कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

थर्मल गनले जाँचेका भरमा सीधै घर

भरपर्दो जाँचबिना नै राजधानीबाट ठूलो संख्यामा मानिसहरु गाउँ भित्रेपछि कोरोना संक्रमणको जोखिम बढेको छ
शिव पुरी, शंकर आचार्य

रौतहट, पर्सा — लकडाउनमा काठमाडौंमा रोकिएका स्थानीयलाई ल्याउन रौतहटका पालिकाबीच होडबाजी चलेको छ । त्यसरी ल्याइएका सर्वसाधारणलाई क्वारेन्टाइनमा भने राखिएको छैन । उनीहरूलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) नै नगरी थर्मल गनले जाँचेको भरमा घर जान दिने गरिएको छ ।

थर्मल गनले जाँचेका भरमा सीधै घर

भरपर्दो जाँचबिना नै राजधानीबाट ठूलो संख्यामा व्यक्तिहरू गाउँ भित्रिएपछि कोरोना संक्रमणको जोखिम बढेको छ । लकडाउनका क्रममा कतिपय पैदलै आएका थिए । पछिल्लो साता पालिकाले उद्धारका लागि बस पठाएका हुन् । रौतहटका १८ स्थानीय तहमध्ये आधाजसोले बस रिजर्भ गरेर राजधानी पठाएर नि:शुल्क ल्याउने व्यवस्था गरेका हुन् । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले काठमाडौंबाट आएको हुनाले उनीहरू सुरक्षित रहेको दाबी गरे ।

‘हामीले र्‍यापिड टेस्टको भर गरेनौं । राजधानीबाट भित्रिएकाको विवरण मागेका छौं,’ उनले भने, ‘उनीहरूलाई होम क्वारेन्टाइनमा बस्न र जनप्रतिनिधिलाई निगरानी गर्न भनेका छौं ।’ एक साताअघि जिल्ला प्रशासनमा बसेको सुरक्षा समितिको बैठकले लकडाउनले राजधानीमा अलपत्र परेकालाई स्थानीय तहले उद्धार गर्न सक्ने र उनीहरूलाई र्‍यापिड टेस्ट गरेर होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो ।

जनप्रतिनिधिहरूले काठमाडौंबाट आएकालाई चन्द्रनिगाहपुरस्थित जंगलटोलमा ट्राफिक प्रहरीको रोहबरमा थर्मल गनले ज्वरो नापेर सीधै घर पठाउने गरेको पाइएको छ । ‘उनीहरू सबै स्वस्थ छन् । कसैलाई कोरोनाको संक्रमण छैन,’ चन्द्रपुर २ का वडाध्यक्ष बुद्ध लामाले भने,

‘काठमाडौंबाट आएका हुनाले कसैलाई केही भएकै छैन । होम क्वारेन्टाइनमा बस्न भनेका छौं । उनीहरूको हामी पनि निगरानी गर्छौं ।’

काठमाडौंबाट आएका इशनाथका सुरज रायले कतिखेर घर पुगौंला र चयनको श्वास फेरौंला जस्तो भएको सुनाए । ‘काठमाडौंमै बसेको भए भोकै मरिन्थ्यो । अब आफ्नै घरमा सुकेको रोटी भए पनि चित्त बुझाउँछौं । यसरी कष्टले आएपछि क्वारेन्टाइनमा बस्दैनौं । यसका लागि जे सजाय भोग्न तयार छौं ।’

लामो समय घरबाट टाढा भएकाहरू परिवारसँग भेट्न हतारमा भएकाले क्वारेन्टाइनमा बस्नै नमान्ने वृन्दावन नगरपालिकाका मेयर रामस्नेही रायले बताए । ‘आर्थिक र अन्य व्यवस्थापनको हिसाबले पनि क्वारेन्टाइन बसाइ स्थानीय तहका लागि झन्झटिलो हुने गर्छ,’ उनले भने,

‘अहिलेको मुख्य समस्या भनेकै उनीहरूलाई जतिसक्दो चाँडो घर फर्काउने र परिवारसित भेट गराउने हो । जोखिम भन्ने कुरा अहिलेको अवस्थामा हुनु स्वाभाविकै हो ।’ मेयर रायले बाहिरबाट उद्धार गरिएकालाई होम क्वारेन्टाइनमा राखेर जनप्रतिनिधिहरूले कडा निगरानी राख्नुपर्ने सुझाव दिए ।

भारतीयको व्यवस्थापनमा कठिनाइ

राजधानीलगायतबाट भारत घर जान लागेका ५५ जनालाई रौतहट प्रहरीले रोकेर विभिन्न क्वारेन्टाइनमा राखेको छ । उनीहरूको खानपिन र बसाइमा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ । प्रशासनले क्वारेन्टाइन बसेका भारतीयलाई पनि खानपिन र बसोबासको प्रबन्ध मिलाउन भने पनि स्थानीय तहले बेवास्ता गर्ने गरेको पाइएको छ । प्रजिअ घिमिरेले पालिकाले भारतीयको हकमा बजेट नछुट्याएको गुनासो आएको बताए ।

‘हामीले गृह मन्त्रालयमा उनीहरूका लागि पनि बजेट माग गरेका छौं । लकडाउन अवधिभर पालिकाले व्यवस्था मिलाउनुपर्छ,’ उनले भने । उनले भारतीयलाई खानपिनमा समस्या परेको क्वारेन्टाइन र पालिकाको नाम भने खुलाएनन् ।

१२५ भारतीय क्वारेन्टाइनमा

पर्साको वीरगन्जस्थित ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा अझै १ सय २५ जना भारतीय नागरिक छन् । तीमध्ये ४ महिला छन् । राजधानी तथा अन्य जिल्लामा विभिन्न पेसामा आबद्ध रही भारतस्थित आफ्नो घर फर्कन भनी वीरगन्ज आएका उनीहरूलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको हो । उनीहरूलाई घर पठाउनेबारे अझै टुंगो लागेको छैन जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम थापाले बताए ।

क्वारेन्टाइनमा रहेका भारतीयलाई खाने र बस्ने व्यवस्था गरिएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका अधिकारी पनि बेलाबेलामा उनीहरूको अवस्था बुझ्न त्यहाँ पुग्ने गरेका छन् । सीमावर्ती भारतीय सहर रक्सौलमा पनि यसरी एक दर्जन नेपाली क्वारेन्टाइनमा छन् । यसबाहेक वीरगन्जसहित जिल्लाका अन्य स्थानीय तहको क्वारेन्टाइनमा सोमबारसम्म १ सय २४ र होम क्वारेन्टाइनमा ३ सय २१ जना छन् ।

प्रकाशित : वैशाख १६, २०७७ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?