दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्यको सुझाव : विचारका आधारमा मिलेर जानुस्

बबिता शर्मा

काठमाडौँ — नेकपा स्थायी कमिटीका एक दर्जन बढी सदस्यले विधि पद्धतिलाई स्थापित गर्ने गरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान सुझाव दिएका छन् ।

दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्यको सुझाव : विचारका आधारमा मिलेर जानुस्

नेपाल निवास कोटेश्वरमा सोमबार साँझ भेला भएका एक दर्जन बढी स्थायी कमिटी सदस्यले नेकपामा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्दै दाहाल–नेपाललाई मिलेर जान सुझाव दिएका हुन् ।

नेता नेपालले छलफलका लागि भन्दै सोमबार साँझ आफ्नो निवासमा आफू र दाहाल निकट मानिने स्थायी कमिटी सदस्यलाई बोलाएका थिए । छलफलमा सहभागी एक नेताले भने, ‘अध्यादेशदेखि सचिवालयको निर्णयसम्मको समीक्षा भयो । स्थायी कमिटीको तयारीमा पनि छलफल भयो । हामीले विधि–पद्धतिका लागि तपाईंहरु (दाहाल–नेपाल) मिलेर जानुस् भन्ने सुझाव दियौं ।’

सोमबार दिउँसो स्थायी कमिटीका एजेन्डामाथि छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्रीबीच सकरात्मक कुराकानी नभएपछि दाहाल सिधै कोटेश्वर पुगेका थिए । ओली–प्रचण्ड संवाद सकरात्मक नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठको संकेत छ । उनले सोमबार राति १० बजेपछि ट्वीट गरेका छन् ,'अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ। अत:अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन । पार्टी एकताको रक्षा,विधिपद्धितको पालना,पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने संकल्प-यो हो निष्कर्ष।'

त्यसपछि नेपालले दुवै समूहका स्थायी कमिटी सदस्य बोलाएर आगामी रणनीतिवारे परामर्श लिएका थिए । छलफलमा स्थायी कमिटी सदस्यहरुले एकता पनि हुनुपर्यो र विकल्प पनि दिन पर्यो भनेर नेता नेपालको ध्यानाकर्षण गराएका थिए । छलफलमा नेताहरुले सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको भूमिकालाई लिएरसमेत प्रश्न उठाएका थिए ।

सोमबार बिहान दाहाल, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच पनि श्रेष्ठ निवासमा छलफल भएको थियो । सचिवालय निर्णय कार्यन्वयनमा अझै शंका रहेकाले प्रधानमन्त्री ओली र उनको समूहमाथि स्थायी कमिटी बैठकसम्म दबाब बनाउन दाहाल–नेपालसमूह सक्रिय छ । शनिबारको सचिवालय बैठकमा आत्मआलोचना गर्दै प्रधानमन्त्री ओलीले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

सोमबारको छलफलमा सहभागी एक स्थायी कमिटी सदस्य भन्छन्, ‘ढुक्क हुने अवस्था छैन् । आफ्नो तयारीमा लाग्नुपर्ने देखिएपछि संवाद थालेका हौं ।’ ती नेताका अनुसार स्थायी कमिटी बैठकसम्म यस्तो छलफल चलिरहन्छ । वैशाख २५ मा नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । बैठकमा सरकार र पार्टी संचालनसम्बन्धी योजना निर्माण र नेताहरुको कार्यविभाजन गर्ने शनिबारको सचिवालयको निर्णय छ ।

सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्ः

स्थायी कमिटीका लागि रणनीति बनाउँदै दाहाल–नेपाल समूह

प्रकाशित : वैशाख २२, २०७७ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?