कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कांग्रेस केन्द्रीय समितिमा सरकारको कडा आलोचना 

पौडेलको आराेप : प्रधानमन्त्री नै देशमा अराजकता र भाँडभैलो मच्चाउन खोज्ने  ?
कुलचन्द्र न्यौपाने

काठमाडौँ — सरकारका पछिल्ला कदमप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रामक देखिएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको घोटालादेखि अध्यादेश प्रकरणसम्म आइपुग्दा सरकारले वैधता गुमाएको भन्दै केन्द्रीय सदस्यहरूले सरकारप्रति आफ्नै पार्टीको नेतृत्वसमेत लचिलाे बनेकोमा असन्तुष्टि जनाएका छन् ।

कांग्रेस केन्द्रीय समितिमा सरकारको कडा आलोचना 

पार्टी मुख्यालय सानेपामा बुधबार बसेकाे केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य, गगन थापा, प्रदीप पौडेललगायतले सरकारको कडा आलोचना गरेका थिए । उनीहरूले पछिल्ला घटनाक्रममा राष्ट्रपतिको भूमिकासमेत निष्पक्ष र संवैधानिक मर्यादाभित्र नभएको बताएका छन् ।

सरकारका गलत कदमविरूद्ध आक्रामक ढंगले अघि बढ्न नेतृत्वलाई केन्द्रीय सदस्यहरूले दबाबसमेत दिएका थिए । वरिष्ठ नेता पौडेलले काेरोना महामारी नियन्त्रणका दिशामा सम्पूर्ण शक्ति एकीकृत गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउने दिशामा लागेको भन्दै आपत्ति जनाए । ‘संविधानको मर्म र भावनाविपरीत संवैधानिक परिषद्‍लाई आफ्नो मुठीमा ल्याउने र पार्टीहरूमा तोडफोड मच्चाउने नियतले दल त्यागसम्बन्धी ऐन संशोधन गर्न अध्यादेशहरू जारी गर्न पुग्ने यो सरकारको प्रधानमन्त्री देशमा अस्थिरता, अराजकता र भाँडभैलो मच्चाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने ?,’ पौडेलले बैठकमा राखेको लिखित मन्तव्यमा भनेका छन् ।

उनले ‘पार्टी तोड्न सांसद अपहरण गर्ने बाहुबलीहरू खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेको सांसदलाई आश र त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ?’ भन्दै प्रश्न गरेका छन् ।

सरकारले सिफारिस गरेको अध्यादेशलाई अध्ययन नै नगरी मिनेटभरमा पारित गर्ने राष्ट्रपतिको भूमिकासमेत विवादास्पद रहेको पौडेलको भनाइ थियो । ‘संविधानका संरक्षक नै धृतराष्ट्र बनेपछि हस्तिनापुरको संरक्षण कसले गर्ला ?,' उनले भनेका छन् ।

आफू अपहरित भएको र आफ्नो सांसद अपहरण गरिएकोमा पुलिस र सरकारी वकिलकहाँ उजुरी गर्न जाने सांसद र नेताहरूलाई रित्तै फर्काउने सत्ता देशको कानुनी प्रक्रियाको बाधक र स्वेच्छाचारी तत्त्व भएको पौडेलले बताए ।

पूर्वमहामन्त्री सिटौलाले चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवाद, प्रधानन्यायाधीशसँग प्रधानमन्त्रीको भेटलगायत राजनीतिक घटनाक्रमले मुलुकलाई असंवैधानिक र निरंकुश बाटोमा लैजाने तयारी भइरहेको आरोप लगाएका थिए । यसतर्फ पार्टी नेतृत्वलाई गम्भीर हुनसमेत सिटौलाले सुझाए ।

प्रकाशित : वैशाख १७, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?