कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अवैध मदिरा उत्पादन रोकमा प्रशासनले ध्यान नदिँदा सिंगो बस्ती शोकमा

सन्तोष सिंह

महोत्तरी — महोत्तरीको भंगहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयनजिकै चमार बस्ती छ । बस्तीमा फुसले छाएका पुराना छाप्रा लस्करै छन् । बस्तीमा लकडाउनले खानाको झन् समस्या छ । तर बस्तीका पुरुषलाई  मदिरा भने अनिवार्य जस्तै छ ।

अवैध मदिरा उत्पादन रोकमा प्रशासनले ध्यान नदिँदा सिंगो बस्ती शोकमा

मजदुरी गर्दा लागेको थकाइ मेटन अवैध घरेलु मदिरा सेवन गर्नु समान्य रहेको स्थानीय बताउँछन् । लामो समयदेखि मदिरा सेवन गर्ने दुई जनाको मृत्यु भएपछि चमार बस्ती शोकमा डुबेको छ ।

गत बुधबार घरनजिकै वडा कार्यालसँगै रहेको पसलमा मदिरा सेवन गरेका ५० वर्षीय नथुनी महरा र ६० वर्षीय सुकदेव रामको मृत्युले दुई परिवारसहित स्थानीय शोकमा छन् । मंगलबार मदिरा व्यवसायी नागेन्द्र चौधरीको पसलमा मृतक दुवै जनाले मदिरा पिएका थिए । दिउँसो बाँस काटेर चौधरीकै पसलमा बेरा लगाएर साँझ मदिरा सेवन गरी घर फर्केका थिए । दिनहुँजस्तै मंगलबार पनि उनीहरु सँगै मदिरा खाएर घर फर्किएका थिए । बिनासितन मदिरा सेवन गरेका दुवैजना घर पुगेर केही खाएनन् । भोकै सुते ।

राति भोकै सुतेका नथुनीको भोलिपल्टै मृत्यु भयो । नथुनीको मलामीबाट फर्केका सुकदेवको मुख मलिन थियो । सँगै मदिरा सेवन गरेका मित्र गुमाउनुको पीडासँगै विषाक्त मदिराले उनको शरीर काँप्न थालेको श्रीमती रामवती देवीले बताइन् । दम बढेको र पखालाले एकदिनमै थला परेका उनले खिचडी खाएपछि वान्ता गरेको रामवतीले बताइन् । नथुनीको मलामी गएर फर्केका सुकदेवलाई उपचारका लागि पहिला रामगोपालपुर पुर्‍याए । त्यहाँबाट रेफर गरेर जलेश्वर अस्पताल लगे । त्यहाँ पनि उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल पुर्‍याइयो । अस्पताल पुऱ्याउँदा उनको मृत्यु भइसकेको थियो ।

चमार बस्तीका नथुनी र सुकदेवसँगै अवैध विषाक्त मदिरा सेवन गर्ने लालबावु सिंह, सिकिन्दर सिंह, महेन्द्र चौधरी, मोहन चौधरीको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको वडाध्यक्ष बासुदेव सिंहले बताए ।

वडा नं. ७ मै आइतबार ५४ वर्षीय रुपनारायण सिंहको मृत्यु भएको थियो । मदिरा पिउनेको एकपछि अर्कोको मृत्यु भइरहँदा आइतबार मृत्यु भएका रुपनारायणले मदिरा सेवन नगरेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताए ।

विषाक्त रक्सी सेवनका कारण आफन्त गुमाएका चमार बस्तीका स्थानीय

प्रहरीकै संरक्षणमा गाउँमै वर्षौंदेखि उत्पादन भइरहेको विषाक्त मदिरा सेवनले वडाका ६ जनाको ज्यान गएको स्थानीय बताउँछन् । मृतक लालबाबुको पसलबाट अवैध मदिरासमेत बरामद भएको स्थानीय बताउँछन् । ‘श्रीमान्‌को मृत्यु विषाक्त मदिरा सेवनले नै भएको हो,’ रामरतीले भनिन्, ‘पखाला लाग्दा कोरोनाको डरले कोही उपचार गर्न नै आएन । पछि प्रहरीले लगे । तर उपचार नै नगरी रामगोपालपुरबाट जलेश्वर र जलेश्वरबाट जनकपुर पठाइयो । यताउता गर्दागर्दै श्रीमान्‌को मृत्यु भयो ।’

महोत्तरीका १२ मृतकमध्ये चारको पोस्टमार्टम रिपोर्ट- ‘मृत्युको कारण अत्यधिक रक्सी सेवन’

विषाक्त मदिरा उत्पादनबारे प्रहरीलाई पटक–पटक जानकारी गराएको वडा अध्यक्ष सिंह बताउँछन् । ‘गुनासो गर्दा पनि उत्पादन बन्द नभएको विषाक्त मदिरा टोलमा ६ जनाको मृत्युपछि बन्द भएको छ,’ वडाध्यक्ष सिंहले भने, ‘मदिरा उत्पादनबारे गुनासो गर्दा मदिरा भट्टीमा प्रहरीले छापा मार्थे । छापा मारेपछि फेरि जस्ताको त्यस्तै । गुनासो गर्दागर्दै थाकिसकेँ । मदिरा उत्पादन बन्द भएन ।’

भंगहा–७ मझौलिया रामपुकार चौधरी, रामेकवाल चौधरी, कमल राय थारु र गोरहन्नामा नवीनकुमार सिंहले विषाक्त मदिरा उत्पादन गर्दै आएका छन् । प्रहरीलाई मोटो रकम बुझाएर मदिरा उत्पादन गर्दा स्थानीय मुकदर्शक बनेको स्वास्थ्यकर्मी विजयकुमार साहले बताए । लकडाउनले गर्दा बजार, सवारीसाधन र काम बन्द भयो । तर, मझौलिया र गोरहन्नको मदिरा उत्पादन ठप्प भएन । यहाँ उत्पादन भएको मदिरा मोटरसाइकलमा रामगोपालपुर, जलेश्वर, रौजा, बनौटा, धमौरा, बलवासहितका स्थानमा बिक्री हुन्छ ।

विषाक्त मदिराले टोलमै ६ जनाको मृत्यु भएपछि मदिरा उद्योग बन्द गरी सञ्चालक फरार भएका छन् ।

प्रकाशित : वैशाख २२, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?