कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

क्‍वारेन्टाइनको चिसो भुइँमा गर्भवती र सुत्केरी

प्लास्टर गरिएको चिसो कोठाको भुइँमा बस्नुपर्दा गर्भवती, सुत्केरी र ५ वर्षमुनिका दर्जनौं बालबालिका समस्यामा परेका छन् ।
गिरुप्रसाद भण्डारी

प्युठान — सरकारले लकडाउन गरेको चार सातापछि स्वर्गद्वारी नगरपालिका–२ खालका सयौं मजदुर घर फर्किए । भक्तपुरको इँटा उद्योगमा काम गरेर फर्किएका उनीहरुलाई स्थानीय विद्यालयमा राखिएको छ ।

क्‍वारेन्टाइनको चिसो भुइँमा गर्भवती र सुत्केरी

प्लास्टर गरिएको चिसो कोठाको भुइँमा ९ महिनाकी गर्भवतीसहित, एक महिनाकी सुत्केरीसमेत छन् । आमासँगै रहेका ५ वर्षमुनिका दर्जनौं बालबालिका चिसोले प्रभावित भएका छन् ।

वैशाख ९ गते काठमाडौं उपत्यकाबाट आएका उनीहरूले न्यूनतम मानवीय सुविधासमेत पाएका छैनन् । दैनिक २ सय ५० रुपैयाँ बराबरको बिहान-बेलुका खानाबाहेक सेवा नभएको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ ।

बाल माध्यमिक विद्यालय अडेबास र जनता प्राथामिक विद्यालय नोसमा १ सय ३२ जना मजदुरलाई राखिएको छ । १७ वर्षीया अमृता घर्ती एक महिनाकी छोरीसहित क्वारेन्टाइनमा छिन् । पानी परेर चिसो बढेकाले बच्चा स्याहार्न समस्या परेको उनको भनाइ छ । 'बच्चा सेक्ने आगो, न्यानो कपडा छैन । पोषिलो खाना पाइँदैन,' उनले भनिन्, 'सुत्केरीलाई पनि अरुसँगै राखिएको छ ।’ क्वारेन्टानमा बसेको ८ दिनको अवधिमा एक छाक मासु पनि नदिएको घर्तीले बताइन् ।


आठ महिनाअघि श्रीमान्‌सँगै इँटाभट्टामा काम गर्न गएकी ९ महिनाकी गर्भवती रुकमणि विक पनि फर्किएकी छन् । ‘यस्तो बेला पोषिलो खानेकुरा खानुपर्छ भन्छन् । हामीले दुई छाक रुखो खान्की मात्र पाएका छौं,' उनले भनिन् । आफूहरु इँटाभट्टामा काम गरेको ज्यालासमेत नबुझेर हतारमा आउनुपरेको उनले बताइन् । मालिकले सबै मजदुरलाई एकएक हजार रुपैयाँ बाटो खर्च दिएर पठाएका थिए ।

लकडाउनको समयमा पर्याप्त पोषणयुक्त खानेकुरा नभएपछि १४ दिनकी सुत्केरी मञ्जु घर्ती प्युठान आइन् । ऐरावती गाउँपालिका ३ पकला घर भएकी घर्तीसँगै श्रीमान् रमेश पनि थिए । प्युठान नगरपालिकाले आफ्ना नागरिक लिन पठाएको गाडीमा उनीहरु आएका थिए । पकला जान टाढा भएपछि उनीहरुले माइती मल्लरानी गाउँपालिका ३ चौरपानी जाने निर्णय गरे । उनीहरुलाई गाउँपालिकाले स्थानीय शारदा माविको क्वारेन्टाइनमा बसालेको छ ।

‘लकडाउनले गर्दा काठमाडौमा माछामासु,अण्डा किन्नसमेत समस्या भयो । सुत्केरीलाई पोषिलो खानेकुरा गाउँमा खुवाऊला भनेर ल्याएँ,’ रमेशले भने, ‘यता आएर क्वारेन्टाइनमा बस्नुपर्‍यो । बालक र आमाको स्याहार गर्न समस्या भएको छ ।’

यस्तै १० दिनअगाडि रातको समयमा श्रीमान्‌ले पिटेर रोल्पा रुम्टीगढी गाउँपालिकाका ५ को घरबाट निकाला गरेपछि माइत स्वर्गद्वारी २ धनबाङ आएकी २० वर्षीया विपना रोकामगर पनि ८ महिनाकी छोरीसँगै स्वर्गद्वारी २ को अडेबास विद्यालयको क्वारेन्टाइनमा छिन् । उनले पनि बच्चालाई चिसोबाट जोगाउन समस्या परेको गुनासो गरिन् । 'घरबाट श्रीमान्‌ले रातारात लखेटेर माइतमा आएँ,’ उनले भनिन्, ‘यता माइतीमा पनि बस्न पाइएन ।’


१४ दिनकी सुत्केरी मञ्जु घर्ती श्रीमान्‌सहित । उनीहरु पनि क्वारेन्टाइनमै बसेका छन् । तस्बिरः गिरुप्रसाद/कान्तिपुर

गाउँमा धेरै जना एकैपटक फर्केकाले व्यवस्थित क्वारेन्टाइन बनाएर बसाल्न नसकिएको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायाले बताए । उनले क्वारेन्टाइनको व्यवस्थापन गर्न वडाहरुलाई जिम्मेवारी तोकेको सुनाए ।

लकडाउनकै अवधिमा जिल्लाबाहिर रहेकाहरुलाई जिल्लामा ल्याउने भन्दै काठमाडौं बसेका नेता र केही स्थानीय तह प्रमुखहरुले एक हजारभन्दा बढीलाई जिल्लामा भित्र्याएका छन् । प्रहरीका अनुसार जिल्लामा शुक्रबारसम्म १ हजार ४ जना स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका छन् । सुत्केरी, गर्भवती र बालबालिका क्वारेन्टानमा बस्दा केही समस्या देखिएकाले सुधार गर्न अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए । गर्भवती महिलाको स्वास्थ्य जाँच गर्ने व्यवस्था क्वारेन्टाइनमै मिलाइएको उनले जानकारी दिए ।

प्रकाशित : वैशाख १९, २०७७ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?