बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाको शव पोस्टमार्टम गर्न दाङ पुर्‍याइयो

नपड्किएको बम निस्क्रिय पारियो, अनुगमन गर्न प्रदेशमन्त्री घटनास्थलमा 
काशीराम डाँगी

रोल्पा — बाख्रा चराएर घर फर्किरहेका बेला बेवारिसे बम विस्फोट भई बिहीबार बेलुकी ज्यान गुमाएका त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका ४ बालबालिकाको शव उठाइएको छ । 

बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाको शव पोस्टमार्टम गर्न दाङ पुर्‍याइयो

पीडितलाई द्वन्द्वकालीन घटनासरह क्षतिपूर्ति दिलाउने सहमतिपछि शव उठाइएको हो । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले चारै बालबालिकाको शव पोस्टमार्टमका लागि दाङ पठाइएको बताए । ‘पीडितलाई सशस्त्र द्वन्द्वकालीन अवधिको समान क्षतिपूर्ति वा राहत दिने पहल गर्ने सहमति भएको छ’, अध्यक्ष वलीले भने । घटनास्थलमा फेला परेको बम सेनाले डिस्पोज गरेको उनले बताए ।

गाउँपालिकाले पीडितलाई सुरुमा क्रियाकर्म खर्च दिने घोषणा गरेको छ । अध्यक्ष वलीले थप राहतका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने योजना रहेको बताए ।

गैरीगाउँमा बिहीबार साँझ बम विस्फोट हुँदा एकै परिवारका २ सहित ४ बालबालिकाले ज्यान गुमाएका थिए । विस्फोटमा ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला केसी, १३ वर्षका नोखीराम डाँगी र १४ वर्षका गौरव नेपालीको घटनास्थलमै मृत्यु भएको थियो । विमला र विजय दिदीभाइ हुन् ।

घटनास्थललाई प्रहरीले अघिल्लो दिनबाट नियन्त्रणमा लिएको थियो । बिहीबार राति घटनास्थल पुगेको नेपाली सेनाको डिस्पोजल टोलीले शुक्रबार दिउँसो बम डिस्पोज गराएको छ । अघिल्लो रात पानी परेकाले र पीडितले क्षतिपूर्तिका लागि माग गरेकाले शव उठाउन ढिलो भएको थियो । घटनाको अनुसन्धान गर्न जिल्लास्थित प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु शुक्रबार बिहानै त्यहाँ पुगेका थिए ।

घटनास्थल पुगेका रोल्पाका प्रहरी प्रमुख प्रनाउ चित्रबहादुर गुरुङले भने, ‘गाउँ छेउको जंगलमा थप विस्फोटक पदार्थ भएकोबारे स्थानीयले गुनासो गरेका छन् । खोजी कार्य जारी छ ।’ उनले पीडितसँगको सहमतिपछि शवलाई पोस्टमार्टमका लागि दाङस्थित रापती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए ।

यसैबीच घटनास्थलको अनुगमन गर्न शुक्रबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र प्रदेश प्रहरी प्रमुख डिआईजी रविन्द्र धानुक रोल्पा आएका छन् ।

प्रकाशित : वैशाख १९, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?