१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

काठमाडौंमा कति जनाको भयो कोरोना परीक्षण ?

विज्ञ भन्छन्, 'यथोचित संख्यामा परीक्षण नगरी काठमाडौंमा संक्रमण छैन भन्नु गलत'
गत सोमबारसम्म ८ सय ९६ को मात्रै पीसीआर परीक्षण र ३,७४८ जनाको आरडीटी भएको छ । आरडीटीबाट सात र पीसीआरबाट चार जनाको रिपोर्ट पोजिटिभ आयो ।

काठमाडौँ — सरकारले चैत ११ देखि गरेको देशव्यापी लकडाउनको समयसीमा पछिल्लो पटक वैशाख २५ गतेसम्मका लागि बढाएको थियो । पछिल्लो समयावधि पूरा हुने दिन बिहीबार नजिकिँदै जाँदा पुन: लकडाउन लम्ब्याउन कि खुकुलो गर्दै लैजाने भन्ने बहस भइरहेको छ ।

काठमाडौंमा कति जनाको भयो कोरोना परीक्षण ?

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले लकडाउनको अवधि थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । अवधि थपेको घोषणा बुधबार सरकारले गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयसम्बद्ध अधिकारीहरूले लकडाउनको भविष्यबारे एक प्रकारको योजना बनाएका छन् भने सुरक्षा अधिकारीहरूले पनि आफ्नै हिसाबमा योजना बनाएका छन् । उनीहरूको योजनाको समान विषय भने काठमाडौं उपत्यकामा क्रमश: लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रहेको जानकार स्रोतहरूले दाबी गरेका छन् ।काठमाडौंलगायत पछिल्लो समय कोरोनाको संक्रमण नदेखिएका स्थानमा विस्तारै लकडाउन खुकुलो पार्दै लैजानुपर्छ भन्नेमा प्राय: सबै जनस्वास्थ्यविद् तथा चिकित्सकहरू पनि सहमत छन् । तर, उपत्यकामा हालसम्म गरिएको परीक्षणको संख्याले भने उनीहरू ढुक्क छैनन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालास्थित स्रोतका अनुसार प्रयोगशालासँग हालसम्म काठमाडौं उपत्यकाको कतिवटा नमुनाको पीसीआर परीक्षण गरियो भन्ने रेकर्ड नै छैन । ल्याबमा आइपुग्ने फारममा शंकास्पद संक्रमितको नागरिकताका आधारमा स्थायी ठेगाना उल्लेख गरिने भएकाले पनि तत्काललाई संख्या यकिन गर्न कठिन छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको तथ्यांकअनुसार चैत १ देखि १० गतेसम्मको अवधिमा हवाईमार्ग भएर मात्रै काठमाडौंमा करिब २१ हजार जना आइपुगे । जसमध्ये ३ हजार हाराहारीमा विदेशी छन् भने बाँकी १८ हजार जति नेपाली हुन् । ती १८ हजार नेपालीमध्ये कति जनाको पीसीआर र कतिको आरडीटी परीक्षण मात्रै भयो भन्ने तथ्यांक पनि फेला परेको छैन ।

कन्ट्याक ट्रेसिङको जिम्मा पाएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे विदेशबाट आएका नागरिक र उनीहरूको परीक्षण भए/नभएको बारे जानकारी माग गर्दा अनभिज्ञता प्रकट गरे । ‘काठमाडौं उपत्यकामा कतिको के परीक्षण भयो भन्ने रेकर्ड त प्रयोगशालासँग नै होला । मलाई थाहा भएन त्योबारे,’ उनले भने ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ५२ हजार २ सय २७ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ८ सय ५० परीक्षणहरू भए । त्यसैगरी मंगलबार अद्यावधिक तथ्यांकअनुसार आइसोलेसनमा देशभर १ सय २० जना छन् । काठमाडौंमा दुई जना छन् भने उपत्यका बाहिर १ सय १८ जना छन् । क्वारेन्टाइनमा २१ हजार ९९ जना छन् ।

सामाजिक विकास मन्त्रालय, वाग्मती प्रदेशको तथ्यांकअनुसार सोमबारसम्म काठमाडौंमा आरडीटी परीक्षणबाट २ हजार ६ सय ३३ नमुना परीक्षण भएका छन्, जसमा २ हजार ६ सय २६ नमुना नेगेटिभ र सात नमुना पोजिटिभ आएका छन् । त्यसैगरी पीसीआर विधिबाट २ सय ८० जनाको नमुना परीक्षण गरिएकोमा चार जनाको पोजिटिभ आएको छ ।

ललितपुरको तथ्यांक हेर्ने हो भने आरडीटी विधिबाट ७ सय ८ जनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको छ । त्यसैगरी २ सय ६३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सबैको नेगेटिभ आएको छ । ललितपुरमा आइसोलेसनमा तीन जना छन् भने काठमाडौं र भक्तपुर जिल्लामा आइसोलेसनमा कोही पनि छैनन् ।

भक्तपुर जिल्लाको तथ्यांक हेर्दा ४ सय ७ नमुना आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ पाइएका छन् भने पीसीआरबाट ३ सय ५३ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यसरी हेर्दा काठमाडौं उपत्यकामा सोमबारसम्म जम्मा ८ सय ९६ जनाको मात्रै पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार ७ सय ४८ जनाको आरडीटी किटबाट परीक्षण भएको छ । आरडीटीबाट परीक्षण गर्दा काठमाडौं उपत्यकामा सात जनाको रिपोर्ट पोजिटिभ आएको छ भने पीसीआरबाट मात्र चार जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयस्थित स्रोतका अनुसार भने मन्त्रालयले उपत्यकाका हरेक स्थानीय तहलाई आफ्नो क्षेत्रमा रहेका शंकास्पद बिरामी तथा विदेशबाट फर्किएकाहरूको परीक्षण गर्न आरडीटी किट दिइएको छ । स्रोतका अनुसार ती आरडीटीबाट कति जनाको परीक्षण गरियो भन्ने रिपोर्ट भने अद्यावधिक छैन ।

यस्तै पूर्वी तराईका केही जिल्ला तथा नेपालगन्जमा पनि संक्रमितहरूको संख्यामा बढोत्तरी भएसँगै काठमाडौं उपत्यकाभित्र विभिन्न नाकाबाट प्रवेश गर्नेहरूको संख्या पनि बढेको दाबी गरिएको छ । यद्यपि नेपाल प्रहरीका उच्च अधिकारीहरू भने यो भनाइसँग सहमत छैनन् ।

उनीहरूसँग यसबारे औपचारिक प्रतिक्रिया लिन गरिएको सम्पर्क प्रयास सफल हुन सकेन । तर, थानकोट नाकाबाट भने कुनै पनि यात्रुवाहक बस नभित्रिएको महानगरीय प्रहरी प्रभाग थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार थानकोट नाकाबाट दैनिक तीन सय गाडी भित्रिन्छन् र ती सबै अत्यावश्यक सेवासँग सम्बन्धित मात्रै हुन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार अब सरकारले पछिल्लो समय संक्रमण नदेखिएको स्थानमा लकडाउन खुकुलो गर्दै परीक्षणको दायरा भने बढाउँदै लैजानु नै उचित हुन्छ । ‘सरकारले विदेशबाट आएका सबैको पीसीआर परीक्षण गर्न सकेको भए उचित हुन्थ्यो । त्यो भएको जस्तो देखिन्न,’ उनले भने, ‘अब विस्तारै लकडाउन खुकुलो बनाउँदै लैजानुपर्छ र परीक्षणलाई पनि तीव्रता दिनुपर्छ ।’

डा. सुवेदीका अनुसार यथोचित संख्यामा परीक्षण नगरी उपत्यकामा संक्रमितहरू छैनन् भनेर भन्नु गलत हुन्छ । ईडीसीडी तथा सीसीएमसीले आ–आफ्नै हिसाबमा विदेशबाट आएकाहरूको ट्रेसिङ गरेर उनीहरूलाई परीक्षणको दायरामा ल्याउन प्रयास नगरेको भने होइन । तर, विदेशबाट आउनेहरूले फारममा भरेको विवरण र उनीहरूको वास्तविक अवस्था नमिलेपछि ट्रेसिङमा समस्या भएको बताउँदै आएको छ । यस्तै ट्रेस भएकाहरूमध्ये पनि धेरैको स्थानीय तहले नै आरडीटी परीक्षण मात्रै गरेको छ ।

स्थानीय तहले नै आरडीटी गर्दा काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनाको रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि पाटन अस्पताल पठाइएको थियो । पछि अस्पतालले पीसीआर परीक्षण गर्दा तीनमध्ये दुईमा मात्रै कोरोना पोजिटिभ रहेको पाइएको थियो ।

ती दुईलगायत चैतको पहिलो साता विभिन्न देश हुँदै त्रिभुवन विमानस्थल अवतरण गरेका सात जनामा संक्रमण रहेको भेटिएको थियो । तीमध्ये कैलालीका एकजनाले मात्रै अरूमा पनि भाइरस सारेको फेला परेको थियो । काठमाडौं, बागलुङ र कैलालीमा भेटिएका संक्रमितहरूसँग एउटै विमानमा आएका अन्य यात्रीहरूमा भने संक्रमण रहेको नपाइएको ईडीसीडीले दाबी गरेको छ ।

नोट : यो समाचार वाग्मती प्रदेशको तथ्या‌ंक राखेर पुन: अपडेट गरिएको छ ।

प्रकाशित : वैशाख २३, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?