‘ओलीको पक्षमा दस्तखत नगरे जे पनि हुन्छ भनियो’- समाचार - कान्तिपुर समाचार

‘ओलीको पक्षमा दस्तखत नगरे जे पनि हुन्छ भनियो’

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा सदस्य शारदा भट्टले आफूलाई प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर गर्न र नगरे जे पनि हुन सक्ने भन्दै दबाब आएको बताएकी छिन् । नेकपामा प्रधानमन्त्री र प्रधानमन्त्री इतरका समूहबीच संसदीय दलमा बहुमत पुर्‍याउने रस्साकस्सी चलिरहेको छ ।

त्यही मेसोमा केन्द्रीय सदस्य गौरीकुमारी ओलीले आफूलाई प्रधानमन्त्रीका पक्षमा हस्ताक्षर गर्न बालुवाटार जानुपर्ने र नगए नराम्रो हुने भनेर धम्की दिएको भट्टले कान्तिपुरसित बताइ्न ।

‘मलाई शुक्रबार दिउँसो ४ बजेर ४ मिनेट जाँदा गौरी ओलीले फोन गर्नुभयो, प्रधानमन्त्रीको पक्षमा दस्तखत गर्न बालुवाटार जानुस भन्नुभयो, मैले मलाई गुट उपगुटको फोहोरी खेल मन पर्दैन कतै पनि जान्न भनें,’ भट्टले भनिन,‘त्यसपछि उहाँले प्रधानमन्त्रीसित टक्कर लिन गाह्रै पर्ला दिदी, भोलिको दिनमा जे पनि हुन सक्छ सम्हालिएर बस्नुस् भनिन ।’

७० वर्षीया भट्ट गत माघमा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएर आएकी हुन् । कैलालीकी भट्टले ५३ वर्ष एमालेका विभिन्न संगठनमा रहेर काम गरिसकेकी छिन् । ‘गौरीले मलाई मैले नै तपाईंलाई राष्ट्रियसभा सदस्य बनाएको हो, मैले भनेको मान्नुभएन भने नेपालमा जे पनि हुन सक्छ भनेर धम्क्याइन ।’ भट्टले कान्तिपुरसँग भनिन् । डोटीकी ओली प्रधानमन्त्री केपी शर्मा ओली पक्षकी मानिन्छिन् भने, भट्ट कुनै पनि गुटमा खुलेर लागेकी छैनन् ।

केन्द्रीय सदस्य ओलीले भने आफूले भट्टलाई हस्ताक्षर गर्न आग्रह मात्रै गरेको र कुनै धम्की नदिएको बताएकी छिन् । ‘मैले शारदा दिदीलाई फोन गरेकी थिएँ, देश बच्छ र स्थिरता आउँछ भने तपाईंले पनि सहयोग गर्नुस् भनेको हो,’ ओलीले कान्तिपुरसँग भनिन्,‘उहाँले जो आए पनि सबै उस्तै हुन म हस्ताक्षर गर्दिन, मेरो भोटको महत्व पनि छैन भन्नुभएको थियो, पछि कुरा बढाइचढाइ गरेर आएछ ।’ ओलीले भट्टलाई अरुले उचालेर त्यसो गर्न लगाएको हुन सक्ने बताइन ।

प्रकाशित : वैशाख २०, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

सिनेमामा चौतर्फी स‌ंकट

१५ हजार कामविहीन, प्राविधिकलाई दैनिक गुजारामै समस्या, हललाई करोडौं नोक्सान 

काठमाडौँ — आजकल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको मोबाइलको घन्टी बजेको–बज्यै गर्छ । फिल्म सुटिङका दौरान तल्लो तहमा बसेर काम गर्ने प्राविधिक लामासँग बिन्ती बिसाउँछन्, ‘सर, खाने र कोठा भाडा तिर्ने पैसा पनि छैन । भोकै मरिएला भन्ने डर भो । संघबाट केही सहयोग पाइएला ?’

लामाका अनुसार नेपाली फिल्मबाट करिब ३ हजार ५ सय प्राविधिकको रोजीरोटी चलिरहेको छ । तीमध्ये अधिकांश स्पट ब्वाई, लाइटम्यान, क्ल्याप ब्वाई आदि छन् । जसले सुटिङ हुँदा दैनिक औसत ८ सय कमाउँछन् । लकडाउन लम्बिँदै गएपछि तिनलाई दैनिक गुजारामै संकट परेको छ । संघले २ सय ३० प्राविधिकलाई राहत सामग्री बाँडेको लामाले जानकारी दिए । ‘तर, यो हात्तीको मुखमा जिराजस्तै हो । प्राविधिकको बिचल्ली होलाजस्तो छ,’ उनले दुखेसो पोखे ।

...

सन्तोष सेनले ‘प्रेमगीत ३’ को सुटिङमा मात्र ४ करोड रुपैयाँ खर्चिए । ओभरसिज राइट बिकिसकेको र देशभित्र पनि फिल्मले चर्चा बटुलिरहेकाले लगानी उठ्नेमा सेन आशावादी थिए । नयाँ वर्षको मौका छोपेर चैत २८ गते रिलिज गर्दै थिए । प्रचारप्रचार सुरु हुँदै गर्दा कोभिड–१९ को त्रासका कारण सरकारले चैत ११ गते देशव्यापी लकडाउन घोषणा गर्‍यो । कहिले खुल्छ, टुंगो छैन । रिलिज अनिश्चय हुँदै जाँदा ब्याज थपिएको थपियै छ । अब प्रमोसनको खर्च अझ दोब्बर लाग्नेछ । निर्देशकसमेत रहेका सेनले दुःखी हुँदै सुनाए, ‘दर्शकले फिल्मबारे बिर्सिसकेका हुन्छन्, त्यसैले जोडतोडले प्रचार गर्नुपर्छ । सम्पादन पनि गर्न पाइएन, बजेट सम्झेरै डर लाग्छ ।’ विदेशमा चल्ने अवस्था नदेखिएकाले उनी थप आत्तिएका छन् ।

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन हो, क्यूएफएक्स । यसको देशभर १२ हलमा २७ पर्दा छन् । कर्मचारीको संख्या ५ सय छ । हल बन्द भएपछि कर्मचारीलाई तलब खुवाउन धौ–धौ परेको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन अडिगा बताउँछन् । ‘आधा तलब दिएर भए पनि जेठसम्म तन्काउन खोज्दै छौं । बन्द भए पनि हलको भाडा, बत्ती र बैंकको ब्याज तिर्नु परिहाल्यो । कसरी टिक्ने, अन्योलको स्थिति छ,’ अडिगाले पीडा पोखे ।

फिल्म बनेर हलसम्म पुग्दा तीन चरण पार गर्नुपर्छ– निर्माण, वितरण र प्रदर्शन । निर्माण र प्रदर्शनमा सयौं जोडिएका हुन्छन् । फिल्मको व्यापारले सिर्जने अनौपचारिक रोजगारी त्यत्तिकै हुन्छ । कोरोना महाव्याधिले अन्य व्यवसायजस्तै फिल्म क्षेत्र पनि ठप्प छ । माथिका तीन दृष्टान्तबाट प्रस्ट हुन्छ, दैनिक केही सय कमाउने प्राविधिक, लाखौं लगानी गर्ने निर्मातादेखि करोडौं लगानी गर्ने हलवालासम्म थलिएका छन् । ज्यालादारीमा काम गर्नुपर्ने बाध्यता भएका प्राविधिकको अझ बेहाल छ । गिनेचुनेका कलाकार र निर्देशकसमेत चिन्तित छन् । ‘अहिले त कोरोनाबाट बच्नु नै ठूलो कुरा हो तर महामारी अन्त्यपछि पनि अन्य व्यापार/व्यवसायको तुलनामा फिल्म क्षेत्र तंग्रिन समय लाग्छ,’ निर्माता/कलाकार दीपकराज गिरीले भने ।

लकडाउन सुरु भएपछि चलचित्र विकास बोर्डले गरेको अध्ययनअनुसार नेपालको फिल्म क्षेत्रबाट १२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमा लेखक/कलाकारदेखि रिलिजको अघिल्लो दिन पोस्टर टाँस्नेसम्म पर्छन् । त्यस्तै, देशभर २ सय ५ सिनेमा पर्दा सञ्चालनमा छन् । एउटा पर्दा चलाउन औसत १५ कर्मचारीको आवश्यक पर्छ, यसअनुसार हलको कर्मचारीको संख्या ३ हजार ७५ छ । अहिले सबै कामविहीन छन् । सिनेमा क्षेत्रमा २ लाख ५० हजार मान्छेहरू आश्रित भएको चलचित्र निर्माता संघको दाबी छ ।

‘पहिलो त, कोरोनालाई पराजित गरेर दैनिक जीवन कहिले सामान्य हुन्छ भन्ने अन्योल कायमै छ । दोस्रो, अवस्था सामान्य भइसकेपछि फिल्मका प्राविधिक र कलाकारले काम पाइहाल्ने अवस्था हुन्न,’ वितरक तथा निर्माता करण श्रेष्ठ भन्छन्, ‘अहिलेसम्मकै हिसाब गर्ने हो भने पनि फिल्म क्षेत्र तीन वर्ष पछाडि धकेलिसक्यो । यो निराशाबाट उठ्न मुस्किल पर्छ ।’

संकटमाथि संकट

कोरोनाको कहर सुरु हुनुअगावै वर्ष २०७६ नेपाली फिल्मका लागि चरम निराशाजनक थियो । वैशाख १३ गते चलेको ‘कालो वर्ष’ देखि फागुन १६ गतेको ‘धूलो’ सम्म आइपुग्दा ५५ फिल्म प्रदर्शन भए । जसमध्ये ‘जात्रै जात्रा’, ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ मात्र सुपरहिट भए । २०७५ सालमा ९६ फिल्म रिलिज हुँदा आधा दर्जनले नाफा कमाएका थिए । यसरी हेर्दा गत वर्ष फिल्म संख्या मात्र होइन, व्यापार पनि स्वाट्टै ओरालो लाग्यो । पुसदेखि माघ तेस्रो सातासम्म त कुनै स्वदेशी फिल्म हलमा लागेनन् ।

र, पनि वर्षको अन्त्य सुखद हुने आशा गरेका थिए, फिल्मकर्मी र हल सञ्चालकले । विगतको तथ्यांक केलाउँदा मध्य फागुनदेखि वैशाखसम्म सिनेमा हलमा दर्शकको चाप बढ्छ । यो अवधिमा होली, शिवरात्रिजस्ता पर्व पर्छन्, एसईई सकिन्छ अनि नयाँ वर्षको रौनक सुरु हुन्छ । ‘दुई चौमासिकमा नोक्सान भए पनि अन्तिम चौमासिकले हललाई बचाउँछ भन्नेमा ढुक्क थियौं,’ क्यूएफएक्सका सीईओ अडिगा भन्छन्, ‘तर सिजनको मुखमै कोरोना आइपुग्यो । त्यसपछि त बिजोग भइहाल्यो ।’

क्यूएफएक्सले पछिल्लो चार महिनामा भक्तपुर, विराटनगर र बुटवलमा शाखा विस्तार गरेको थियो ।

राजधानीको वान सिनेमाज, आईएनआई सिनेमाज अनि बागलुङको बीएसआर मुभिज पनि नयाँ मल्टिप्लेक्स हुन् । हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार सुविधा सम्पन्न मल्टिप्लेक्स खोल्न कम्तीमा ६ करोड लाग्छ । यो विपद्ले नयाँ हललाई अझ समस्यामा पारिदिएको छ । प्रधान भन्छन्, ‘मोफसलमा मल्टिप्लेक्स बढ्दै थिए, दर्शकहरू तान्दै थिए तर कोरोनाले बर्बाद बनायो ।’ त्यसो त ठूलो लगानीको मल्टिप्लेक्समात्र होइन, पहिल्यैबाट चल्दै आएका स्थापित सिंगल थिएटरसमेत मर्कामा परेका छन् । चाबहिलस्थित गोपीकृष्ण हल एउटा उदाहरण हो ।

गोपीकृष्णका म्यानेजर प्रदीप दाहालका अनुसार यहाँका सात पर्दामा २८ सय सिट क्षमता छ । सबै पर्दा हाउसफुल हुँदा एकै दिन ७ लाख रुपैयाँसम्मको व्यापार हुन्छ । प्रायः डेढ लाखको व्यापार घट्दैन तर कोरोनाको महामारी पहिल्यै हलमा सुस्तता छाएको थियो । कतिसम्म भने ठूलै हल्लाखल्ला भएको टाइगर श्राफ अभिनीत हिन्दी फिल्म ‘बागी ३’ समेत अपेक्षाअनुसार चलेन । दाहालका अनुसार कोरोनाको त्रास सुरु हुनासाथ व्यापार दैनिक २५ हजारमा झरेको थियो । सरकारले लकडाउनभन्दा पाँच दिनअगावै अर्थात् चैत ६ गतेबाटै हल बन्द गरेको थियो ।

गोपीकृष्णका ७० कर्मचारीको तलबमा मात्र मासिक १५ लाख खर्च हुने दाहालले जानकारी दिए । दैनिक ५० हजार बैंकमा ब्याज बुझाउनुपर्छ । बत्ती र अन्य खर्चमै लकडाउनको एक महिनामा तीन लाख सकियो । ‘हामीलाई एक महिनामा घटीमा ३५ लाख रुपैयाँ घाटा हुन्छ । अब २–३ वर्ष नाफाको आसै नराखे हुन्छ,’ दाहाल भन्छन्, ‘हामी कुहिरोमा हराएको कागजस्तै भएका छौं । कसरी अगाडि बढ्ने सोच्नै सकेका छैनौं ।’ उनले हलको निरन्तरतामाथि नै प्रश्न उठिरहेको समेत बताए । झन् राजधानीबाहिरका साना हलको हविगत के होला ?

आर्थिक कोणबाट नियाल्दा कोरोनाले फिल्मका विविध पाटोमध्ये प्रदर्शनमा अधिक नोक्सान पुगेकोमा सन्देह छैन । चलचित्र संघले देशभरका हल सञ्चालकसँग नियमित छलफल गरे पनि अहिलेसम्मको घाटाको हिसाब नगरेको संघका अध्यक्ष प्रधानले जानकारी दिए । भन्छन्, ‘ठ्याक्कै हिसाब गरेका छैनौं तर पहिलेको कारोबारका आधारमा पनि देशभरका हलले करोडौं नोक्सान बेहोर्नुपरेको अनुमान लगाउन सकिन्छ ।’

चिन्ता लकडाउन अवधिको मात्र होइन, भोलि सरकारले हल खोल्ने निर्णय गरेपछि पनि नयाँ फिल्म लाग्दैनन् र दर्शक हलमा आउँदैनन् भन्ने चिन्ताले हल सञ्चालकलाई सताइरहेको छ । जस्तो : २०७२ को भूकम्पपछि हलमा दर्शकको आगमन पहिलेकै हाराहारीमा पुग्न एक वर्ष लागेको थियो । ठूला फिल्म चलाउन निर्माताले आनाकानी गरेका थिए । क्यूएफएक्सका सीईओ अडिगा भन्छन्, ‘कोरोनाको त्रास भूकम्पको भन्दा ज्यादा छ । त्यसैले पुरानै अवस्थामा फर्किन अझ लामो समय लाग्न सक्छ ।’

चलचित्र संघले हल खुल्यो भने पनि पहिलेझैं सबै सिटमा दर्शक नराख्ने जनाएको छ । ४ सय सिट छ भने २ सय मात्र राखेर दर्शकलाई सुरक्षित महसुस गराएर हलमा आकर्षित गर्ने तयारी रहेको प्रधानले जानकारी दिए । सेनिटाइजर, मास्क र छिनछिनमा स्प्रेको व्यवस्था मिलाइनेछ । प्रधान भन्छन्, ‘जेठ लागेपछि लकडाउन खुला भनेर आशा राखौंला तर त्यसपछि वर्षायाम सुरु हुन्छ । पानी परेपछि हलमा दर्शकको खडेरी लाग्छ ।’


न फिल्म चल्ने टुंगो, न बन्ने

कोरोनाको पिरलो नहुँदो हो त ‘म यस्तो गीत गाउँछु २’ रिलिज भइसक्थ्यो, ‘२ नम्बरी’ को सुटिङ सकिन्थ्यो अनि ‘बेन्जो’ को धमाधम छायांकन भइरहेको हुन्थ्यो तर अहिले तीनै फिल्म थन्किएका छन् ।

अभिनेत्री/निर्माता पूजा शर्माका अनुुसार २ करोड ८० लाख लगानीमा बनेको ‘म यस्तो गीत गाउँछु २’ को प्रमोसनमा २० लाख खर्च भइसकेको थियो, पोस्टर/पम्प्लेट छापिसकेको थियो । तर, पूर्वनिर्धारित मिति फागुन ३० मा फिल्म चल्न सकेन । प्रमोसनको खर्च बालुवामा पानीजस्तै भयो । अब चलाउँदा प्रमोसनमा त्यति नै खर्च हुन्छ । रिलिज समयमा नहुँदा लगानीको भार बढेको बढ्यै छ । यस्तै हविगत छ, बनेर चल्न तम्तयार झन्डै दुई

दर्जन फिल्मको । ‘हिजो आजको कुरा’, ‘लक्का–जवान’, ‘सुस्केरा’, ‘चपली हाइट ३’ केही उदाहरण हुन् ।

दीपेन्द्र लामा निर्देशित ‘२ नम्बरी’ को २५ प्रतिशत छायांकन सकिएपछि रोक्नुपर्‍यो । ४० लाख रुपैयाँ खर्च भइसकेको लामाले जानकारी दिए । लकडाउन खुल्यो भने पनि प्राविधिक र कलाकार जम्मा पार्न र मनोवैज्ञानिक रूपमा तयार हुन अर्को दुई साता लाग्छ । उसै पनि पानी पर्ने सिजन सुटिङका लागि उपयुक्त हुन्न । एक दिन सुटिङ लम्बिनु भनेको निर्माताको डेढ लाख बजेट बढ्नु हो । लामा भन्छन्, ‘यसरी हेर्दा अब लकडाउन खुलिहाल्यो भने पनि भदौ नलागी फ्लोरमा जाने अवस्था छैन ।’

‘परदेशी २’, ‘ए मेरो हजुर ४’, ‘गुञ्जन’, ‘देशान’ लगायत फिल्मको पनि सुटिङ पूरा हुन पाएन । एक सेड्युलमै सुटिङ नसकिँदा बजेट बढ्ने मात्र होइन, मौसममा बदलाव आउने भएकाले फिल्मको ‘कन्टिन्युटी जर्क’ हुने चिन्ता हुन्छ । त्यस्तै, वर्षा सुरु हुनुअगावै सुटिङ सक्ने योजना बनाएका ‘छक्का–पञ्जा ४’, ‘नाइँ नभन्नु ल ६’, ‘मन परेसी’, ‘प्रेमपूजा’ लगायत फिल्म त फ्लोरमै जान पाएनन् ।

निर्माता, निर्देशक तथा वितरण कम्पनी स्टेसन फाइभका सीईओ प्रचण्डमान श्रेष्ठ भन्छन्, ‘चार वटा फिल्म बनेन भने एक वर्षमा घटीमा सय जना प्रत्यक्ष रूपमा बेरोजगार हुन्छन् । अनौपचारिक रोजगारी त कति गुम्छ, गुम्छ ।’ प्राविधिक संघका अध्यक्ष लामा यसैमा थप्छन्, ‘अघिल्लो वर्ष फिल्म कम बन्दा २० प्रतिशत प्राविधिकले काम पाएका थिएनन् । अब लकडाउन खुल्यो भने ८० प्रतिशतले काम पाउँदैनन् ।’

उनले तल्लो तहका प्राविधिकसँग सरकारले लिने १५ प्रतिशत कर छुट गरिदिन आग्रह गरे । ‘तीन महिनामा बल्ल–तल्ल एक महिनाका लागि दिनको आठ सय कमाउँछन्, त्यही पनि १५ प्रतिशत कर काटिन्छ । यो त अन्याय भएन र ?’ लामाले दुखेसो पोखे ।

निर्माता संघले लकडाउनयताको बैंक तथा वित्तीय संस्थासँग लिएको ऋणको ब्याजमा ७५ प्रतिशत छुट गरिदिन सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीका अनुसार अर्थ मन्त्रालयसमक्ष पुरानै धितोमा २० प्रतिशत थप ऋण पाउनुपर्ने, ब्याज सुलभ हुनुपर्ने, ब्याज तिर्ने समयसीमा पुस मसान्तसम्म हुनुपर्नेलगायत माग राखिएको छ । ‘फिल्म क्षेत्रले राज्यलाई गरेको योगदानको कदर गर्दै अहिले संकटका बेला राज्यले फिल्म क्षेत्रलाई हेर्नुपर्छ । नत्र फिल्म उद्योग झन् धराशायी बन्छ,’ उनले भने ।

डिजिटल बजारले उकास्ला ?

अक्षय कुमारको प्रतीक्षित फिल्म ‘लक्ष्मी बम’ सिनेमा हलमा नचल्ने लगभग पक्का भएको छ । यो फिल्म अब घरमै बसेर हेर्न पाइने भएको छ, स्ट्रिमिङ साइट डिज्ने प्लस हटस्टारमा । कोरोनाका कारण हल खुल्ने टुंगो नभएपछि निर्माण कम्पनीले ‘होल्ड’ गरेर बजेट बढाउन चाहेन, बरु हटस्टारलाई बेच्दा फाइदा देख्यो । बलिउडका अरू धेरै फिल्म यसैगरी ओभर–द–टप (ओटीटी) भनिने अनलाइन प्लेटफर्ममा उपलब्ध हुँदै छन् । हलिउडले यसअघि नै यही बाटो पछ्याइसकेको छ । तर, हामीकहाँ तत्कालका लागि यो विकल्प पनि देखिन्न । किनभने न विदेशी स्ट्रिमिङ साइटले नेपाली फिल्म किन्छन्, न नेपाली एप्सहरूले ठूलो बजेटको फिल्म किन्न सक्ने अवस्था छ ।

भारतमा इरोस नाउ, बिगफलेक्स, जीओ टीभी, जी फाइभजस्ता प्लेटफर्म छन्, जसले आफैं भिडियो कन्टेन्ट उत्पादनसमेत गर्छन् । आफ्नो प्रभाव विस्तारका लागि यी साइटले हलमा नचलेका फिल्म ठूलो मूल्यमा किन्न सक्छन् । नेटफ्लेक्स र अमेजन प्राइम त संसारभर पुगिसके । पछिल्लो एक महिनामा मात्र नेटफ्लेक्समा डेढ करोड ग्राहक थपिए । त्यसैले यसले हिन्दी र अंग्रेजी फिल्ममा ठूलो लगानी गर्न सक्छ । नेपालमा पनि यही प्रकृतिका प्लेटफर्म नभएका होइनन् । फोपी, आइफ्लेक्स, नेपालफ्लेक्स आदि छन् । तर, न दर्शक अभ्यस्त छन्, न यिनले प्रिमियम कन्टेन्ट उपलब्ध गराउन सकेका छन् । युट्युबको आम्दानी न्यून हुन्छ ।

बरु हलमा हिट भएका फिल्मले डिसहोमबाट २५ लाखसम्म कमाएको निर्माता दीपकराज गिरी बताउँछन् । तीन वर्ष अगाडि रेखा थापाले हल र डिसहोममा एकसाथ ‘रुद्रप्रिया’ चलाएकी थिइन् तर उपलब्धिमूलक हुन सकेन । त्यसपछि अरू निर्माताले त्यो बाटो रोज्दै रोजेनन् । सुरुमै डिसहोममा देखाए हलमा नचलाउने हल सञ्चालकको ‘धम्की’ ले निर्माता हतोत्साहित भए ।

त्यसो त, सुस्त गतिमै सही, नेपाली फिल्मले डिजिटल बजारलाई अँगालिरहेका थिए । कोरोनाले डिजिटल माध्यमको प्रभावकारितालाई थप बुलन्द बनाएको छ । ‘नयाँ प्लेटफर्मतिर फिल्म क्षेत्र जाने नै थियो । कोरोनाले त्यो प्रक्रियालाई एक वर्षअघि सारिदियो, आयको स्रोत बढ्नु सुखद हो,’ स्टेसन फाइभका श्रेष्ठ भन्छन्, ‘तर यसो भन्दैमा हलको व्यापार डुबिहाल्छ भन्ने होइन । हलको आकर्षण बेग्लै छ ।’ दीपकराज गिरीले डिसहोम वा अरू कुनै प्लेटफर्मसँगको सहकार्यमा वेबसिरिज बनाउनेबारे पनि गृहकार्य गरिरहेको बताए ।

ओभरसिज पनि ध्वस्त

नेपालपछि नेपाली डायस्पोरा नेपाली फिल्मको कमाइको केन्द्र हो । भूकम्पलगत्तै ओभरसिजले नेपाली फिल्मलाई भरथेग गरेको थियो । तर, अहिलेका लागि त्यो आशा पनि छैन । बरु नेपाली फिल्मले मनग्ये कमाउने देशहरू कोरोनाबाट नेपालभन्दा कैयौं गुणा थलिएका छन् । निर्माता/कलाकार गिरी भन्छन्, ‘धेरै नेपालीलाई विदेशमा टिक्नै संकट पर्छ, काम गुमाएका हुन्छन्, त्यस्तो बेला फिल्ममा कसले पैसा खर्च गर्छ ? डायस्पोराको बजारबाट एक–डेढ वर्ष आसै नराखे हुन्छ ।’

नेपाली फिल्मको सबैभन्दा धेरै माग हुने देश हो, अस्ट्रेलिया । ‘जात्रै जात्रा’ का निर्माताले अस्ट्रेलियाबाट मात्र झन्डै एक करोड पाएका थिए । नेपालमा हल्काफुल्का चलेका फिल्मले पनि अस्ट्रेलियाबाट ५–७ लाख पाएको बताइन्छ । अमेरिका, जापान, कोरिया, बेलायत, हङकङलगायतका मुलुकमा नियमितजस्तो नेपाली फिल्म चल्ने गर्छन् । तर, यी सबै देश कोरोनाले थिलथिलो भएका छन् ।

ती देशलाई सामान्य अवस्थामा फर्कन नेपाललाई भन्दा धेरै समय लाग्नेछ । यही कारण हुनुपर्छ, ओभरसिज राइट बिकिसकेका फिल्मको समेत सम्झौता रद्द हुने क्रममा छ । पहिलो मारमा प्रदर्शन उन्मुख फिल्महरू पर्नेछन् । निर्माता सेन भन्छन्, ‘ठूलो बजेटको फिल्मलाई डायस्पोराले नै बचाउने हो, यहाँबाट मात्र लगानी उठ्दैन । अब त चौपट हुने भयो ।’

अनि, उज्यालो पनि...

लकडाउन लम्बिँदै गएपछि नाम चलेका फिल्मकर्मीहरूसमेत सामाजिक सञ्जालमा निराशा व्यक्त गरिरहेका छन् । सार एउटै हुन्छ, ‘सिने उद्योग ध्वस्त हुने भयो ।’ के साँच्चै, कोरोना हरेक कोणमा सिनेमा क्षेत्रका लागि अभिसाप नै बनेको हो त ? नेपाली फिल्मको बजारबारे जानकार मानिने स्टेसन फाइभका सीईओ श्रेष्ठको मत फरक छ । भन्छन्, ‘नोक्सान पक्कै भएको छ तर भविष्य पूरै अन्धकार छ भन्ने मलाई लाग्दैन ।’ यसको कारण पनि छ उनीसँग ।

लकडाउनमा खाने, बस्ने, सुत्नेबाहेक मान्छेहरूले सबैभन्दा धेरै समय केमा खर्चिएका छन् ? सम्भवतः फिल्म हेर्न हुनुपर्छ । कहिल्यै फिल्मबारे टीकाटिप्पणी नगर्नेहरूसमेत ‘फलानो फिल्म हेरें, यस्तो लाग्यो, अब कुन हेरौं’ भनेर फेसबुकमा लेख्न थालेका छन् । हलमा जान नपाए पनि टेलिभिजन, युट्युब, नेटफ्लेक्सदेखि टोरेन्टबाट डाउनलोड गरेर फिल्म हेर्ने क्रम बढेको छ । यसले हामीकहाँ फिल्मप्रतिको लगाव बढाउन भूमिका खेल्ने श्रेष्ठको ठम्याइ छ । ‘मनोरञ्जनको आवश्यकता कहिल्यै सकिँदैन,’ श्रेष्ठ भन्छन्, ‘संकटपछि त अझ बढ्छ । मरिलानु के रहेछ र भन्ने अवधारणाको विकास हुनु भनेको मनोरञ्जनको माग बढ्नु हो ।’

श्रेष्ठका अनुसार भूकम्पपछि हलमा दर्शकको आवागमन पुरानै अवस्थामा फर्कन एक वर्ष लाग्यो तर त्यसपछि भने तीव्र गतिमा दर्शकको संख्या बढ्यो । राजधानीबाहिर पनि सुविधा सम्पन्न मल्टिप्लेक्सहरू खुले । ‘हामीकहाँ अहिलेसम्म कोरोनाका कारण मानवीय क्षति भएको छैन, बरु मान्छेहरूले हलको माहोल मिस गरिरहेका हुन सक्छन्, त्यसैले हल खुलेपछि दर्शक बढ्न सक्छन्,’ उनले आशा व्यक्त गरे ।

फिल्मकर्मीका लागि संसारभरका सिनेमा हेरेर आत्मसमीक्षा गर्ने अवसर हो यो । त्यसो हुन सक्यो भने भोलि सिनेमाको रचनात्मक विकासमा योगदान पुग्न सक्छ । यो संकटले सिर्जनाका नयाँ पाटाहरू पटाक्षेप गर्न सक्छ । सोख र हावा तालमा फिल्म बनाउनेहरू निरुत्साहित हुन्छन् । श्रेष्ठ भन्छन्, ‘निर्माताका नाममा मुर्गा फसाउने संस्कृतिको अन्त्य भयो र फिल्ममेकिङमा गम्भीर भयौं भने पनि हाम्रा लागि ठूलो उपलब्धि हो । जति जे गरे पनि, फिल्म चल्न फिल्म नै राम्रो हुनुपर्छ ।’

प्रकाशित : वैशाख २०, २०७७ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×