२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

शिक्षामन्त्रीले भने- 'राजनीतिज्ञका होइन वैज्ञानिकले भनेको कुरा गरौं'

गणेश राई

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को संक्रमणका बेला राजनीतिज्ञले भन्दा वैज्ञानिकले भनेको कुरा गर्ने समय भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरूको ‘अनलाइन शिक्षण तालिम समापन’ वेबिनारलाई सम्बोधन गर्दै उनले आइतबार यस्तो विचार राखेका हुन्। 

शिक्षामन्त्रीले भने- 'राजनीतिज्ञका होइन वैज्ञानिकले भनेको कुरा गरौं'

‘महामारीले गर्दा सबैतिर अनिश्चित अवस्था विद्यमान छ। विद्यालयदेखि विश्वविद्यालयसम्मका सबै तालिका ठप्प छन्,' मन्त्री पोखरेलले भने, ‘यो बेला राजनीतिज्ञले भन्दा वैज्ञानिकले भनेको कुरा गर्ने समय हो। तपाईं प्राध्यापकहरु स्वतस्फुर्त जागरुक हुनुभएकोमा हर्ष लागेको छ। संकटको बेला यथावत् रहने हो भने समस्या समाधान हुँदैन। त्यसैले प्रविधि प्रयोग अत्यावश्यक र बाध्यात्मक रुपमा प्रयोग गर्नुपरेको छ।’

मन्त्रालयले प्रविधि प्रयोगलाई प्राथमिकतामा राखेर नीति निर्माण प्रक्रिया अघि बढाएको उनले बताए। पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा प्रविधि उपयोग नीति निर्माण समिति गठन गरेको पनि उनले जानकारी गराए। ‘विद्वान् वैज्ञानिकहरुले संकटको बेला प्रविधि प्रयोगको उपायहरूको खोजी गरेको बुझेको छु,’ मन्त्री पोखरेलले भने, ‘हामी प्रविधि प्रयोग विस्तारका निम्ति दाताहरूसँग छलफलको क्रममा छौं।’

त्यसैगरी उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले त्रिवि प्राज्ञिक परिषदले अनलाइन कक्षालाई कानुनी मान्यता दिने निर्णय गरेको बताए। ‘त्रिविको निम्ति अनलाइन कक्षा नयाँ होइन, तर संकटको बेला सबै तहमा कार्यान्वयनका निम्ति आपतकालीन बैठक बसेर कानुनी मान्यता दिने निर्णय भरखरै भएको छ,’ उपकुलपति बास्कोटाले भने, ‘अब क्रमशः केन्द्र, विभाग, क्याम्पसहरुमा पूर्वाधार निर्माण, शिक्षक अभिमुखीकरण, विद्यार्थी ओरियन्टेसन हुनेछ।’ अनलाइन शिक्षा सञ्चालनका निम्ति तथा विद्यार्थी प्याकेजको प्रक्रिया अघि बढाउन नेपाल टेलिकमसँग समन्वय प्रक्रिया अघि बढेको उनले बताए। साथै, एनसेलसँग चाँडै समन्वय गरिने उनको भनाइ छ।

त्रिविमा कार्यरत पाँच सयभन्दा बढी प्राध्यापक सहभागी वेबिनारमा शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसालले बन्दाबन्दीको बेला र त्यसपछि पनि वैकल्पिक रुपमा अनलाइन शिक्षणको व्यवस्था हुने बताए। लकडाउनको बेला देशभरिका क्याम्पसमा अध्ययनरत विद्यार्थीको तथ्यांक संकलन तथा सम्पर्क विस्तारको कार्य सुरु गरिएको उनले जनाए। ‘अध्ययन, अध्यापन निरन्तरता, विद्यार्थी सम्पर्क, अनलाइन सामग्री वितरण, विद्यार्थी समस्यालाई बुझ्ने प्रक्रिया अघि बढाएका छौं,’ उनले भने।

रजिस्ट्रार प्राध्यापक पेशल दाहालले त्रिवि भौतिक उपस्थितिसहितको कक्षाको विकल्पमा नभई महामारीको बेला शैक्षिक सत्र खेर जान नदिन तत्कालका निम्ति अनलाइन व्यवस्था गरिएको बताए। ‘मौजुदा कोर्सलाई अनलाइनबाट पनि सञ्चालन गर्न सकिने निर्णय भएको छ,’ उनले भने।

विद्युतीय माध्यम अध्ययन सञ्चालन समितिका संयोजक प्राध्यापक विनिल अर्यालले हाल दैनिक १ सय ७५ वटा कक्षा सञ्चालन भइरहेको बताए। त्रिविले जुम एप्लिकेसन लाइसेन्स लिने प्रक्रियामा रहेको उल्लेख गर्दै लाइसेन्स प्राप्त गरेसँगै दैनिक ६ सय कक्षा सुरु हुन सक्ने उनको भनाइ छ।

अनलाइन शिक्षण तालिममा भर्चुअल मिडियाका विभिन्न माध्यम गुगल ड्राइभ, गुगल स्लाइड, गुगल क्यालेन्डर, गुगल सर्भे, युट्युब, फेसबुक, म्यासेन्जर, इमेल, जुम लगायतको प्रयोग गरी अनलाइन शिक्षण विधि सिकाइएको तालिम संयोजक सहप्राध्यापक बामदेव अधिकारीले बताए।

अमेरिकाको न्युयोर्कस्थित स्टोनी ब्रुक युनिभर्सिटीका सहप्राध्यापक डा. श्याम शर्माले चार वर्षदेखि अनलाइन तालिमको सहजीकरण गर्दै आएका छन्। सहभागी प्राध्यापकहरूले त्रिविको वार्षिका क्यालेन्डर निर्माण अनलाइन शिक्षण पद्धतिलाई अनिवार्य समावेश गर्न भनेका छन्।

प्रकाशित : वैशाख १४, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?