कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘विषाक्त रक्सी’ सेवनले ११ को मृत्यु

१० दिनयता महोत्तरीको मेघनाथ गोरहन्ना र अहिमानमा मृत्यु भएकाको भिसेरा संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइयो

जनकपुर/महोत्तरी — महोत्तरीको उत्तरपूर्वी दुई बस्तीमा १० दिनका बीचमा ११ जनाको मृत्यु भएको छ । ‘विषाक्त रक्सी’सेवनका कारण मृत्यु भएको आशंकामा उनीहरुको भिसेरा संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको छ । शनिबार मात्रै दुई जनाले ज्यान गुमाएका छन् ।

‘विषाक्त रक्सी’ सेवनले ११ को मृत्यु

नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालामा परीक्षणका लागि पठाइएको भिसेरा रिर्पोट कुरिरहेको प्रदेश २ का प्रहरीले यसबीचमा घरेलु रक्सीको उत्पादन, बिक्री–वितरण र सेवनमा समेत कडाइ गरेको छ । स्थानीय भने मृत्युको कारण घरेलु रक्सी मात्र नभई अरु पनि हुनसक्ने आशंका गरिरहेका छन् ।

महोत्तरी, भंगहा नगरपालिका–७ को मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को अहिमान बस्तीका ११ जनाको एकपछि अर्को गर्दै मृत्यु भएपछि दुवै बस्तीमा शोक छाएको छ । यी एकअर्कामा जोडिएका बस्ती हुन् । लगालग बस्तीका मानिसहरुको मृत्यु हुन थालेपछि गाउँमा त्रास फैलिएको छ ।

प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुको विषाक्त रक्सीले मृत्यु भएको आशंकामा भिसेरा परीक्षण गर्न लागिएको हो । ‘मृत्यु हुने अधिकांशको उमेर ४५ वर्षमाथि छ । केहीको हृदयघात भएर पनि मृत्यु भएको देखिन्छ,’ डीआईजी सिंहले कान्तिपुरसँग भने, ‘भिसेराको रिर्पोट आएपछि मात्रै मृत्युको कारण पत्ता लाग्छ । अनुसन्धानमा प्रहरी खटिएको छ ।’

विषाक्त रक्सी सेवनले मृत्यु भएको आशंका गरिएकामा ४५ वर्षीय मोहन चौधरी, ५५ वर्षीय गंगाराम सदा, ५० वर्षीय लालबाबु सिंह, ५५ वर्षीय महेन्द्र चौधरी, ५० वर्षका नथुनी महरा, ३५ वर्षीय सिकेन्द्र पासवान र सुकदेव महरा छन् ।

बर्दिवास–१२ मा शुक्रबार ५५ वर्षीया मोमनीदेवी सरदार र २६ वर्षीय सोपिन्द्र मण्डलको पनि मृत्यु भएको छ । शनिबार भंगहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापतिको मृत्यु भएको थियो । प्रजापति इँटा उद्योगका काम गर्थे । अचानक बेस्सरी पेट दुख्ने, झाडापखाला चल्ने र बान्ता गर्ने लक्षण देखिएलगत्तै उनीहरुको मृत्यु भएको हो ।

गत मंगलबार र बुधबार मृत्यु भएका पाँच जनाको शव प्रहरीलाई खबरै नगरी दाहसंस्कार गरिएको थियो । बिहीबार थप दुई जनाको मृत्यु भएपछि प्रहरीले बल प्रयोग गरेर मृतकको शव पोस्टमार्टमका लागि जलेश्वरस्थित जिल्ला अस्पताल पुर्‍याएको थियो । पोस्टमार्टम गरिएकै शवको भिसेरा निकालिएको महोत्तरी प्रहरीले जनाएको छ । ‘कालगतिले मर्‍यो होला ठानेर गाउँलेहरुले सुरुमा प्रहरीलाई खबरै गरेनन् । आफैं शव लगेर दाहसंस्कार गरिदिए,’ डीआईजी सिंहले भने, ‘त्यसपछि पनि मानिसको मर्ने क्रम नरोकिएपछि प्रहरीले शव थुतेरै पोस्टमार्टम गराएको हो ।’

मृतकहरु अति विपन्‍न परिवारका हुन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार लकडाउनमा खानाको समस्या झेलिरहेका उनीहरुले घरेलु मदिरा अत्यधिक सेवन गर्ने गरेका थिए । ‘अहिलेसम्मको अनुसन्धानमा अत्याधिक मदिरा सेवनले नै उनीहरुको ज्यान गएको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘अरु केही कारण भए त्यसको पनि खोजी भइरहेको छ ।’

भंगहा नगरपालिकाका प्रमुख सञ्जीव साहले पनि मृतकहरु मदिराका अम्मली रहेका र उनीहरुको अत्यधिक मदिरा सेवनले नै मृत्यु भएको दाबी गरे । ‘दिनभर सकुशल रहेका व्यक्तिहरुको भोलिपल्ट बिहान मृत्यु भएको छ,’ साहले भने, ‘मृत्युको अन्य कुनै कारण नै देखिँदैन । टन्‍न मदिरा खाएर सुतेका उनीहरुको मृत्यु भएको हो ।’ महोत्तरी प्रहरीले मदिराको विषाक्तपन पहिचान गर्न गाउँमा उपलब्ध रक्सीको नमुना संकलन गरेर परीक्षण गर्न पनि पठाएको छ ।

बर्दिवासको अहिमान बस्तीमा पनि अत्यधिक मदिरा सेवनले नै मानिसहरुको ज्यान गएको त्यस वडाका अध्यक्ष रामकिशोर साहले बताए । अखाद्य कच्चा पदार्थ प्रयोग गरेर स्थानीय स्तरमा बनाइएको मदिराको सेवन गर्दा उनीहरुको मृत्यु भएको वडाध्यक्ष साहको भनाइ छ । मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव महराको पोस्टमार्टम गरिएको छ । साताअघि मात्रै महोत्तरी प्रहरीले मेघनाथ गोरहन्ना, सीतापुर, औरही र जमुनियामा १६ हजार लिटरभन्दा बढी मदिरा, कच्चापदार्थ र चार वटा भट्टी नस्ट गरेको थियो ।

घरेलु मदिरा सेवनमा प्रदेशभर रोक

प्रदेश २ प्रहरीका डीआईजी सिंहका अनुसार घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र सेवनमा रोक लगाउन ८ वटै जिल्लाका प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । ‘घरेलु मदिराको उत्पादनमा कडाइ गर्न र यसलाई अभियानकै रुपमा लागू गर्न सवै प्रहरी पोस्टलाई निर्देशन गरिसकिएको छ,’ उनले भने, ‘घरेलु मदिराको कारोबार गर्नेको पनि निगरानी भइरहेको छ ।’ महोत्तरी प्रहरीले दुवै बस्तीमा रहेका मदिरा भट्टी भत्काउन थालेका छन् । प्रहरीको सक्रियतापछि घरेलु मदिराका कारोबारीहरु फरार भएका छन् ।

आरडीटी नेगेटिभ, स्वाब संकलन

सीमा जोडिएका दुई बस्तीमा एकपछि अर्को गर्दै ११ जनाको मृत्यु भएपछि स्थानीयले कोरोना भाइरसको संक्रमणले मृत्यु भएको आशंका गरे । स्थानीयले गाउँमा स्वास्थ्यकर्मी पठाएर कोरोना भाइरस रहे–नरहेको जाँच गर्न माग गरे । प्रहरीसहित गाउँ पुगेका स्वास्थ्यकर्मीले मृतकमध्ये दुई जनाको आरडीटी किटबाट कोरोना भाइरसको परीक्षण गरे । दुवैको रिर्पोट नेगेटिभ आयो । स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वाबको नमुनासमेत संकलन गरेर परीक्षणका लागि पठाएको छ । त्यसको रिपोर्ट आइतबारसम्म आउने बताइएको छ । शव पोस्टमार्टमका क्रममा पनि आरडीटी गरिएको थियो । त्यसको रिपोर्ट पनि नेगेटिभ नै आएको महोत्तरीका एसपी अधिकारीले बताए ।

‘गाउँलेहरुले कोरोना भाइरसको आशंका गरेका थिए । तर, त्यसको रिर्पोट पनि नेगेटिभ आएको छ,’ एसपी अधिकारीले भने, ‘पीसीआरका लागि स्वाब संकलन गरेर पठाएका छौं । उनीहरुको कोरोनाबाट नभई मदिराका कारण मृत्यु भएको आशंका छ । पोस्टमार्टमको रिपोर्ट आएपछि कारण खुल्छ ।’

शनिबार औषधि लिएर चिकित्सकसहितको टोली दुवै बस्तीमा परिचालन गरिएको छ । शिक्षा तथा प्रविधि मन्त्री गिरिजामणि पोखरेलले शुक्रबार र शनिबार दुवै बस्तीको अवलोकन गरी त्यहाँको वस्तुस्थितीका बारे जानकारी लिएका छन् । लगालग ज्यान गुमाइरहेका बर्दिवासको अहिमान बस्ती मन्त्री पोखरेलकै निर्वाचन क्षेत्रमा पर्छ । ‘स्वास्थ्यकर्मीहरुले गाउँका सवै मानिसको जाँच गरिरहेका छन् । समस्या देखिनेलाई तुरुन्तै अस्पताल पुर्‍याइनेछ,’ भंगहा नगरपालिकाका प्रमुख साहले भने, ‘कोरोना भाइरसको लक्षण कसैमा देखिएको छैन ।’

पटक–पटक मृत्यु, छैन प्रहरीको सतर्कता

फागुनको अन्तिम साता धनुषाको रमदैयामा विषाक्त मदिरा सेवनले १५ जनाको मृत्यु भएको थियो । उक्त बस्तीमा पहिलो दिन ११ र दोस्रो दिन चार जनाको मदिरा सेवनले मृत्यु भएको थियो । त्यसअघि, गत असारमै धनुषाको पूर्वोत्तर कमला नगरपालिका–५, लक्करमा पनि विषाक्त मदिरा सेवनले नै चार जनाको ज्यान लिएको थियो ।

अखाद्य वस्तु मिसाएर बनाइने मदिराले केही महिनाको फरकमा प्रदेशका विभिन्न स्थानमा दर्जनौं मानिसको मृत्यु हुँदा पनि घरेलु मदिराको उत्पादन, बिक्री–वितरण र सेवन रोकिएको छैन । घटना हुँदा कडाइ गरेजस्तो गर्ने प्रहरीले घटना सामसुम भएलगत्तै घरेलु मदिरालक्षित अभियान सेलाउँछ । महोत्तरीको पछिल्लो घटनाबाहेक धनुषाको रमदैया र लक्करमा घरेलु मदिरा सेवनले मानिसहरुको मृत्यु भएपछि प्रदेशसभाको बैठकमा सांसदहरुले यसको नियन्त्रणमा गम्भीर बन्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

घरेलु ब्रान्डका मदिरा उत्पादन गर्न नपाइने कानुनी व्यवस्था हुँदा पनि यस्ता उत्पादन बस्ती र पसलमा छ्याप्पछ्याप्ती पाइन्छ । खुलेयाम मदिरा उत्पादन र बिक्री हुन्छ । प्रहरीले भने उत्पादन र बिक्रीमा कडाइ गरिएको दाबी गर्दै आएको छ । प्रहरीले दिनदिनै घरेलु रक्सी भट्टीहरु भत्काउने, त्यस्ता उत्पादित मदिरा नस्ट गर्ने र उत्पादन गर्नेलाई आन्तरिक राजस्व कार्यालयमा पठाई कानुनी दायरामा ल्याएको बताए पनि यसको कारोबार रोकिएको छैन ।

कतिपय ठाउँमा प्रहरीकै ‘सेटिङ’ मा घरेलु मदिरा उत्पादन हुने गरेको स्थानीयको दाबी छ । दुधिया, सौंफी, सुन्तला, आम्बा, महुवा, स्याउ, ल्वाङ, इलाइँची, खैरलगायत फ्लेवरका घरेलु मदिरा उत्पादन भई बजारमा बिना रोकतोक बिक्री भइरहेको छ । चाँडै तयार गर्न र नशालु बनाउन घरेलु मदिरामा सख्खरसँगै युरिया मल मिसाइन्छ ।

चिकित्सकहरुका अनुसार शरीरका भित्री संवेदनशील अंगहरुमा घरेलु मदिराले चाँडै असर गर्छ । यस्तो मदिराको गुणस्तर जाँच भएको हुँदैन । ‘यस्ता मदिराले मृगौलालाई छिट्टो नोक्सान गर्छ । त्यसैले यस्ता मदिरा पिउनु हुँदैन्,’ नेसनल मडिकल कलेज, वीरगन्जका डा. उमेश सर्राफले भने, ‘यो मदिराले जति छिट्टो नशा पैदा गर्छ, त्यतिनै छिट्टो शरीरमा नोक्सानी पुर्‍याउँछ ।’

प्रकाशित : वैशाख २०, २०७७ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?