेका थिए ।

के थियो कारण ?

अपराह्न साढे ४ बजे एक मोटरसाइकलमा दुई जना भारतीय नेपाल प्रवेश गर्ने भन्दै दशगजासम्म आइपुगेका थिए । सुरक्षामा खटिएका प्रहरीले उनीहरूलाई नेपाल प्रवेश गर्न नमिल्ने भन्दै रोके । अटेरी गरेपछि जनपद प्रहरीका एक जवानले नजिकै रहेको सशस्त्रको सहयोग मागे । सशस्त्र प्रहरीको उपस्थितिपछि एक जना भारतीय भागे भने अर्कालाई गिरफ्तार गरियो ।

सीमा नजिक सेनाले गस्ती गर्ने

उक्त घटनाको केहीबेरमा नै सीमावर्ती भारतीय बस्तीबाट करिब दुई सय जना गाउँले घरेलु हतियारसहित नेपाली सुरक्षाकर्मीलाई आक्रमण गर्न दशगजासम्म आइपुगेका हुन् । ‘हवाई फायर गर्नुको विकल्प थिएन,’ सशस्त्रका ती जवानले भने, ‘घरेलु हतियारसहित आएका उनीहरू हामीलाई आक्रमण गर्न दशगजा क्षेत्र पनि पार गर्न लागिसकेका थिए । फायर नखोलेको भए ठूलो दुर्घटना हुन सक्थ्यो ।’

भारतले माग्यो माफी

घटनाका विषयमा मंगलबार बिहान दुवै देशका सुरक्षा कमान्डरबीच छलफल भएको छ । घटनास्थल रहेको दशगजामा बिहार राज्यको किसनगन्जस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) १२ बटालियनका कमान्डर सुवास नेङ्की, धनतला ग्राम पञ्चायतका मुखिया र नेपालका तर्फबाट सशस्त्रका एसपी रमेशकुमार थक्सु, गाउँपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीलगायतको टोलीबीच छलफल भएको हो । छलफलमा भारतीय पक्षले आफ्ना नागरिकबाट गल्ती भएको स्वीकारेको गाउँपालिका अध्यक्ष साहले बताए ।

नेपाली सुरक्षाकर्मीले मानवीय क्षति नहुने गरी हवाई फायर मात्र गरेको भन्दै एसएसबी कमान्डरले धन्यवाद व्यक्त गरेको उनको भनाइ थियो । उनका अनुसार भारतीय पक्षले आगामी दिनमा यस किसिमको गल्ती हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

भारतीय नागरिकले घरेलु हतियारसहित सोमबार साँझ नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको स्थान । तस्बिर : अर्जुन/कान्तिपुर

दुई दिनअघि जिल्लाकै कचनकबल गाउँपालिका–४ खुट्टामनीबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग विवाद भएको थियो । सीमावर्ती क्षेत्रमा गरेको खेती हेर्न जान लागेको भन्दै १५ जनाको संख्यामा आएका भारतीयहरू जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेका थिए । १२० नम्बर पिलर छेउमा चार जना मात्र प्रहरी खटिएको देखेपछि उनीहरूले जबर्जस्ती गरेका थिए । तर तत्कालै नजिकैको क्याम्पबाट थप प्रहरी आएपछि उनीहरू भारततर्फ भागेका थिए ।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण हुने क्रम बढेकाले जिल्ला सुरक्षा समितिको बैठकबाट ठोस निर्णय गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले लकडाउनसँगै भारतीय सीमा सिल गरेको छ । खुला सीमाबाट हुन सक्ने आवतजावतलाई रोक्न जिल्लामा सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली प्रत्येक ५ सय मिटरको दूरीमा खटाइएको छ । जिल्लाको सीमा क्षेत्रका एक सय ३२ भन्दा बढी स्थानमा सशस्त्र र जनपद गरी एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रकाशित : वैशाख २४, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?