२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

डराउँदै परीक्षणको पालो कुर्दै भुल्केवासी

१५०० जनसंख्या भएको भुल्केमा ३०६ को मात्रै स्वाब संकलन, आफ्नो जाँचको पालो नआउनेलाई छटपटी

उदयपुर — नन्दराज धामीको छिमेकको घरमा कोरोना संक्रमित फेला परे । त्यसयता उनी आफू र परिवारको स्वाब नमुना परीक्षण गराउन चाहन्छन् । तर परीक्षण हुन नसक्दा परिवारै त्रासमा छ । गाउँमा तीन दिन स्वाबका नमुना संकलन गरिएको थियो । तीनैदिन दिनभर लाइनमा बस्दा पनि आफूहरूको स्वाब नलिएको त्रियुगा–३ भुल्केका धामीले गुनासो पोखे ।

डराउँदै परीक्षणको पालो कुर्दै भुल्केवासी

‘परिवारमा अहिले दुई जना छौं, हाम्रो जाँचै गरिदिएनन्,’ उनले भने, ‘डरले निद्रा पनि आउन छाडेको छ ।’ आफ्ना छेउछाउका छिमेकीको स्वाब परीक्षण गरिए पनि आफूहरूको पालो नआउँदा चिन्ता परेको भनाइ छ ।

स्थानीय विष्णु थापाले पनि परीक्षण गराउन पाएका छैनन् । ‘फेला परेका संक्रमितहरू हाम्रै गाउँठाउँका छन्, हाम्रो घुलमिल थियो,’ उनले भने, ‘सँगै बस्नेहरू संक्रमित भएकाले हामी पनि जोखिममा छौं, जाँच गरिदिए ढुक्क हुने थियो ।’

नूरी मस्जिदका जमाती र पछि गाउँलेमा संक्रमण पाइएयता भुल्केका स्वाब परीक्षण गराउन नपाएका परिवारमा त्रास छ । संक्रमित फेला परेदेखि नै स्थानीय प्रशासनले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरेर भुल्केलाई सिल गरेको छ । बाहिरका कसैलाई पनि गाउँ पस्न र स्थानीयलाई बाहिर निस्किन दिइएको छैन । गाउँभित्रै पनि एकअर्को घर आउजाउ गर्न पाइँदैन ।

वैशाख ५ मा गाउँकै मस्जिदमा बसेका ११ भारतीय र एकजना नेपालीमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि प्रदेश १ सरकारले स्वाब संकलनका लागि टोली पठाएको थियो ।

उक्त टोलीले संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जना स्थानीय र ९ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । वैशाख ७ र ८ सेनाको सहयोगमा थप २ सय ५१ जनाको स्वाब संकलन गरियो । स्वाब संकलन गरिएकामध्ये २ महिलासहित २८ जना संक्रमित भएको सरकारले सार्वजनिक गरिसकेको छ ।

संक्रमितमध्ये यसअघि मास्क सिलाएर वितरण गर्ने, गाउँमा चुरा बेच्ने र टेम्पो चलाउने पनि छन् । सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्क भएकाहरू नै संक्रमित भएको खुलेपछि त्रास बढ्नु स्वाभाविक भएको स्थानीय वासु खतिवडाले बताए । ‘यहाँ एउटा जात, धर्म वा समुदाय भन्ने नै भएन, जोखिम सबैलाई समान छ,’ उनले भने, ‘बस्ती सिल गरेकै बेला सबैको जाँच गरिदिए प्रस्ट हुने थियो ।’ यतिबेला सिल गरिएको बस्तीभित्र पनि दूरी कायम गरेर बस्ने लगाइएको स्थानीय शम्भु थापाले बताए ।

यसैबीच, सिल गरिएको बस्तीका बासिन्दालाई आइतबार राहत उपलब्ध गराइएको छ । त्रियुगा नगरपालिका र प्रदेश सरकारले राहत उपलब्ध गराएका हुन् । बस्ती आसपासको क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र त्रियुगा नगरपालिकाले मनोवैज्ञानिक परामर्शसहितको स्वास्थ्य शिविर पनि सञ्चालन गरेका छन् । शिविरमा चार गर्भवती, ११ सुत्केरी र अपांगता भएका दुईसहित १ सय २५ लाई स्वास्थ्य सेवा दिइएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शनिबार भुल्के पुगेर वस्तुस्थितिको जानकारी लिँदै परीक्षणको दायरा बढाउने तयारी गरिएको बताएका थिए ।

प्रधानमन्त्रीको ध्यानाकर्षण

यसैबीच, प्रतिनिधिसभा सदस्य नारायण खड्काले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उदयपुरको अवस्था अवगत गराएका छन् । ‘संक्रमित क्षेत्रमा चिकित्सकको कमी, परीक्षणका लागि आवश्यक सामग्री र उपकरणहरू अभाव छन्, त्यही जानकारी गराएँ,’ उनले भने ।

सिल गरिएको बस्तीमा थप स्वाब नमुना संकलन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताएका छन् । ‘बस्तीमा अझै संक्रमित हुन सक्छन् । पुन: परीक्षण, मनिटरिङ र राहत वितरणका काम भइरहेको छ, उनले भने, ‘५२ परिवारमै पुन: स्वाबको नमुना लिएर परीक्षण गरिनेछ ।’

स्थानीय मुस्लिम टोल विकास समितिका सचिव मोहमद अनिस राइनका अनुसार मस्जिद भएका टोलका ५३ घरमा २ सय ८२ जना छन् । ‘रोजगारीका लागि बाहिर गएका ३५ जना र १० वर्षमुनिका २४ बालबालिकाबाहेक २ सय ५ जनाको स्वाब परीक्षण भइरहेको छ,’ उनले भने, ‘आसपासका कतिपय अरूको पनि स्वाब परीक्षण भयो, तर अझै धेरै परिवारको परीक्षण गर्न बाँकी छ ।’

गाईघाटका वसन्त बस्नेतले भुल्केका प्रत्येकको र नजिकका गाईघाटलगायत स्थानमा स्याम्पलिङ गरेर स्वाब परीक्षण गरिदिए गाउँलेमा तनाव कम हुने बताए । त्रियुगा–३ का वडाध्यक्ष अवधेशकुमार चौधरीले तीन सय घर रहेको भुल्केमा १५ सय जनसंख्या रहेको बताए । ‘हालसम्ममा ३ सय ६ जनाको मात्रै स्वाब संकलन हुन सकेको छ,’ उनले भने ।

उदयपुरका स्वास्थ्य प्रमुख मोहन सुवेदीले भुल्केवासी, नूरी मस्जिदमा आउनेहरू, गाईघाट र वरिपरिका गाउँका करिब तीन हजार जनाको तत्काल स्वाब परीक्षण गर्नु आवश्यक रहेको बताए । ‘मुख्यमन्त्रीज्यूले शनिबार हेलिकप्टरमा आएर ९५ वटा भिटिएम (स्वाबका नमुना राख्ने डिब्बा) दिएर जानुभयो,’ उनले भने ‘यतिले नपुग्ने अवस्था छ ।’

प्रकाशित : वैशाख १५, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?