हजारौंको खुसी फर्कियो, लाखौं पर्खाइमा

कोरोनाका कारण नेपाल र भारत दुवैतिर लकडाउन भएसँगै सीमापारिका क्वारेन्टाइनमा बस्न बाध्य करिब २६ सय नेपाली बिहीबार एकैदिन स्वदेश भित्रिएका छन् । भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका हजारौं नेपाली यसअघि नै फर्किसकेका छन् ।
भारत सरकारले प्रवासी मजदुरहरुलाई आउजाउमा खुला गरेसँगै त्यहाँ रहेका थप लाखौं नेपाली फर्कन पाउने दिनको पर्खाइमा छन् । तर उनीहरुका याचना सुन्ने र समस्या बुझ्नेतर्फ नेपाल सरकार बेखबर जस्तै छ ।

नयाँदिल्ली, दार्चुला, बैतडी — नेपाल र भारत दुवैतिर लकडाउन गरिएको पाँच सातापछि बिहीबार दार्चुला र बैतडीका सीमा नाकामा पहिलोपटक निकै चहलपहल देखियो । भारतको पिथौरागढ, धार्चुला र झुलाघाटका क्वारेन्टाइन तथा विभिन्न शिविरमा राखिएका नेपाली कामदारलाई बिहानैदेखि स्वदेश फर्काउन थालिएको थियो । महाकाली नदीमाथिको झोलुंगे पुल तरेर स्वदेश भित्रिँदा दार्चुला, बैतडीसहित १० जिल्लाका बासिन्दा निकै खुसी देखिन्थे ।

हजारौंको खुसी फर्कियो, लाखौं पर्खाइमा

‘बल्ल घर फर्कन पाउने भयौं,’ दसैंतिहार मनाएर मजदुरीका लागि अछामबाट भारत, पिथौरागढको नाचरी पुगेकी दीपा विकले दार्चुला भित्रिएपछि भनिन्, ‘धेरै खुसी लागेको छ ।’ उनीसँगै १३ जनाले धार्चुलाको जोलजिवीबाट १२ किलोमिटर टाढा ब्रह्मस्थित राहत शिविरमा ३४ दिन बिताएका थिए । बैतडीको पुर्चौडी नगरपालिका ४ का नरेन्द्र धामीको टोली बुधबार झुलाघाट नाकाबाट नेपाल भित्रियो । २० वर्षीय धामी ३ महिनाअघि रोजगारीका लागि पिथौरागढ गएका थिए । उनी त्यहाँ होटलमा काम गर्थे । ‘६/७ महिना काम गरेर ३०/४० हजार जोगाउन सकियो भने घरखर्च चलाउन सकिन्छ भनेर पिथौरागढ गएको हुँ,’ उनले भने, ‘तर समय सोचेजस्तो भएन । कोरोनाले गर्दा कमाउन पनि सकिएन, कमाएको जति जोगाएर समयमै घर फर्कन पनि पाइएन ।’ उनी घर आउन तयारी अवस्थामा थिए, त्यही बेला सीमाको पुल बन्द भयो । अनि उतै रोकिएको उनले बताए ।

रोजगारीका लागि भारतको डिडिहाट पुगेका कञ्चनपुर वेदकोट नगरपालिका ९, सुन्दरपुरका करनसिंह ठगुन्ना पनि बिहीबारै स्वदेश फर्किए । भारतको जौलजिवी क्वारेन्टाइनमा ३१ दिन बसेपछि आउन पाएको बताए । ‘चैत तेस्रो साता घर फर्कने योजनासहित डिडिहाट पुगेको थिएँ, लकडाउनका कारण फर्कन पाइएन, ढिलै भए पनि मातृभूमि टेक्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।

नाका बन्द भएपछि उतै अड्किएका दार्चुला, बैतडी, बझाङसहित १० जिल्लाका करिब २६ सय नेपालीलाई दार्चुला सदरमुकामको खलंगा र महाकाली नगरपालिका–९ दत्तु तथा बैतडीको झुलाघाट नाकाबाट बुधबार उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बैतडी र बझाङका नागरिकलाई दत्तु नाकाबाट र दार्चुलासहित अन्य जिल्लाका नेपालीलाई खलंगा नाकाबाट उद्धार गरिएको छ । गत चैत १३ गतेदेखि भारत, पिथौरागढस्थित धार्चुलाका पाँच क्वारेन्टाइनमा १ हजार ३९ जना बसेका थिए । पुल खुल्ने थाहा पाएपछि विभिन्न ठाउँमा अलपत्र परेका र चिनजानका मानिसका घरमा बसेकाहरू पनि स्वदेश फर्किएको हुनाले संख्या बढी देखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनका अनुसार खलंगाका नाकाबाट २ सय ८० जना क्वारेन्टाइनमा बसेका र ९६ जना बाहिर रहेका नेपाली फर्किएका छन् । दत्तु नाकाबाट ७ सय ५९ जना क्वारेन्टाइनमा बसेका र १ सय ६१ जना बाहिर बसोबास गरेका नेपाली आएका छन् ।

यस्तै भारतको पिथौरागढ जिल्लाका विभिन्न क्वारेन्टाइन र त्यहाँ अलपत्र परेका नागरिकलाई बिहीबार नेपाल–भारत सीमा नाका झुलाघाटबाट बैतडी ल्याइएको छ । क्वारेन्टाइनमा बसेका ६ सय जना र अन्य विभिन्न स्थानमा रहेकासमेत गरी १ हजार २ सय ९९ जनालाई ल्याइएको हो । झुलाघाट नाकाबाट भित्रिएका अधिकांश बैतडीका छन् । उनीहरूमध्ये केही बझाङ, कैलाली, अछाम, सुर्खेतलगायत जिल्लाका छन् । बैतडीको पुर्चाैडी नगरपालिकाका सबैभन्दा धेरै छन् ।

सीमा बन्द हुँदा एक महिना बढी समयदेखि भारतीय क्वारेन्टाइनमा बसेर बिहीबार दार्चुला नाकाबाट स्वदेश फर्किरहेका नेपालीहरू । तस्बिर : मनोज बडू/कान्तिपुर

दार्चुलाका बासिन्दालाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । सबैलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लागिएको छ । बैतडी र बझाङका जनप्रतिनिधि आफ्ना पालिकाका बासिन्दालाई लिन चार दिनदेखि दार्चुला आएर बसेका थिए । बैतडी र दार्चुला प्रशासनले सीमामा उनीहरूको स्वास्थ्य जाँच गरेर भित्र्याएका हुन् । भित्रिने सबैको नाम, ठेगाना, सम्पर्क नम्बरसहितको विवरण राखेर स्थानीय तहका क्वारेन्टाइनमा पठाइने दार्चुलाका प्रजिअ पौडेलले बताए ।

लामो क्वारेन्टाइन अवधि सकिए पनि उद्धार हुन नसकेका नेपालीलाई ल्याउने विषयमा बुधबार दुई देशका अधिकारीबीच सहमति भएपछि बिहीबार ९ बजेबाट उद्धार सुरु गरिएको हो । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि आरडीटी परीक्षण गरेर रिपोर्ट नेगेटिभ आए मात्रै घर पठाइने प्रशासन कार्यालयहरूले जनाएका छन् ।

दार्चुलाको खलंगा र दत्तु नाकाका दुवैतर्फ बिहानैदेखि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सीमा पुल खोल्न तयारी अवस्थामा बसेका थिए । खलंगा पुलबाट आएकाहरूलाई महेन्द्र नमुना मावि खलंगा र खुलामञ्चमा स्वास्थ्य जाँच गरी केहीलाई स्थानीय तहमा पठाइएको छ भने बाँकीलाई त्यहीं राखिएको महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले बताए । महाकाली नगरपालिकामा साढे ५ सय जनासम्म क्वारेन्टाइनमा राख्न सकिन्छ ।

दत्तुबाट बुधबारै १६ जना नेपाल प्रवेश गरेका थिए । मदकोटबाट चार दिन जंगलको बाटो हिँडेर दत्तु आइपुगेका उनीहरू बिहानै ट्युबबाट महाकाली तरेर आएका हुन् । मंगलबार पनि व्यास गाउँपालिका २, माल्पा क्षेत्रबाट ८ जना महाकाली तरेर नेपाल प्रवेश गरेका थिए । सबैलाई अहिले सदरमुकाममै क्वारेन्टाइनमा राखिएको छ । लकडाउनयता दार्चुलामा मात्रै ३ सय ४६ जना यसरी ज्यान जोखिममा राखेर स्वदेश फर्केका थिए ।

बैतडी झुलाघाटमा बिहानै साढे ७ बजेबाट उनीहरूलाई वारि ल्याउन थालिएको उद्धारका लागि सीमामा खटिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । उनका अनुसार धेरै संख्यामा नागरिक रहेको र स्वास्थ्य जाँच, दूरी कायम गरी ल्याउनुपर्ने भएकाले दिनभरि लागेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको टोली सीमामा पुगेको थियो । अन्य पालिकाका जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रलगायतका कर्मचारी पनि आफ्नो पालिकाका नागरिक जिम्मा लिन नाका पुगेका थिए ।

फर्कन चाहनेहरूबारे सरकार ‘बेखबर

रोजगारीका लागि दक्षिण भारतीय सहर बैंग्लोरमा चार वर्षदेखि बस्दै आएका बझाङ तलकोटका प्रेमकुमार विष्टका लागि गएको एक महिना जीवनकै कष्टकर समय रह्यो । भारत सरकारले गरेको लकडाउनका कारण एक महिनादेखि उनको परिवार एउटा साँघुरो कोठामा बन्धक जीवन बाँचिरहेका छन् ।

कोहलपुर, बैजनाथ गाउँपालिकाका शंकर कुँवरको अवस्था त झनै दयनीय छ । उनी करिब चार महिनाअघि अन्य पाँच जना साथीसँगै काम खोज्दै भारतको हिमाचलस्थित सिरमोर पुगेका थिए । ठेकेदारले कामको ज्याला नदिएर त्यसै पनि तनावमा रहेका कुँवरलाई लकडाउनले थप चिन्ता बढायो । न गाँसको ठेगान न बासको नै । यही बेला गाउँको दहमा डुबेर कान्छो छोराको मृत्यु भयो । परिवारले यति ठूलो चोट व्यहोर्दा पनि उनी सिरमोरमै रोकिएका छन् ।

लकडाउनका कारण विष्ट र कुँवरकै जस्तो पीडा खेपिरहेका नेपालीहरूको संख्या गनिसाध्य छैन । कतिलाई खानको अभाव छ भने कतिलाई बस्नको चरम समस्या । गर्भवती महिला र बालबालिकाहरूको दु:ख बेग्लै छ । बिरामी भएको खण्डमा उपचार नपाउने अवस्था छ । दिल्ली र आसपासको क्षेत्रमा मात्र दुई हजारभन्दा बढी परिवारले यही अवस्था भोग्नुपरेको छ भने दिल्लीबाहिरका मुम्बई, बैंग्लोर, सुरत, अहमदावाद, चेन्नईलगायतमा अलपत्र परेका नेपालीहरूको अवस्था पनि यस्तै छ ।

प्रवासी संगठनहरूका अनुसार भारतभर करिब पन्ध्र लाख नेपाली कामदार छन् । यहाँ अध्ययनरत नेपाली विद्यार्थी, तीर्थयात्रीदेखि औषधिमूलोका लागि आएका बिरामी र तिनका आफन्तहरूसमेत जोड्ने हो भने त्यो संख्या अझै माथि पुग्छ । भारतमा रहेका नेपाली कामदारहरूमध्ये बहुसंख्यक असंगठित क्षेत्रमै आबद्ध भएका कारण पछिल्लो परिस्थितिबाट उनीहरू पनि प्रत्यक्ष प्रभावित भएका छन् । धेरैले रोजगारी गुमाएका छन्, जसका कारण उनीहरूका सामु नेपाल फर्कनुको विकल्प छैन । त्यही भएर उनीहरू सबैजसो नेपाल फर्कने पाउने दिनको पर्खाइमा छन् । ‘जसरी हुन्छ नेपाल जान पाए हुन्थ्यो, बरु जति दिन क्वारेन्टाइनमा बस्नुपर्ने हो बस्ने थियौं,’ विष्टले भने ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावास फाइल तस्बिर : कान्तिपुर

विष्ट, कुँवरलगायतका हजारौं नेपालीहरूको यस्तो याचना सुन्ने र उनीहरूलाई नेपाल फर्काउने सम्बन्धमा काठमाडौंको ध्यान पुगेको देखिँदैन । न त दिल्लीस्थित नेपाली दूतावासलाई नै त्यससम्बन्धमा कुनै प्रस्ट निर्देशन दिइएको छ । भारतले लकडाउन क्रमश: खुकुलो बनाउँदै लगेको र देशका विभिन्न भागमा अलपत्र परेका प्रवासी मजदुरहरूका लागि आउजाउ खुला गरिसके पनि नेपाली दूतावास बेखबरझैं देखिन्छ । जब कि नेपाल सरकारले भारतमा कोरोना संक्रमणको अवस्था हेरेर मात्र सीमा सम्बन्धमा निर्णय लिने बताउँदै आएको छ । दूतावासले सम्पर्क आएका नेपालीहरूको अभिलेख राख्ने गरे पनि उनीहरूलाई नेपाल फर्काउने सम्बन्धमा नेपाल सरकारले नै निर्णय लिनुपर्ने जवाफ दिँदै आएको छ ।

‘उनीहरूलाई नेपाल लैजाने प्रबन्धको विषयमा काठमाडौंबाट अहिलेसम्म कुनै जानकारी आएको छैन,’ भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भने । उनले सीमा खुला भएपछि बिरामी, असक्त, महिलाहरूलाई घर फर्काउन प्राथमिकतामा राखिने जानकारी दिए । आचार्यले त्यस्तो भने पनि सीमा कहिलेदेखि खुल्छ भन्ने ठेगान छैन ।

भारतको गृह मन्त्रालयले बुधबारदेखि नै लकडाउनका कारण अलपत्र परेका प्रवासी कामदार, विद्यार्थी र पर्यटकहरूलाई एक राज्यबाट अर्को राज्य जान खुला गरिसकेको छ । लकडाउनले रोजगारी गुम्दा छाक टार्नसमेत कठिन बन्दै गएपछि हजारौं कामदारहरू पैदल नै आआफ्नो गाउँतर्फ जान बाध्य भएका छन् । कतिपयको त बाटोमै मृत्यु भइसकेको छ । यस्ता घटनाले भारत सरकारमाथि प्रवासी कामदारहरूको आउजाउ खुलाउन दबाब बढ्दै गएको थियो । गुजरात र महाराष्ट्रमा अलपत्र परेका उत्तरप्रदेश (यूपी) र बिहारबाट गएका कामदारहरूले आफ्नो गाउँ फर्कन पाउनुपर्ने भन्दै प्रदर्शनसमेत गर्दै आएका थिए । ती प्रदर्शनका क्रममा कतिपय ठाउँमा हिंसात्मक झडपसमेत भएको थियो । यही पृष्ठभूमिमा भारतको गृह मन्त्रालयले प्रवासी कामदारहरूको आउजाउ खुला गर्ने गरी आदेश जारी गरेको हो ।

भारतमा दोस्रो चरणको लकडाउन आगामी ३ मेमा सकिँदै छ । यूपी, मध्यप्रदेश, बिहार, महाराष्ट्र, हरियाणालगायत राज्यले सरकारको आदेश आउनुअघि नै विभिन्न ठाउँमा अलपत्र परेका कामदारहरूको नाम दर्ता सुरु गरिसकेका थिए । कतिपयले ओसार्नसमेत थालिसकेका छन् । उनीहरू सबैलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । प्रवासी कामदारहरूको आवागमनलाई ध्यानमा राख्दै भारत सरकारले रेल्वे सेवा पनि सुचारु गर्ने तयारी पनि थालेको छ । भारतमा सार्वजनिक यातायातमा रेलसेवा सबैभन्दा प्रभावकारी मानिन्छ । भारतले दोस्रो चरणको लकडाउनलगत्तै विदेशमा अलपत्र परेका भारतीयहरूलाई स्वदेश फर्काउनका लागि आवश्यक तयारीसमेत थालिसकेको छ । विशेषगरी खाडी राष्ट्रमा रहेका भारतीय कामदारहरूलाई फिर्ता ल्याउनका लागि तयारी सुरु गरिएको हो । विदेशबाट फर्कनेहरूका लागि केरलालगायत राज्यले विशेष किसिमको प्रोटोकल पनि बनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?