कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मझधारमा माधव नेपाल

पार्टी समीकरणमा तेस्रो तर निर्णायक हैसियतमा रहेका नेपाललाई आफूतिर ल्याउन दुवै अध्यक्षले बराबर जोडबल गरिरहे पनि उनले कुन पक्षसँग कसरी मिल्ने भन्ने निर्णय गर्न सकेका छैनन् । नेपालनिकट एक नेता भन्छन्, ‘जसरी ओलीको प्रस्तावमा आँखा चिम्लेर विश्वास गर्ने ठाउँ छैन, दाहालसँग पनि विश्वस्त हुने आधार छैन ।’
बिनु सुवेदी

काठमाडौँ — तत्कालीन एमालेमा लगातार १५ वर्षसम्म नेतृत्व सम्हालेका नेता माधवकुमार नेपालको घरमा नेकपा एकीकरण हुनुअघिसम्म एकदम धेरै चहलपहल थियो । सबैतिरका नेताको आउजाउ बाक्लो हुन्थ्यो । जब एमाले र माओवादी मिलेर नेकपा बन्यो, कोटेश्वरमा नेपाल सम्झिएर जाने नेताहरूको संख्या ओरालो लाग्यो ।

मझधारमा माधव नेपाल

अझ केपी शर्मा ओली पक्षका त नेता मात्रै होइन, कार्यकर्ताले समेत फर्किएर हेरेनन् । तर पछिल्लो समय कोटेश्वरको माहोल फेरिएको छ, नेकपा वरिष्ठ नेता नेपाललाई भेट्न नेताहरू ह्वारह्वार्ती गइरहेका छन् । ‘कोटेश्वरमा राजनीतिक माहोल संविधानसभा चुनाव अगाडिको जस्तै छ । पार्टी एकता भएपछि नआएका ओली समूहका नेता सबैभन्दा धेरै आए,’ नेपाल सचिवालयका एक सदस्यले भने ।

पार्टी एकीकरण भएपछि एक्ल्याइएका नेता नेपालको घरमा सरगर्मी बढ्नुको एउटै कारण हो, नेकपाभित्रको राजनीतिक किचलो । पार्टी समीकरणमा नेपालको स्थान तेस्रो भएपछि दुई अध्यक्षबीच किचलो हुँदा उनको मत जहिले पनि निर्णायक हुने गरेको छ । अहिले पनि नेपालसित सहकार्यको हात बढाउन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बराबरी नै जोडबल गरिरहेको पछिल्ला भेटघाट र छलफलको शृंखलाले नै पुष्टि गरेको छ । ‘तर कुन पक्षसँग कसरी मिलेर जाने भन्नेमा उहाँले ठोस निर्णय गर्न सक्नुभएको छैन,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘दुवै अध्यक्षहरूको प्रस्तावबारे गम्भीर विमर्श भइरहेको छ ।’

‘पूर्वएमाले नछुट्टिऔं’

नेता नेपालले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग करिब ४५ मिनेट छलफल गरे । छलफलमा ओलीले नेपाललाई पार्टी अध्यक्ष बन्न पुन: प्रस्ताव गरेको स्रोतहरूको भनाइ छ । अध्यादेश प्रकरणले आलसतालस परेपछि यो प्रस्ताव ओलीका तर्फबाट यसअघि पनि आएको थियो । सोमबार पनि ओलीले मुख्यमन्त्रीहरू हेरफेर गरेर प्रदेश १ र ३ या यी दुईमध्ये कुनै एकमा नेपाल समूहका नेतालाई बनाउने, केन्द्र सरकारको पनि मन्त्रिपरिषद् फेरबदल गर्ने र आफ्नै सचिवालयमा पनि जनतासँग भिजेका नेताहरूलाई ल्याएर प्रधानमन्त्री कार्यालय विवादरहित बनाउने प्रतिबद्धता जनाएका थिए । तर नेपालले यस्ता प्रस्तावहरू यसअघि पनि आएर धोका पाएको भन्दै औपचारिक फोरममै छलफल गर्नुपर्ने जवाफ प्रधानमन्त्रीलाई दिए । नेपालले अध्यादेश प्रकरणले निम्त्याएको छलफलको सिलसिला सुरु हुनुअघि नै कान्तिपुरसँग भनेका थिए, ‘ओलीसँग सहमति गर्नै परे अब उधारो हैन, नगदमै गरिन्छ ।’

ओलीले पार्टीभित्र आफू अप्ठ्यारोमा पर्दा बारम्बार बोलाएर छलफल गर्ने तर अलिकति सहज हुनेबित्तिकै वास्तै नगर्ने गरेको भन्दै नेपाल असन्तुष्ट थिए । ‘त्यसैले प्रधानमन्त्रीले एक्लाएक्लै भएको भेटमा गरेका प्रस्तावहरूलाई उहाँले पत्याइहाल्नुभएको छैन ।’ ओलीको प्रस्तावमा नेपालले अविश्वास गरेकैले तिनै प्रस्तावहरूको सेरोफेरोमा छलफल गर्ने भन्दै अनौपचारिक संयन्त्र बनेर करिब ४ घण्टा छलफल भयो तर त्यहाँ ओली समूहका तर्फबाट खास कुनै प्रस्ताव नआएको नेताहरूको भनाइ छ ।

नेपाल निवास कोटेश्वरको आडैमा रहेको नेपाल वन पैदावार उद्योग व्यवसाय महासंघको कार्यालयमा बसेको बैठकमा मन माझामाझ मात्रै भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । ‘उत्पन्न समस्या समाधान गर्ने र पार्टीलाई एकताबद्ध ढंगले लैजाने भन्नेबारे अनौपचारिक कुरा भएको छ,’ उनले भने, ‘पार्टीमा देखा परेको गतिरोध छिटो समाधान गर्नुपर्छ र त्यसका लागि यथाशीघ्र स्थायी कमिटी बैठक बोलाउनुपर्छ भनिएको छ ।’

उक्त बैठकमा ओली पक्षीय नेताहरूले हतारमा भन्दा समस्या समाधान हुने गरी नै स्थायी कमिटी बैठक बोलाउनुपर्ने बताएका थिए । त्यहाँ ओली र नेपालबीच भएको छलफलअनुसार ओली पक्षीय नेताबाट शक्ति सन्तुलनको प्रस्ताव आउने आशा नेपाल पक्षीय नेताहरूले गरेका थिए । तर उनीहरूले ओली र नेपालका बीचमा भएको छलफलमा जस्तो कुनै पनि प्रस्ताव बैठकमा नल्याएको स्रोतको भनाइ छ । ‘त्यही भएर बन्द कोठामा ओलीजीले गरेका मीठा कुराको पछि नलाग्नुस् भनेर माधव कमरेडलाई सुझाव दिएको छु,’ बैठकमा सहभागी एक नेताले भने, ‘यस्ता चोटाकोठामा बसेर गरिएको छलफलले कुनै पार लाग्दैन, औपचारिक ढंगले निकास निस्किनुपर्छ ।’

ओली पक्षका नेताहरूसँगको छलफलमा पनि नेपाल पक्षीय नेताहरूले पार्टी र सरकारको गतिरोधको मूल कारक प्रधानमन्त्री ओली नै भएकाले त्यसको निकास उनले नै दिनुपर्ने बताएका थिए । ‘समस्याको निकास खोज्ने सन्दर्भमा ओलीजीको धारणा के छ, औपचारिक प्रस्ताव उहाँबाट आओस्,’ बैठकमा नेपाल पक्षीय नेताहरूको भनाइ थियो, ‘त्यसपछि बाँकी निर्णय औपचारिक कमिटीको बैठक बसेरै गर्छ ।’

नेताहरू मिलेर जानुपर्छ भन्नेबाहेक थप ठोस कुराकानी नभएपछि बैठकको सन्देश लिएर ओली पक्षका नेताहरू बालुवाटार पुगेर ब्रिफिङ गरेका छन् । बालुवाटारको छलफलमा उनीहरूले अहिलेसम्मका छलफल निरर्थक बनेको निष्कर्ष निकालेको एक नेताले बताए ।

दुई पक्षीय छलफलमा ओली पक्षबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी थिए भने अर्काे पक्षबाट स्वयं वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त उपस्थित थिए ।

वरिष्ठ नेता नेपाललाई ओली पक्षीय नेताहरूले पूर्वएमाले समूहको गठजोड बलियो बनाउन प्रस्ताव गरेको यो पहिलो घटना भने होइन । सभामुखका लागि सचिवालयका बहुमत सदस्य एकातिर भएर आफ्नो इच्छाविपरीत अग्नि सापकोटामा निर्णय गरेकै बेला ओलीले पार्टीमा आफू कमजोर भइरहेको महसुस गरेका हुन् । अझ माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीमा ओली पक्षको मत स्पष्ट रूपमा क्षीण भएपछि वरिष्ठ नेता नेपाललाई ओलीको समूहमा ल्याउने भरमग्दुर कसरत भइरहेको थियो । त्यसको अगुवाइ तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए भने ईश्वर पोखरेल, शंकर पोखरेल, भानुभक्त ढकाललगायत नेताहरू पनि पूर्वएमाले पक्ष बलियो बनाउनुपर्छ भनेर बारम्बार नेपाल निवास कोटेश्वर गइरहन्थे । त्यसपछि एमसीसी प्रकरण, राष्ट्रिय सभामा वामदेव गौतम या युवराज खतिवडा भन्नेलगायतका विषयमा पनि नेपाल ओलीको पक्षमा नदेखिएपछि ओली समूह नेपाललाई फकाउने दौडमा द्रुत गतिले लागिरहेको थियो ।

तर नेपाल शक्ति सन्तुलनमा ओलीबाट स्पष्ट प्रस्ताव खोजिरहेका थिए, जुन उनलाई प्राप्त भइसकेको थिएन । त्यतिखेरैको छलफलका सन्दर्भमा नेपालले कान्तिपुरसँग ‘उधारो सहमति गरेर धेरैपटक धोका पाएकाले जे–जे हुन्छ, हातहातै हुन्छ’ भनेका थिए ।

यसपालि ‘हातहातै’ सहमतिको कुरा ओलीले नेपालसँग आफ्नो र विभिन्न सूत्रमार्फतको छलफलमा गरेका छन् तर ओली–नेपाल पक्षीय नेताहरूको भेलामा यसखाले कुनै प्रस्ताव नआएकाले नेपालले विश्वास गरिहालेका छैनन् । ‘त्यसकारण पनि हामीले यस्ता छलफल औपचारिक फोरममै होऊन् भनेका हौं,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने ।

दाहाल एक कदम अगाडि

नेपाल आफ्नो पक्षमा हुँदा आफू कति बलियो हुन्छु भन्ने आकलन अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि गरेका छन् । त्यसैले उनले आइतबार कोटेश्वरमा भएको नेपाल पक्षीय नेताहरूको भेलामा खुलेरै भने, ‘अबको प्रधानमन्त्री तपाईं हो, नाइँनास्ति गर्न पाउनु हुन्न ।’

उक्त भेलामा अरू नेताहरूले पनि ओलीबाट देश र पार्टी चल्न नसक्ने भन्दै ठोस प्रस्ताव ल्याउन दाहाल र नेपाललाई आग्रह गरेका थिए । जब कोटेश्वरको भेला सकेर दाहाल निजी निवास खुमलटार पुगे, उनले प्रधानमन्त्रीले नेपाललाई पार्टी अध्यक्षको प्रस्ताव फेरि गरेको र त्यसबारे नेपालले निकटस्थहरूसँग छलफल गरिरहेको थाहा पाए । लगत्तै दाहालले नेपाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद रोजेर लिन प्रस्ताव गरेको स्रोतहरूको दाबी छ । नेपालले यो विषयमा पनि आफ्ना निकटहरूसँग छलफल र परामर्श गरेका छन् । ‘जसरी ओलीको प्रस्तावमा आँखा चिम्लेर विश्वास गर्ने ठाउँ छैन, दाहालको प्रस्तावमा पनि विश्वस्त हुने आधार छैन,’ नेता नेपाललाई धैर्य हुन सुझाव दिएका एक स्थायी कमिटी सदस्यले भने, ‘केपीजीबाट जस्तै प्रचण्डजीबाट पनि हामीले यसअघि बारम्बार धोका पाएका छौं ।’

केपी कमरेडबाट देश र पार्टी दुवै चलेन : नेता पन्त

यसको पछाडिको कारण खोज्न गत साउनतिर फर्किनुपर्छ । त्यतिखेर प्रधानमन्त्री ओली पार्टी र सरकारको दुवै मोर्चामा एकलौटी तरिकाले हाबी भएको निष्कर्ष निकालेर नेपाल र दाहालमध्ये एक पार्टी अध्यक्ष र अर्काे प्रधानमन्त्री बन्ने लिखित सहमति नै भएको थियो । त्यो बेला दाहालसँग नेपालसहित झलनाथ खनाल र वामदेव गौतमसँग गरेको छुट्टाछुट्टै सहमतिपत्र थिए । तर दाहाल यसरी बदलिए कि उनले नेपालसँगको सहमति चटक्कै छाडेर ओलीसँग मित्रता गाँसे । त्यही बेला नै हो, खनालको वरीयता मिलेको र वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन प्रस्ताव गरिएको ।

त्यो बेला दाहाललाई भने ओलीले पार्टीको कार्यकारी अध्यक्ष बनाउने वचन राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर दिएका थिए । त्यसकारण अहिले विषयवस्तुका हिसाबले नेपाल दाहालतिर ढल्किएजस्तो देखिए पनि उनलाई नै पूरापूर विश्वास गर्ने ठाउँमा छैनन् । किनभने ओली पक्षका नेताहरूले जसरी नेपाललाई फकाइरहेका छन्, दाहालसँग पनि समानान्तर रूपमा छलफल अघि बढाएका छन् । ‘पुराना नजिरका आधारमा अहिले हामी ओली र दाहाल दुवैलाई विश्वास र शंकाका हिसाबले नै हेरिरहेका छौं,’ नेपालनिकट स्थायी कमिटी सदस्यले भने, ‘किनभने हिजोसम्म आआफ्नो गुटमा केन्द्रित रहेको छलफल आजदेखि त्रिपक्षीय रूपमा अघि बढेको छ ।’

त्रिपक्षीय छलफल

छलफलमा सहभागी नेताहरूका अनुसार ओली–दाहाल–नेपाल पक्षीय नेताहरूले सोमबारदेखि क्रस छलफल गरेका छन् । ‘हामी इस्युका हिसाबले कोसँग मिल्न सकिन्छ, त्यता जाने हो,’ दाहालनिकट नेताले कान्तिपुरसँग भने, ‘अहिलेसम्मको छलफललाई हेर्दा माधवजीसँग नजिक छौं ।’

एकलौटी अघि बढ्ने प्रधानमन्त्रीको निर्णयले सीमा नाघेको छ : नेता शर्मा

ती नेताका अनुसार ओली पक्षबाट ईश्वर पोखरेल र शंकर पोखरेलसँग अध्यक्ष दाहाल र दोस्रो तहका नेताहरूसँग निरन्तर छलफल भइरहेको छ । ती छलफलमा उनीहरूले कमीकमजोरी सच्याएर दाहाललाई पार्टीमा झन् बलियो बनाउने र ओलीले पार्टीकै सहमतिमा सरकार चलाउने प्रस्ताव गरेका छन् । ‘तर अध्यक्ष प्रचण्डको भनाइ प्रधानमन्त्रीले निकास दिनुपर्छ भन्ने नै छ,’ ती नेताले भने । निकास भनेको राजीनामा हो ? कान्तिपुरको प्रश्नमा ती नेताले भने, ‘मीठो भाषामा भन्दा त्यही नै हो तर हामीले ओलीजीलाई पार्टी र सरकार दुवैमा बाइपास गर्न सक्दैनौं, पार्टी पनि नटुक्रिने उहाँ पनि सुध्रिने हिसाबले कसरी अघि बढ्न सकिन्छ, त्यहीअनुसार छलफल गर्दै छौं ।’

उनका अनुसार स–साना गुटका भेलामा दाहाल सहभागी भएको भन्दै ओलीले असन्तुष्टि जनाइरहेका छन् । उसो त नेपाल र ओली पक्षको भेट हुने थाहा पाएपछि सोमबार गौतम र खनालले पनि खुमलटार पुगेर यस्ता अनौपचारिक छलफलभन्दा जतिसक्दो छिटो पार्टी बैठक नै डाक्न अध्यक्ष दाहाललाई दबाब दिए ।

यी सबै छलफलपछि नेकपाले मंगलबार सचिवालय बैठक बोलाएको छ तर राजनीतिक हरहिसाबमा फेरि पनि नेपाल कोसँग निकट हुन्छन्, उसकै पल्लाभारी हुने गणित छ । ‘पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउन ठोस निर्णय गर्ने बेला छ,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट नेताले भने, ‘अहिले म सबैको मन बुझिरहेको छु ।’

प्रकाशित : वैशाख १६, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?