२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

५ वर्षसम्मै यही सरकार : महासचिव पौडेल

‘हामीले उपयुक्त समयमा वामदेव कमरेडलाई प्रतिनिधिसभामा लैजान्छौं ’
दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार संकटमा पर्न खोजेपछि नेकपाभित्रका नेतालाई मिलाउन केही व्यक्ति सक्रिय थिए । तीमध्येका एक हुन्– महासचिव विष्णु पौडेल । उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसँग एक अर्काको सन्देश वाहक भएर सहमतिको विकल्प खोज्ने काम गरे ।

५ वर्षसम्मै यही सरकार : महासचिव पौडेल

ओलीको पक्षमा उभिए पनि तीनै नेतासँग समदूरी सम्बन्ध राखेका महासचिव पौडेलसँग नेकपा सचिवालय बैठकपछि शनिबार राति कान्तिपुरका दुर्गा खनालले गरेको कुराकानी :

सरकार फेर्न पार्टीभित्र निकै रस्साकसी थियो, एक्कासि मिलेर जान कसरी सम्भव भयो ?

नेकपामा विग्रह र विघटनको अपेक्षा गर्ने तत्त्व, शक्ति र प्रवृत्तिलाई आजको बैठकको निर्णयले जवाफ दिएको छ । पार्टीमा विभाजन आउँछ कि भनेर चिन्ता गरिरहेका तमाम नेता, कार्यकर्ता र जनसमुदायलाई उत्साहित तुल्याएको छ । नेकपा कुनै एउटा कच्चा काँचको संरचना होइन, दह्रो शक्ति हो भन्ने स्थापित भएको छ । अहिले विकसित मजबुत एकताले जनता र राष्ट्रको अपेक्षा पूरा गर्न पार्टी सक्षम हुन्छ भन्ने कुराको पुनर्पुष्टि भएको छ । यो पार्टीको एकता सामान्य हल्का ढंगले गरिएको थिएन । त्यसैले एकता ख्यालख्यालमा टुट्दैन भन्ने पनि पुनर्पुष्टि भएको छ । नेताहरूको आपसी सम्बन्ध अब झनै मेलमिलापसहित नयाँ उचाइमा विकसित भएको छ ।

बीचमा पार्टीभित्र संकटको अवस्था किन आयो ?

नेताहरूले परस्परमा एकअर्कालाई बुझ्ने, एकअर्काका अनुभूतिलाई ठीक ढंगले ग्रहण गर्ने, समस्या समाधानमा ठीक ढंगले केन्द्रित हुने कुरामा रहन गएका कमजोरीले यो स्थिति सिर्जना भएको थियो ।

सचिवालयको शनिबारको निर्णयले अब प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने संकट टरेको हो ?

यो सरकार संकटमा छ भन्ने अनुमान र प्रचार जुन थियो, त्यो सत्य थिएन । यो निर्णयले सरकारको स्थायित्वलाई अझ सुदृढ र सबल तुल्याएको छ । सरकारका माध्यमबाट अस्थिरताको खोजी गर्ने प्रवृत्तिलाई पनि जवाफ मिलेको छ ।

त्यसो भए सरकार तत्कालै परिवर्तन हुँदैन ?

तत्कालै परिवर्तनको कुरै होइन । यही सरकार बाँकी अवधि अर्थात् ५ वर्षसम्मै चल्छ ।

सरकार ५ वर्षसम्मै चल्ने भए उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा चाहिँ किन लैजान लाग्नुभएको त ?

उहाँ पार्टीभित्रको एउटा सशक्त नेता हो । उहाँले संसद्भित्रबाट महत्त्वपूर्ण योगदान दिन सक्नुहुन्छ भन्ने हिसाबले लैजान लागिएको हो ।

गौतमलाई प्रतिनिधिसभामा कहिले, कसरी लैजाने त ?

हामीले उपयुक्त समयमा वामदेव कमरेडलाई प्रतिनिधिसभामा लैजान्छौं । स्वाभाविक रूपमा प्रतिनिधिसभाको उपयुक्त ठाउँको पहिचान गरिकन उहाँलाई लगिनेछ ।

कुन क्षेत्र खाली गराउने र कहिलेसम्म उपचुनाव गर्ने भन्ने छ ?

यो वा त्यो निर्वाचन क्षेत्र भन्ने टुंगो भइसकेको छैन । यो विषयमा सल्लाह गर्छौं ।

गौतमलाई प्रतिनिधिसभामा लैजाने भन्ने प्रस्तावचाहिँ कसको हो ?

स्वाभाविक रूपमा यो प्रस्ताव प्रधानमन्त्रीले नै राख्नुभएको हो । प्रधानमन्त्रीको प्रस्तावलाई वामदेव कमरेडले ग्रहण गर्नुभएको छ ।

तीन जना अध्यक्ष बनाउने प्रस्तावचाहिँ के भयो ?

त्यो विषयमा कुरा भएन । माधव कमरेडले पनि तेस्रो वरीयताको अध्यक्षमा नजाने धारणा व्यक्त गर्नुभयो । त्यसैले बैठकले उहाँको भनाइलाई सम्मान गर्‍यो ।

सचिवालय बैठकले अहिलेसम्मका काम र निर्णयबारे समीक्षा गर्ने भनेको छ । के मन्त्रिपरिषद्मा फेरबदल पनि हुन्छ ?

त्यस विषयमा प्रवेश गरेका छैनौं । यो प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो । आवश्यक परेका बखत, आवश्यक परेका स्थानमा आवश्यक परामर्शपश्चात् उहाँले निर्णय गर्न सक्नुहुन्छ ।

प्रधानमन्त्रीले आत्मआलोचना गर्नुभएको कुरा आएको छ । अब स्थायी कमिटी बैठकमै उहाँले आफू सच्चिएर जान्छु र आत्मआलोचना गर्छु भन्ने प्रतिवेदन पेस हुन्छ त ?

आत्मआलोचना कोही एउटा व्यक्तिले गर्नेभन्दा पनि हामी सबैले कहाँ कमजोरी गरेका छौं त्यसको सिंहावलोकन गर्छौं । कमीकमजोरीबाट शिक्षा लिएर अघि बढ्छौं । आज (सचिवालयमा) गरिएको निर्णय त्यही हो ।

धेरै नेताले स्थायी कमिटी बैठक माग गरेका थिए, के हुन्छ ?

सचिवालयका तर्फबाट व्यवस्थित प्रस्ताव र गर्नुपर्ने कामको कार्यसूचीसहित हामी प्रस्तुत हुनेछौं । सचिवालयका सबै नेताको एकताबद्ध प्रस्ताव स्थायी कमिटीमा जानेछ ।

प्रकाशित : वैशाख २१, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?