ताप्लेजुङको फुङलिङ बजारमा फेरि आगलागी, ८ घर जले[अपडेट]- समाचार - कान्तिपुर समाचार

ताप्लेजुङको फुङलिङ बजारमा फेरि आगलागी, ८ घर जले[अपडेट]

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा फेरि आगलागीको श्रृङ्खला दोहोरिएको छ । शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ११ वटा पसल रहेको ८ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

निरौलाका अनुसार क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगलागी सुरु भएको दुई घण्टापछि राती १२ बजे आगो निभाइएको थियो ।

‘मान्छे नभएको खाली घरबाट आगलागी सुरुभयो भन्ने छ, कहाँ कसको बाट के कारणले आगलागी भयो यकिन छैन,’ निरौलाले भने, ‘सबै मान्छेहरु आत्तिइरहेकाले हामी तथ्यमा पुग्न सकिरहेका छैनौं ।’ आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए । दमकलबाट पटक/पटक पानी ओसारेर लगाइएको थियो । जस्तापाताका छाना भएको ठाउँबाट सुरु भएको आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्णरुपमा जलेको छ । चन्द्रप्रसाद निरौलाको घरमा पुगेपछि आगो नियन्त्रणमा आएको थियो । निरौलाको पाँच तले घरको आधा भाग जलेको छ । जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोका घर जलेका छन ।

यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यां अनुसार सबै आगलागी हिउँद याममै भएका हुन । प्रहरीको तथ्यांकअनुसार आगलागिबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरेन्द्र चोकको आगलागीमा भएको थियो । त्यतिबेला ४५ घर जल्दा ५१ करोडभन्दा बढीको क्षति भएको थियो ।

२०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले, ४१ करोडभन्दा बढीको क्षति भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघले जनाएको छ ।

वीरेन्द्रचोकको आगलागी टुकी बत्तीबाट भएको थियो । तोक्मेमा होटलमा रक्सी झान्दा आगलागी सु्र भएको थियो भने टुक्रेमा रोटी पकाउदा र शेर्पाटोलमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

प्रकाशित : वैशाख २०, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्

चीनमा विद्यार्थी र कर्मचारीको दैनिक परीक्षण

(एएफपी)

बेइजिङ — चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरूमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ । हरेक दिन पढ्न जाने विद्यार्थी र सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको छ । हरेक दिन विद्यालय पुगेका विद्यार्थीहरू यो परीक्षणका लागि लाम लागेर उभिएको देखिने गरेको छ ।

कक्षाकोठाभित्र छिर्नुअघि उनीहरूको स्वाब परीक्षण गरिन्छ । त्यसपछि उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि मात्र कक्षाकोठाभित्र छिर्न दिने गरिएको बताइएको छ । सांघाई र बेइजिङका विद्यालयहरू गत सातादेखि सञ्चालन गरिएको हो । भाइरसको संक्रमणसँगै बन्द विद्यालयमा हाल नियमित रूपमा पठनपाठन सुरु भएको जनाइएको छ ।

त्यसैगरी, सरकारी तथा निजी काममा रहेका कर्मचारीहरूको पनि स्वाब परीक्षण गरेरमात्र कार्यालयभित्र जान दिने गरिएको समाचारमा जनाइएको छ । त्यस्तै एक प्रान्तबाट अर्काेमा जान चाहने नागरिकले पनि परीक्षण नेगेटिभ आएपछि मात्र अनुमति पाउने गरेका छन् ।

बायोटेक कम्पनीहरूले भाइरसको परीक्षणसम्बन्धी किटहरू निकै ठूलो मात्रामा उत्पादन गर्ने गरेका पनि बताइएको छ । चीनका अधिकांश स्थानमा उच्च सतर्कताका साथ व्यवसाय तथा कार्यालयहरू विस्तारै खुला गर्न थालिएको छ ।

वुहानबाट गतवर्षको डिसेम्बरमा फैलिएको भाइरसका कारण चीनमा ४ हजार ५ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित : वैशाख १९, २०७७ २२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×