२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘प्रतिरोधात्मक क्षमता बढाऔं’

सकारात्मक जीवनशैली, योग, ध्यान, प्राणायाम र स्वस्थकर खानपानले प्रतिरोधी क्षमता बढाउने जानकारी सबैतिर पुर्‍याउन आयुर्वेद विभागद्वारा गाइडलाइन तयार
अतुल मिश्र

काठमाडौँ — सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड-१९ को उपचार र खोप नभएको अवस्थामा रोग लाग्न नदिने उपाय रोज्न सबैसंँग आग्रह गरेको छ । विभागले एक गाइड लाइन तयार गरी शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गुणसँगै एन्टिमाइक्रोबियल, एन्टिभाइरल गुण भएका विभिन्न किसिमका जडिबुटीको नियमित प्रयोग गर्ने बानी बसाल्न सुझाएको हो ।

‘प्रतिरोधात्मक क्षमता बढाऔं’

आयुर्वेद र वैकल्पिक चिकित्साअन्तर्गतको रोकथाम र उपचारात्मक बृहत् गाइडलाइन मंगलबार स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भइसकेको छ । जसमा श्वासप्रश्वास र समग्र स्वास्थ्य बलियो बनाउन आफ्नो उमेर, शारीरिक क्षमता र स्वास्थ्यअनुकूल नियमित रूपमा योग गर्नसमेत आग्रह गरिएको छ ।

आयुर्वेद विभाग, आयुर्वेद क्याम्पस, नेपाल आयुर्वेद चिकित्सा परिषद्, आयुर्वेद चिकित्सक संघ, आयुर्वेद स्वास्थ्यकर्मी समाज, होमियोप्याथिक चिकित्सक संघ, प्राकृतिक चिकित्सकलगायतका सहकार्यमा गाइडलाइन तयार गरिएको हो ।

‘हामीले हाल कोभिड-१९ को उपचार खोप नभएको अवस्थामा शरीरको आन्तरिक शक्ति बढाएर संक्रमण हुन नदिन आयुर्वेदिकलगायतका वैकल्पिक चिकित्सा विधिअन्तर्गतका प्रामाणिक प्रक्रिया अपनाउन आग्रह गरेका छौं,’ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले भने ।

देशभरिको आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवामा एक रूपता ल्याउन निर्माण गरिएको गाइडलाइनमा लकडाउन, क्वारेन्टाइन, आइसोलेसन अवस्थामा बसेकाहरूले प्राणायाम, योग, खानपान, आचरणलगायतका कुन-कुन बचाउका उपाय गर्ने विषयमा समेत औंल्याइएको छ ।

कोभिड-१९ संक्रमित एक सयमध्ये करिब पाँच जनालाई आईसीयु आवश्यक पर्ने र त्यसमा समेत भेन्टिलेटर (कृत्रिम श्वासप्रश्वास यन्त्र) चाहिने अवस्था रहेको औंल्याउँदै नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. धनिकलाल भरखेरले भने, ‘प्राणायाम, योग आदिले फोक्सोको क्षमता बढाएर स्वसन संस्थानको स्वास्थ्य बलियो पार्दा भविष्यमा कुनै समस्या भएर भेन्टिलेटरमा रहनुपर्ने अवस्थामा कमी आउने गरेको देखिएको छ ।’

भारतको आयुष मन्त्रालयले समेत दिनहुँ ३० मिनेट दैनिक योगासन, प्राणायाम ध्यान आदि गर्न सल्लाह दिएको उल्लेख गर्दै डा.भरखेरले औषधि र खोप नरहेको अवस्थामा शरीरको रोग प्रतिरोधक क्षमता बढाउने उपाय अपनाउनु फाइदाजनक हुने बताए ।

विभागले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन तुलसी, गुडुची (गुर्जो) वा असुरोको पात र गुडुचीलाई चियाको रूपमा प्रयोग गर्न सल्लाहसमेत दिएको छ । हामीले दिनहुँ आफनो खानपान दाल तरकारी आदिमा नियमित रूपले उपयोग गर्दै आएको बेसारको नियमित सेवनले पनि शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ ।

‘हामीले प्रस्ताव गरेको गाइडलाइनमा क्वारेन्टाइन अवस्थामा बसेकाले शरीरको रोग प्रतिरोध क्षमता बढाउन विभिन्न योग, व्यायाम, जडिबुटी सेवनसँगै च्यवनप्रासको सेवनवारे समेत औंल्याइएको छ,’ डा.उपाध्यायले भने, ‘कोभिड-१९ महामारीको रूपमा फैलिने अवस्थामा आधुनिक चिकित्सा पद्घति सँगसँगै आयुर्वेदको कुन-कुन औषधि उपयोग गर्न सकिनेबारे समेत समेत गाइडलाइनमा उल्लेख छ ।’

उक्त गाइडलाइनअनुसार स्वस्थ व्यक्तिले दिनहुँ योगासनअन्तर्गत सूर्य नमस्कार, धनुरासन, गौमुखासन, उष्ट्रासन, भुजंगासन, सेतुबन्धन आसन, पद्यासन १० मिनेट गर्नुपर्छ । यस्तै प्राणायामअन्तर्गत अनुलोमविलोम, कपालभाती, भस्त्रिका, भ्रामरी आदि १० मिनेट गर्नुपर्छ ।

योसँगै विभिन्न योगासानपछि करिब १५ मिनेट ध्यान गर्न, शरीरलाई आनन्दित गर्ने संगीत सुन्नसमेत औंल्याएको छ । ध्यान, संगीत, योग आदिले मानसिक स्वास्थ्यमा समेत सकारात्मक भूमिका खेल्छ । बिहानको ३०-३५ मिनेटको योग, ध्यान आदि पछि ८० देखि १०० मिलिलिटर गुडुचीको चिया सेवन गर्नसमेत प्रस्ताव गरिएको छ ।

दिनभरिमा आवश्यकताअनुसार एक जना स्वस्थ व्यक्तिले दुई/तीन लिटर मनतातो पानी सेवन गर्नसमेत भनिएको छ । यस्तै बिहान करिब १० ग्राम च्यवनप्रास मनतातो पानीसँग सेवन गर्न गाइडलाइनमा प्रस्ताव गरिएको छ । मधुमेहका रोगीलाई चिनी नभएको च्ववनप्रास खान भनिएको छ । दिनहुँ भान्सामा नियमित रूपले बेसार, जिरा, मरिच, धनियाँ, दालचिनी, टिमुर, लसुन आदि उपयोग गर्ने र ताजा तातो खान सल्लाह दिइएको छ । दुवै नाकको प्वालमा तोरीको तेल, तिलको तेल वा गाईको घ्यू बिहान र बेलुकमा गरी दुई समय लगाउनसमेत भनिएको छ ।

‘मसलाको समुचित प्रयोगले हाम्रो शरीरमा उत्पन्न विषाक्ततालाई नष्ट गर्नुको साथै मुटुरोग, रक्तचाप, रक्तअल्पता, नशारोगमा फाइदा गर्छ । मसलाले शरीरको पाचनशक्ति बढाउनुका साथै शरीरलाई चाहिने हार्मोन र पाचन रसको श्राव गराउँछ,’ डा.उपाध्यायले भने, ‘कोभिडको हालसम्म कुनै उपचार र खोप छैन तर स्वस्थ, शक्तिशाली शरीर भएकालाई यसले बढी दुःख नदिने भएकोले हामीले आफ्नो रोग प्रतिरोधक क्षमता बढाउनु फाइदाजनक हुन्छ ।’

प्रकाशित : वैशाख १७, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?