कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

‘आँगनमा पुग्यौं, घर पस्‍न पाएनौं’

गृह मन्त्रालयले स्वीकृति नदिँदा एक महिनाभन्दा बढी समयदेखि सीमापारिका क्वारेन्टाइनमा बिताएका १,५५१ नेपाली स्वदेश फर्किन पाएका छैनन् । उनीहरू भन्छन्, ‘आँगनमा पुगेर घरभित्र पस्न नपाएको जस्तो भएको छ ।’

कञ्चनपुर,बैतडी र दार्चुला — लकडाउन र सीमा सिल भएपछि नेपाल–भारत सीमा नाकामा आइपुगेका नेपालीहरू सीमापारि नै क्वारेन्टाइनमा बसेको एक महिनाभन्दा बढी भइसकेको छ । कञ्चनपुर, बैतडी र दार्चुला सीमापारि भारतीय क्वारेन्टाइनमा महिना दिनभन्दा बढी समय बिताइसक्दा पनि उनीहरू घर फर्कन पाएका छैनन् ।

‘आँगनमा पुग्यौं, घर पस्‍न पाएनौं’

लकडाउनपछि पनि मुलुकका विभिन्न सीमाबाट हजारौं कामदार स्वदेश भित्रिए । तर, सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरका डेढ हजारभन्दा बढी सीमापारि नै अलपत्र परे । भारतीय क्वारेन्टाइनमा बसिरहेका उनीहरू घर फर्कने टुंगो नहुँदा चिन्तित बनेका छन् । कञ्चनपुरसँग जोडिएका भारतीय क्षेत्र चम्पावत, टनकपुर, बनवासा र खटिमामा २ सय ५१ जना, बैतडीको सीमापारि झुलाघाटमा २ सय ४९ र दार्चुलापारिको धार्चुलामा १ हजार ५६ गरी १ हजार ५ सय ५१ नेपाली कामदार भारतीय क्वारेन्टाइनमा छन् ।

गृहको निर्देशनको पर्खाइ

सीमावर्ती क्वारेन्टाइनमा रहेकालाई स्वदेश फर्काउन पहल गरे पनि गृह मन्त्रालयको आदेश नआएका कारण प्रक्रियाअघि नबढेको स्थानीय प्रशासनको भनाइ छ । कञ्चनपुर प्रशासनले भारतीय सीमा क्षेत्रमा रहेका २ सय ५१ नेपालीलाई गत शनिबार ल्याउने तयारी गरे पनि गृहबाट स्वीकृति नआउँदा प्रक्रियाले गति नपाएको सहायक प्रमुख जिल्ला अधिकरी गोकर्णप्रसाद उपाध्यायले बताए । उनीहरूलाई भित्र्याउनका लागि दुई साताअघि नै मन्त्रालयमा पत्राचार गरिएको उनले बताए ।

‘हामीले मात्रै चाहेर ल्याउन सकिने अवस्था छैन । मन्त्रालयमा यसबारे जानकारी गराएका छौं,’ उपाध्यायले भने, ‘मन्त्रालयबाटै पहल भएमात्रै ल्याउन सकिन्छ ।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालयले नेपाली राखिएका क्वारेन्टाइनमा अनुगमन पनि गरेको छ । आदेश आउनेबित्तिकै उनीहरूलाई स्वदेश फर्काउन आफूहरू तयारी अवस्थामा रहेको उनले जनाए ।

सीमापारि रोकिएकालाई स्वदेश ल्याउनेबारे कुराकानी भइरहे पनि दुवै मुलुकको केन्द्रीय सरकारले अनुमति नदिएसम्म ल्याउन नसकिने दार्चुलाका प्रजिअ यदुनाथ पौडेलले स्पष्ट पारे । यसबारे भारतीय अधिकारीसँग पनि कुरा भइरहेको पौडेलको भनाइ छ ।

क्वारेन्टाइनमा फितलो व्यवस्थापन

भारतका विभिन्न स्थान तथा तेस्रो मुलुकबाट स्वदेश फर्किएकालाई दुई साता क्वारेन्टाइनमा राखेर घर पठाइएको छ । तर, सीमापारि क्वारेन्टाइनमा राखिएकाहरू एक महिना भइसक्दा पनि घर फर्किन पाएका छैनन् । क्वारेन्टाइनमा खानपिन र बसोबासलगायतमा समस्या भइरहेको उनीहरू बताउँछन् । उनीहरूले एउटै कोठामा कोचाकोच गरेर राखिएको र शौच गर्नसमेत लाइन लाग्नुपर्ने अवस्था रहेको गुनासो गरे ।

भारत उत्तराखण्डको पन्तनगरमा १४ दिन क्वारेन्टाइन बसेपछि घर आउन लागेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटेनाका अमर सिंहको परिवारलाई दुई साताअघि सीमाबाटै फर्काइयो । क्वारेन्टाइन बसेको प्रमाणपत्रसहित आएका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले छाडे पनि नेपालतर्फ प्रवेश दिइएन । उनीहरू पुन: भारततर्फ गएर बसेका छन् । उनीहरू पन्तनगरबाट हिँडेरै ब्रह्मदेवनजिकैको टनकपुर पुगेका थिए ।

आफूहरूको कसैले वास्ता नगरेकाले शिविर (क्वारेन्टाइन) मै अलपत्र परेको झुलाघाटमा बसिरहेका बैतडीको पुर्चौडी नगरपालिका–९, मल्लादेहीका वीरेन्द्र पाठकले बताए । ‘धेरै जना एकै कोठामा कोचिएर बसेका छौं,’ उनले भने, ‘यस्तो दु:खकष्टका बेला पनि आफूहरूलाई घर फर्काउन कसैबाट पहल भएन ।’ कोरोना संक्रमणभन्दा गर्मीमा सबैजना एकै ठाउँमा भएकाले अरू रोगले समात्ने चिन्ता रहेको उनले दुखेसो पोखे । ‘कमाएर घर खर्च चलाउँला भनेर भारत पसेका थियौं,’ पाठकले भने, ‘हामी यता अलपत्र पर्‍यौं । घरपरिवार गाउँमा बिचल्लीमा छन् ।’

भारतका विभिन्न क्षेत्रमा मजदुरी गर्न गएका सयौं नेपाली ३६ दिनदेखि दार्चुलाको सीमावर्ती क्षेत्र धार्चुलाका पाँचवटा राहत शिविरमा स्वदेश आउने प्रतीक्षामा छन् । ‘सीमानजिकै आइपुगेर स्वदेश टेक्न नपाउँदा हामीलाई आँगनमा पुगेर घरभित्र पस्न नपाएको जस्तो भएको छ,’ पुर्चौडी नगरपालिकाका दिनेश बोहराले भने, ‘मजदुरी गरेर जीवन गुजारिरहेका हामीलाई राज्यले नहेरेको जस्तो भएको छ । देश आउन पाऊँ भनेर गुहार गरिरहेका छौं । कसैले सुनेको देखिएन ।’

भीडभाडमा एक महिना बढी हुँदा स्वस्थ मानिस पनि बिरामीजस्तो भएको बोहराले बताए । ‘अर्काको मुलुकमा कैदीबन्दी जस्तै जीवन बिताउनुपरेको छ । कानुनको सम्मान गर्नै पर्‍यो, दु:ख सहेर बसेका छौं । नत्र महाकाली तरेर आइहाल्थ्यौं ।’

बझाङ र बैतडीका जनप्रतिनिधि दार्चुलामा

बैतडी र बझाङका जनप्रतिनिधिहरू आफ्ना नगरवासी लैजान चार दिनअघि दार्चुला पुगेका छन् । दार्चुला प्रशासनले फोन गरेर आफ्ना नागरिक लैजान गाडी ल्याएर आउनु भनेपछि यहाँ आएको उनीहरूले बताए ।

आइतबार बझाङको बुंंगल नगरपालिकाका प्रमुख धनबहादुर विष्ट एक स्वास्थ्यकर्मी लिएर, बैतडीको पुर्चौडी नगरपालिका–७ का अध्यक्ष रामबहादुर ऐर, ४ का अध्यक्ष शैलेन्द्र धानुक, स्वयंसेवक दिलबहादुर धानुक र स्वास्थ्यकर्मी नरेन्द्र धानुक दार्चुला पुगेका हुन् । दुई/तीन दिनदेखि प्रजिअ र सुरक्षा निकायका प्रतिनिधिहरूसित कुरा गर्दै आए पनि उद्धार हुने सम्भावना अझै निश्चित हुन नसकेको उनीहरूको भनाइ छ ।

महाकाली तरेर २३८ जना भित्रिए

जोखिम मोलेर महाकाली तरेर आउने क्रम रोकिएको छैन । भारतको धार्चुलाका क्वारेन्टाइनमा राखिएका नेपालीहरू लामो समयसम्म नेपाल फर्कन नपाएपछि ज्यानलाई जोखिममा राखेर पनि महाकाली नदीमा पौडी खेल्दै नेपाल भित्रिरहेका छन् ।

अहिलेसम्म महाकाली तरेर भारतबाट २ सय ३८ जना नेपाल प्रवेश गरिसकेका छन् । दार्चुलाको व्यास गाउँपालिकाबाट आइतबार ३४, मंगलबार ८ र बुधबार महाकाली नगरपालिका–९ बाट १६ जना महाकाली नदी पार गरेर स्वदेश फिर्ता भएका प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?