दाहालसहित चार नेताको छुट्टै भेला

स्थायी कमिटी सदस्यहरुको मुख बन्द गर्ने गरी राजनीतिक प्रतिवेदन तयार नपार्न अध्यक्ष दाहाललाई नेपाल, खनाल र श्रेष्ठको सुझाव
बिनु सुवेदी

काठमाडौँ — पार्टी सचिवालय बैठकमा दुई दिनअघि आ–आफ्ना कमीकमजोरीप्रति आत्मालोचना गरेर अघि बढ्ने निर्णय गरे पनि नेकपा शीर्ष नेताहरूबीच हार्दिकता देखिएको छैन । उनीहरूका समूहगत भेला जारी छन् ।

दाहालसहित चार नेताको छुट्टै भेला

शनिबारको सचिवालय बैठकले पार्टी एकतालाई सुदृढ बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्ने निर्णय गरेको थियो । त्यसयता पनि अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूको भेला र छलफल चलिरहेको छ । सोमबार बिहान अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र नेपाल एवं प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । श्रेष्ठ निवास हात्तीवनमा डेढ घण्टाभन्दा बढी चलेको छलफलमा अन्य नेताहरूले दाहालसँग ‘दुई अध्यक्षबीच कुनै गोप्य समझदारी त भएको छैन ?’ भन्ने प्रश्न गरेका थिए । दाहालले ओलीसँग सचिवालय बैठकपूर्व करिब १५ मिनेट मात्र छलफल गरेर सहमति भएको उल्लेख गर्दै त्यसबारे पुन: जानकारी गराएका थिए । त्यसपछि उनीहरू एक व्यक्ति एक मुख्य जिम्मेवारी, मुख्यमन्त्रीहरू हेरफेर, मन्त्रिपरिषद् फेरबदललगायतका विषयमा दुई अध्यक्षबीच जुटेको सहमति अक्षरश: पालना गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।

भेलामा नेताहरूले अध्यक्ष दाहाललाई स्थायी कमिटी सदस्यहरूले खुलेर छलफल गर्न चाहेको भन्दै उनीहरूको मुख बन्द गर्ने गरी राजनीतिक प्रतिवेदन तयार नपार्न सुझाव दिएका थिए । दाहालले पनि आफूले स्थायी कमिटी सदस्यहरूको माग सम्बोधन हुने गरी नै प्रतिवेदन तयार पार्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँंग भएका मौखिक सहमतिलाई लिपिबद्ध गर्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ओली पक्षका स्थायी कमिटी सदस्यहरूले भने शीर्ष नेताहरूले सचिवालय बैठकमा आत्मालोचना गरेर नयाँ ढंगले अघि बढ्ने सहमति गरिसकेपछि छलफललाई चर्काउने खालको प्रतिवेदन बनाउन नहुने बताएका छन् ।

सचिवालय बैठकपछि दाहालले नेपाल र खनालसँग छुट्टाछुट्टै भेटेर प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे जानकारी गराएको भए पनि ओलीइतर पक्षका चारै नेता जुटेर समीक्षा गरेका थिएनन् । ‘हामीले जमघट भएर सामान्य कुराकानी गर्‍यौं,’ वरिष्ठ नेता खनालले भने, ‘सचिवालय बैठकको समीक्षा र स्थायी कमिटी बैठक कसरी अघि बढ्छ भनेर चिन्तन भयो, अरू धेरै कुरा केही गरिएन ।’

उक्त भेलामा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग एक व्यक्ति एक मुख्य जिम्मेवारी, मुख्यमन्त्रीहरू हेरफेर, संवैधानिक आयोगहरू र राजदूतलगायतको नियुक्तिमा बाँडफाँटलगायतका सहमति भएको जानकारी दिएका थिए । उनले आत्मालोचना गरेर अघि बढ्ने भनेपछि आफू असहमत हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीप्रति शंका भने निवारण भइनसकेको बताएका थिए ।

नेता नेपालले भने पार्टी विधि र पद्धतिमा चल्नुपर्ने आफ्नो पुरानै बटमलाइन रहेको भन्दै त्यसलाई नाघेर अघि नबढ्न अध्यक्ष दाहाललाई सुझाएका थिए । उनले आइतबार आफूनिकटका केन्द्रीय सदस्यहरूसँग भएको छलफलको निचोड पनि त्यहाँ सुनाएका थिए । ‘कोही मान्छे सुध्रिएर अघि बढ्छु भन्छ भने मौका दिनुपर्छ, तर बारम्बार एकै गल्ती दोहोर्‍याउँछ भने गम्भीर भएर सोच्नुपर्छ, प्रश्न उठाउने मौका दिनुस् भनेर साथीहरूले भन्नुभएको छ,’ नेपालले केन्द्रीय सदस्यहरूको भनाइ उद्धृत गर्दै आफ्नो भनाइ राखेका थिए ।

आइतबार कोटेश्वरस्थित एक सरकारी कार्यालयमा भएको नेपाल पक्षीय नेताहरूको भेलामा अधिकतर नेताले दाहालले ओलीसँग मिलेर कतै एक्ल्याएका त होइनन् भनेर आशंका गरेका थिए । दाहालसँग भेटेपछि मात्रै भेलामा पुगेका नेपालले भने आफूलाई अहिलेसम्म दाहालको भूमिकामाथि अविश्वास नभएको बताएका थिए । ‘तर उपाध्यक्ष वामदेव गौतमले पहिले तपाईं नै प्रधानमन्त्रीको उम्मेदवार हो भन्नुभयो, पछि उहाँ नै मेराविरुद्ध लाग्नुभयो,’ नेपालले केन्द्रीय नेताहरूसँगको बैठकमा भनेका थिए, ‘उहाँले मेराबारे हुँदो नहुँदो कुरा गरेर अध्यक्ष प्रचण्डको कान फुक्नुभएछ ।’

नेपालले भेलामा त्यसो भने पनि केन्द्रीय सदस्यहरूले दाहालले यसअघि पनि बारम्बार धोका दिएको भन्दै विश्वस्त नहुन सुझाएका थिए । ‘ओलीबाट मिलनविन्दु पहिल्याउने अफर आए पनि प्रचण्डसँग भएको सहमतिअनुसार उहाँले आफ्नो अडान छाड्नुभएन तर प्रचण्ड भने पछि हटिहाल्नुभयो,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘प्रचण्ड परिवर्तन भएका हुन् कि होइनन् भन्नेमा अझै छलफल गर्नुस् भन्ने हाम्रो सुझाव थियो, त्यहीअनुसार उहाँहरूबीच कुराकानी भएको हो ।’

बैठकमा उनीहरूबीच दाहालले आउँदो स्थायी कमिटी बैठकमा पेस गर्नका लागि तयार पार्न लागेको राजनीतिक प्रतिवेदनबारे कुराकानी भएको थियो । ‘हामीले सरकार र प्रधानमन्त्रीको कार्यशैली, सरकारका तर्फबाट भएका विभिन्न अनियमितता, विवादास्पद व्यापारिक घरानासँग सरकार र मन्त्रीहरूको सम्बन्ध र त्यसले पार्टी र सरकारलाई पारेको असरबारे पनि प्रतिवेदन स्पष्ट रूपमा आउनुपर्छ भनेका छौं,’ एक नेताले कान्तिपुरसँग भने । त्यहाँ प्रधानमन्त्रीसँगको तिक्ततापूर्ण सम्बन्ध अझै यथावत् रहेको र धेरै सवालको निरूपण स्थायी कमिटी बैठकले नै गर्ने निष्कर्ष निकालेर नेताहरू छुट्टिएका थिए ।

चार नेताको भेलालगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यहाँ उनीहरूबीच गत शनिबार सचिवालय बैठकअघि भएको सहमति पालना गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । ‘जसरी मंसिर ४ गते सरकार प्रधानमन्त्रीलाई र दलको कार्यकारी जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको थियो, त्यही हिसाबले पार्टी र सरकार सञ्चालन गर्ने विषयमा फेरि सहमति भएको छ,’ बालुवाटार स्रोतले भन्यो ।

बालुवाटार बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले मंगलबार दिनभरिमा लेखेर सक्ने विषयमा पनि कुराकानी भएको थियो । बालुवाटारपछि अध्यक्ष दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका थिए । सोमबार नै नेपालनिकट स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूले पनि आउँदो बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन अनौपचारिक छलफल गरे । यसअघि स्थायी कमिटी बैठक बोलाउन माग गर्ने २० जना स्थायी कमिटी सदस्यहरूले बैठकमा आफ्नो संयुक्त धारणा पेस गर्ने तयारी गरेका छन् । सचिवालयमा भएको सहमतिअनुसार अध्यक्षहरूका प्रतिवेदन आउने र ती प्रतिवेदनमा सबै नेताहरूको एउटै प्रकारको टिप्पणी र धारणा पेस गर्न उनीहरूले गृहकार्य गरेका हुन् ।

प्रकाशित : वैशाख २३, २०७७ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?