कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सीआईबीको हिरासतमा रहेका मिटरब्याजी यादव १ करोड ७५ लाख धरौटीमा छुटे

मातृका दाहाल

काठमाडौँ — अपराध गरेर सम्पत्ति आर्जन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव १ करोड ७५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

सम्पत्ति शुद्धिकरण मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका यादव १ करोड ७५ लाख रुपैयाँ बराबरको जायजेथा धरौटी राखेर वैशाख १२ गते छुटेका हुन् ।

सीआईवीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा धरौटी बुझाएपछि यादवलाई तारेखमा छाडिएको बताए । सर्लाहीकै जग्गाजमिन धितो राखेर उनलाई छाडिएको एसपी पाण्डेले बताए । ‘अहिले सामान्य परिस्थिति भएको भए तर कोरोना भाइरसको संक्रमण विरुद्ध चालिएका कदम र लकडाउनका कारण केही प्राविधिक कठिनाईले यादवलाई अनुसन्धानलाई जारी राखेका छौं ।’ठगीमा पक्राउ परेको केही दिनमै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान गर्न सीआईबीलाई पत्र पठाएको थियो ।

प्रहरीले यादवलाई मिटर ब्याज अभियोगमा २०७६ पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो । जिल्ला अदलत सर्लाहीले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनलाई माघ २७ गते सुनसरीको झुम्का कारागार चलान गरिएको थियो ।

केही दिन कारागार बसेपछि यादवले फागुन २ गते धरौटी बुझाएर रिहा भएलगत्तै सीआईवीले पक्राउ गरेको थियो । ठगिएका २८ जना पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले २० करोड ४४ लाख रुपैया बिगो र कैद सजाय माग दाबीसहित यादव विरुद्ध मुद्दा दर्ता भएपनि अदालतले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्लास्थित न्यून आय भएका मानिसलाई चर्को ब्याजमा ऋण लगाउने, ऋण दिँदा जग्गा रजिस्ट्रेसन पास नै गर्न दबाब दिने, साँवा भन्दा ब्याज बढी लिने, धीतो राखेको जग्गाजमिन फिर्ता नै नदिने लगायतका उजुरी परेपछि यादवलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो ।

सर्लाही वरथहवाका यादव र ब्रम्हापुरी त्रिभुवननगरका सञ्जय साह रौनियारले आफूलाई ठगेको भन्दै पीडितको समूह नै काठमाडौं आएर विभिन्न राजनीतिक दल देखि प्रशासन र प्रहरीका अधिकारीलाई भेटेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि प्रहरीले यादवलाई सर्लाहीबाट पक्राउ गरी ठगीमा अनुसन्धान गरेको थियो ।

प्रकाशित : वैशाख २१, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?