१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नोकरी न आम्दानी, अब कसरी चल्छ घर ?

बर्सेनि भारतका विभिन्न भागमा पुगेर रोजगारी गर्दै घरमा पठाउनेहरू कोरोनाको त्रासले आफैं आत्तिएर स्वदेश फिर्दा तावाबाट उम्केर भुंग्रामा परेको अनुभव गर्दैछन्

डडेलधुरा/बझाङ — डडेलधुराको साविक कोटेली गाविसका हरि साउद भारतको सिमलामा स्याउ टिप्न नेपाली मजदुर खोज्ने काम गर्थे । यज्ञ सार्कीको घर पुगेर उनले यज्ञका बाबुसँग सोधे ‘छोरो जवान भइसकेछ, अब कहिले जान्छ देश (भारत) ?’

नोकरी न आम्दानी, अब कसरी चल्छ घर ?


यज्ञ त्यतिबेला १४ वर्षका थिए । ‘जवान’ भइसकेका यज्ञ र उनका १२ जना दौँतरी पढ्न छाडेर सिमला हान्निए । त्यहाँ स्याउ टिप्ने बेलामा स्याउ टिप्ने र अरू बेला अरू काम गरेर बसे ।

नौ वर्षअघिको यस्तो चलन सुदूरपश्चिम र मध्यपश्चिमका धेरै जिल्लामा अहिले पनि छँदैछ । ‘१४/१५ को भयो कि देश जाने चलन अझै रोकिएको छैन,’ मणिलेकका युवक मेघराज भट्टले भने, ‘छोरा देश नगएको घर भेटाउन मुस्किल होला गाउँमा । छोरा देश जाने उमेरको भयो भने बाबुका दिन फिरे भन्ने उखानै छ ।’ कोरोना कहर र लकडाउनले कामधन्दा बन्द भएपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा करिब डेढ लाख कामदार भारतबाट घर फर्केका छन् । धेरै जना एकैपटक गाउँ आइपुग्दा खाद्यान्न संकट पर्न सक्ने जनप्रतिनिधि नै बताउँछन् ।

बझाङको बुंगल नगरपालिका डिन्नुका कल्याण ऐडी बिरामी भएर चौकीदारी गर्न नसक्ने भएपछि कल्याणले गरिआएको काम गर्न गत कात्तिकमा उनका छोरा दीपेन्द्र परिवारसहित केरलाको कोटम गएका थिए । राति बजारको चौकीदारी र दिउँसो होटलमा काम गरेर उनी मासिक भारु १८ हजार जति पैसा घर पठाउँथे । त्यो पैसाले उनका भाइलाई कम्प्युटर विज्ञान पढ्न, बुवाको ओखती गर्न र घरका ६ जनाको गुजारा चलाउन जेनतेन पुगेको थियो ।

दीपेन्द्रकै गाउँका नरेन्द्र बोहरा १० कक्षा पुगेपछि पढाइ छाडेर काम गर्न भारत गएका थिए । उनी १९ वर्ष मात्र पुगेका छन् । घरको जेठो छोरो भएकाले उनले घरका सात जनाको पालनपोषणको जिम्मा लिनुपरेको छ ।

बझाङको बुङ्गल नगरपालिकाका प्रमुख धनबहादुर विष्टका अनुसार उक्त नगरपालिकाका ६० प्रतिशत मानिस मौसमी रोजगारीका लागि भारत जान्छन् । डडेलधुराको नवदुर्गा गाउँपालिका प्रमुख कवीन्द्र बिष्टका अनुसार त्यस गाउँपालिकाका ६ हजार अर्थात् त्यहाँका झन्डै एक तिहाइ मानिस कामका लागि भारतका विभिन्न सहर गएका थिए ।

सुदूरपश्चिमको प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कोरानाको त्रास फैलिएपछि बनबासा, गौरीफन्टा, झुलाघाट जस्ता आधिकारिक नाकाबाट १ लाख ४३ हजारभन्दा बढी नेपाली घर फर्केका थिए । गत चैत ११ मा सुरु भएको लकडाउनयता १५ हजार जति नेपाली खुला सिमाना हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा आइपुगेको अनुमान मन्त्रालयले गरेको छ ।

स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बझाङमा मात्रै २० हजार जना जति भारतबाट फर्केको अनुमान गरेका छन् । जयपृथ्वी नगरपालिकामा फागुन २३ यता भारतमा अस्थायी र स्थायी काम गरिरहेका पाँच सय जनाभन्दा बढी नेपाली काम छाडेर घर फर्केका छन् ।

बुंगल नगरपालिकामा मात्रै तीन–चार हजार मानिस भारतबाट फर्केको हुन सक्ने नगर प्रमुख धनबहादुर विष्टले अनुमान गरेका छन् । भारतमा वर्षको केही समय मात्र काम गर्ने मानिस मजदुरी गरेको रकम समेत नपाएर बेखर्ची भएर फर्केको पनि उनले बताए ।

यसरी फर्केका मानिसलाई अहिले कहाँ बसौँ, के खाउँ भएको छ । जयपृथ्वी नगरपालिकाका डुक्या सिंह र उनका परिवार पाँच वर्षपछि भारत गएका थिए । गत चैत १० गते उनीहरू फर्कँदा घर खण्डहर भइसकेको थियो । उनको परिवारमा दुई छोरी, एक छोरा र श्रीमती पाँच जना छन् । अहिले उनीहरू आफ्ना छिमेकी प्रेम सिंहको आटो (मुनि गाईबस्तु बाँध्ने र माथि मानिस बस्न र खाना पकाउन मिल्ने सानो कोठा भएको खरले छाएको घर) मा आश्रय लिइरहेका छन् । फर्कनुभन्दा अघि उनले साथीहरूलाई सापटी दिएको पैसा फिर्ता लिन भ्याएनन् । ‘चठ्ठा (केही व्यक्ति मिलेर निश्चित समयका लागि मासिक रकम जम्मा गर्ने र पालैपालो रकम लिने अभ्यास) पनि उठाउनु थियो,’ उनकी श्रीमती वसन्ती सिंहले भनिन् ।

‘असार साउनसम्म बन्द हुने भन्ने हल्ला छ । यता रोजगारी छैन । के गरेर परिवार पाल्ने होला’ जयपृथ्वी नगरपालिका सिउँमल खड्काले भने । खड्काका घरबाट बाबुछोरा बेंगलुरुमा काम गर्थे । त्यहाँ कमाएको पैसाले घर बस्ने सात जनाको जीविका चलेको थियो । उनले भाइ दीपेन्द्रको पढाइ सकिएपछि मात्र घर फर्कने विचार गरेका थिए । कोरोनाले उनको योजना भताभुंग भयो । ‘पेट त यतै मजदुरी गरेर पनि पालिहालौंला । भाइको पढाइ भने छुट्ने भयो,’ १२ कक्षा सकेका दीपेन्द्रले भने, ‘महिनाको ३५ सय त स्कुललाई तिर्नु पर्छ । डेराभाडा, खाना गर्दा महिनामा आठ हजार जति खर्च लाग्छ ।’

सरकारले रोजगारी देला भन्ने आस उनले गरेका छैनन्, ‘मेरै गाउँका दुई सय जना घर आएका छन । सरकारले कतिलाई रोजगारी दिनसक्ला र ? बन्दाबन्दी खुलेपछि उतै जानु पर्ला,’ नरेन्द्रले कान्तिपुरसित भने, ‘उतैको कमाइले घर चलेको थियो । अब कसरी परिवार पाल्ने ? भाइबैनी कसरी पढाउने ? केही सोच्न सकेको छैन ।’ भारतको कमाइको भरमा जीवनयापन गरिरहेकाहरूलाई राहत दिने कार्यक्रम नगरपालिकासँग नभएको बुंगल नगरप्रमुख धनबहादुर विष्टले बताए ।

भारतमा काम गरिरहेकाहरू अचानक घर फर्कनु परेपछि गाउँमा के कस्तो असर पर्न सक्छ र त्यसका लागि के कस्ता तयारी गर्नुपर्छ भन्नेबारे डडेलधुरामा बझाङको भन्दा अलि बढी सचेत छन् ।

डडेलधुराको नवदुर्गा गाउँपालिकाका प्रमुख कवीन्द्र बिष्टका अनुसार त्यहाँका तीन हजार जनाभन्दा बढी घर फर्केका छन् । ‘एक जनाले एक महिनामा सरदर ५ हजार पठाउँथे । ‘त्यो पैसा आउन छोड्दा त्यस गाउँपालिकामा आउने पैसा हरेक महिना १ करोड ५० लाखका दरले घट्छ । त्यो पैसाले खाद्यान्न, लत्ता कपडा, औषधि उपचार, बालबालिकाको शिक्षा, धार्मिक जात्रा पर्वको खर्च टथ्र्याे,’ विष्टले भने, ‘कोरोनाले गर्दा हाम्रो ग्रामीण अर्थतन्त्रको अवस्थाबारे सजिलोसँग बुझ्ने मौका मिलेको छ ।’

स्थानीय सरकार गठन भएपछि पनि हामीले धेरै गर्न सकेका रहेनछौं भन्ने स्पष्ट भएको स्थानीय शिक्षक शेरबहादुर साउँदले बताए । उनी भन्छन्, ‘धेरै मान्छे एकैपटक गाउँ आइपुग्दा खानेपानी, सरसफाइमा समस्या आउनसक्छ । महामारीले गर्दा उनीहरू तीन चार महिनासम्म काममा फर्कन पाएनन् भने खाद्यान्न संकट पर्न सक्छ ।’

‘रोजगारी गुम्ने, क्रय शक्ति घट्ने तर खाद्यान्नको आवश्यकता बढ्ने भएपछि संकट आउने निश्चित छ । दिनमा दुई किलो खाद्यान्न चाहिने परिवारलाई ३ या ४ किलो चाहिन थाल्यो भने खाद्य संकट हुने अनुमान सजिलै लगाउन सकिन्छ,’ कृषि निर्देशनालयका वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्टले भने ।

उनका अनुसार, केही गरी खाद्यान्न पाइए पनि महँगो हुने भएकाले गरिबले किन्न सक्दैनन् । त्यसैले खाद्य संकटबारेमा सरकारी तथा गैरसरकारी क्षेत्रले चिन्ता लिने समय भइसकेको छ ।

‘स्थानीय सरकारले कृषि रोजगारी, लघु तथा कुटिर घरेलु उद्योग, विकास निर्माणका योजनामा प्रत्यक्ष रोजगारी, व्यावसायिक पशुपालन जस्ता कार्यक्रम बनाएर जानु नितान्त आवश्यक भइसकेको छ,’ सामाजिक अनुसन्धानकर्ता प्राध्यापक युवराज जोशीले भने । ‘यस्ता अवस्थाको सवैभन्दा बढी मार मजदुरी गर्ने, दलित र विपन्न वर्गमा पर्ने भएकाले समयमै सचेत हुनुपर्छ ।’ ‘संकट नजिकै छ । हामीले तयारी गर्न सकेका छैनौं । आर्थिक वर्षको अन्तिममा के गर्न सकिन्छ र ? आउँदो आर्थिक वर्षका लागि अहिलेदेखि नै तयारी सुरु गरिसकेका छौं,’ नवदुर्गा गाउँपालिकाका अध्यक्ष विष्टले भने ।

प्रकाशित : वैशाख २१, २०७७ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?