बालुवाटारमा ओली-दाहाल भेटवार्ता

काठमाडौँ — नेकपाभित्रको विवाद उत्सर्गमा पुगेकै बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवाद सुरु भएको छ ।

बालुवाटारमा ओली-दाहाल भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच दिउँसो १ बजेपछि भेटवार्ता सुरु भएको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका र प्रधानमन्त्री ओलीले यसलाई आलटाल गर्दै आएका बेला दुई नेताबीच भएको वार्तालाई चासोका साथ हेरिएको छ । यद्यपि सोमबार ओली र नेपाल समूहका नेताहरुको वार्तामा मंगलबार सचिवालय बैठक बोलाउने अनौपचारिक समझदारी भएको थियो । तर, मंगलबार दिउँसोसम्म बैठक अनिश्चित छ । ओली दाहाल बैठकपछि सचिवालयको बैठक बस्ने सम्भावना छ ।

नेकपाका दाहाल र नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै यस अघि नै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका छन् । तर, पार्टीभित्रको पछिल्लो शक्तिसन्तुलन र शक्ति बाँडफाँडलाई लिएर देखिएका विवादले ओली समूह स्थायी कमिटीको बैठक बोलाउन अझै तयार भएको छैन।

स्थायी कमिटीको बैठकमा सरकार र पार्टी कामको समीक्षासहित नेतृत्व हेरफेरको मुद्दा उठान हुने गरि नेकपाभित्र राजनीतिक घटनाक्रम विकसित हुँदै आएका छन् । यसले नेकपाको आगामी बैठक पेचिलो हुने सम्भावना छ ।

वैशाख ८ मा जारी भएका दुई अध्यादेशपछि नेकपा विवाद नयाँ मोडमा आएको थियो । यद्यपि विवादपछि दुवै अध्यादेश फिर्ता भइसकेका छन् ।

प्रकाशित : वैशाख १६, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?