एकै परिवारका तीनजना मृत अवस्थामा भेटिए

सम्झना रसाइली

तनहुँ — जिल्लाको व्यास नगरपालिका–१ निर्मलनगर निवासी एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् ।

३४ वर्षीया रबिना श्रेष्ठसँगै उनकी ११ वर्षीया छोरी प्रिया र १५ वर्षीय छोरा विपिन मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।

छोरा विपिन शुक्रबार मृत अवस्थामा घरमै भेटिएका थिए । गत बुधबारदेखि हराएका उनकी आमा र बहिनी पनि शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शारीरिक रुपमा अशक्त विपिन घरमा एक्लै थिए र घाँटीमा दाग भेटिएको बताइएको छ । छिमेकीले बिरामी अवस्थामा एक्लै भेटेका उनको केही समयपछि ज्यान गएको बताइएको छ ।

यस्तै, छोरालाई एक्लै घर छाडेर बेपत्ता भएका आमा र छोरी मृत अवस्थामा शनिबार सेती नदीको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रियाको शव ऋषिङ गाउँपालिका–१ कोइदिमस्थित सेती नदीमा र रविनाको शव करिब तीन किलोमिटर पर ऋषिङ–३ स्थित मास्दीघाटमा भेटिएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए ।

शवको परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रविनाका पति रोजगारीका सिलसिलामा भारतमा रेहका र दुवै छोराछोरी शारीरिक रुपमा अशक्त रहेको बताइएको छ ।

प्रकाशित : वैशाख १३, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?