१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्याटेलाइट ट्यागजडित गिद्ध भारत–पाकिस्तान चहार्दै

प्रजनन केन्द्रमा हुर्किएका र त्यहीँभित्र जन्मिएका ९ वटा गिद्धले करिब १७ हजार वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेका छन् ।
प्रजनन गराएर हुर्काइएका गिद्ध पनि प्रकृतिमा बाँच्न सक्छन् भन्ने प्रमाणित भएको छ । – गोपालप्रकाश भट्टराई, महानिर्देशक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
अब्दुल्लाह मियाँ

काठमाडौँ — नवलपरासी (पूर्व) को पिठौलीमा स्याटेलाइट ट्याग ढाडमा बाँधेर छाडिएको एउटा जंगली गिद्ध करिब ११ सय किलोमिटर यात्रा गर्दै पाकिस्तानको जम्मु कश्मीरसम्म पुगेको पहिल्यै हो । दोस्रो पटक त्यहाँ पुगेपछि ऊ फर्केको छैन ।

स्याटेलाइट ट्यागजडित गिद्ध भारत–पाकिस्तान चहार्दै

गिद्धको ढाडमा रहेको स्याटेलाइट ट्यागले पठाएको तथ्यांक केलाउँदा प्रजनन केन्द्रमा हुर्किएका र त्यहीँभित्र जन्मिएका ९ वटा गिद्धले करिब १७ हजार वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेको देखिएको छ ।

गिद्ध अनुसन्धानमा काम गर्दै आएका पन्छी संरक्षण संघ (बीसीएन) का कृष्णप्रसाद भुसालले २० किमि आसपासमा यात्रा गर्ने गिद्धहरू भारतको उत्तरप्रदेश, बलरामपुरसम्म पुगेको पाइएको जानकारी दिए । पखेटामा बाँधिएको १० नम्बर ट्यागको गिद्ध १ सय ९३ किमि यात्रा गर्दै बलरामपुर पुगेको छ । ४४ नम्बर ट्याग रहेको गिद्ध ९०.३ किमि यात्रा तय गर्दै उत्तर प्रदेशकै महाराजगन्ज जिल्लामा पुगेको छ । मुलुकभित्रै पनि तिनले लामो यात्रा तय गर्ने गरेका छन् ।


‘प्रजनन केन्द्रभित्र हुर्किएका र त्यहीँ जन्मिएका स्याटेलाइट ट्याग बाँधेर छाडिएका गिद्धले पनि केही समययता लामो यात्रा तय गर्न थालेको देखिन्छ,’ भुसालले भने । विगतमा प्रजनन केन्द्रभित्र हुर्काएर छाडिएका गिद्धहरू नवलपरासीको कावासोतीमा रहेको जटायु रेस्टुरेन्ट आसपास क्षेत्र मात्र बस्ने गर्थे ।

लामो यात्रा गर्ने क्रममा कतिपय गिद्ध भने थाकेर कमजोर हुने गरेको पाइएको छ । पिठौलीमा छाडिएको एक गिद्ध यसै साता कमजोर अवस्थामा गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पुगेको थियो । धेरै उड्ने बानी नपरेकाले उक्त गिद्धलाई मनास्लु संरक्षण क्षेत्रका कर्मचारीले उद्धार गरेका थिए । त्यसलाई पिठौलीबाट गएका प्राविधिकले उद्धार गरेका हुन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकृतिका गिद्ध लोप हुनबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र त्यहाँ जन्मिएका गिद्धलाई प्राकृतिक वातावरणमा पुन:स्थापना गर्दै आएको छ । विभागले बीसीएन र प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रको सहयोगमा उक्त कार्य गरेको हो । विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई प्राकृतिक बासस्थानमा दुर्लभ बन्दै गएका गिद्धलाई पुन:स्थापना गर्न अघि बढाइएको प्रयास केही हदसम्म सफल भएको ठान्छन् । उनले भने, ‘प्रजनन गराएर हुर्काइएका गिद्ध पनि प्रकृतिमा बाँच्न सक्छन् भन्ने प्रमाणित भएको छ ।’

सन् २००८, २००९ र २०१० मा नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुर, अर्घाखाँची, पाल्पा, स्याङ्जा र कास्कीबाट ६० वटा डंगर गिद्धका बच्चा ल्याएर संरक्षण थालिएको हो । केन्द्रमा रहेका गिद्धले सन् २०१२ देखि अन्डा पार्न सुरुवात गरेका थिए । अहिलेसम्म त्यहाँ १८ वटा बच्चा कोरलिएका छन् ।

विभागका अनुसार सन् २०१७ मा ६, सन् २०१८ मा १२ र सन् २०१९ मा १३ गरी ३१ वटा डंगर प्रजातिका गिद्धलाई स्याटेलाइट ट्याग बाँधेर प्राकृतिक बासस्थानमा छाडिएको छ । विभागले गिद्ध पुन:स्थापना कार्ययोजना २०१६–२०१९ अनुसार ती कार्य अघि बढाएको थियो ।

प्रजनन केन्द्रमा हुर्काएर छाडिएका गिद्धमध्ये ३ जोडीले प्रजनन अवधिमा जोडी बनाई गुँड बनाउने प्रयास गरेको देखिएको छ । यसले संरक्षणकर्मीलाई उत्साहित बनाएको छ । ती गिद्धको नियमित अनुगमनका लागि ढाडमा बाँधिएका स्याटेलाइट ट्यागमार्फत प्राप्त हुने संकेतलाई पछ्याउने गरिन्छ ।

विभागका इकोलोजिस्ट उपसचिव हरिभद्र आचार्यका अनुसार प्रजनन केन्द्रभित्रै जन्मेका र बाहिरबाट बच्चा ल्याएर हुर्काइएका ३१ बाहेक जंगलमै रहेका थप ३० वटा गिद्धलाई पनि ट्याग बाँधेर छाडिएको छ । प्रजनन केन्द्र (क्याप्टिभ) मा हुर्किएका र जंगलमा (प्राकृतिक वातावरणमै) रहेका गिद्धबीचको अन्तरक्रिया तथा तुलनात्मक अध्ययनका लागि त्यसो गरिएको हो ।


स्याटेलाइट ट्याग बाँधिएका जंगली (प्राकृतिक वातावरणमै रहेका) गिद्धले करिब २० जिल्ला घुमफिर गरिरहेको देखिएको छ । ती ३० वटा गिद्धले २५ हजार वर्ग किलोमिटर क्षेत्रमा विचरण गरेको देखिएको छ । त्यहीमध्येको एउटा गिद्ध कावासोतीको पिठौलीबाट करिब ११ सय किलोमिट यात्रा गर्दै भारत र पाकिस्तानको सीमा जम्मु कश्मीर क्षेत्र पुगेर फर्किएको हो ।

स्याटेलाइट ट्याग जडान गरिएका गिद्धहरू कुन–कुन ठाउँमा जान्छन्, कस्तो सिनो खान्छन्, तिनको बासस्थान कस्तो छ र कतातिर विचरण गरिरहेका छन् भनेर सम्बन्धित ठाउँमै गएर निरीक्षण गर्ने गरिएको छ ।

स्याटेलाइट ट्याग गरिएका गिद्धको प्रकृतिमा मृत्यु भए तिनको संकलित नमुनामा डाइक्लोफेनेकको अवशेष शून्य पाइयो भने ती गिद्ध सुरक्षित क्षेत्रमा छन् भनेर वैज्ञानिक प्रमाणीकरण गरिन्छ ।


सन् १९९० तिर नेपालसहित दक्षिण एसियामा पशु उपचारको क्षेत्रमा डाइक्लोफेनेक सर्वव्यापी र सर्वप्रिय दुखाइ कम गर्ने औषधिका रूपमा प्रख्यात थियो । त्यतिबेला ५० लाखदेखि एक करोड रुपैयाँसम्मको डाइक्लोफेनेक पशु उपचारमा प्रयोग भएको पाइएको छ । त्यही डाइक्लोफेनेक खुवाइएका पशु उपचारकै क्रममा वा ७ दिनभित्र मरे त्यसको विषाक्तपन सिनो खाने गिद्धमा सर्छ । जसका कारण रगतमा युरिक एसिडको मात्रा बढी भित्री अंगमा पत्थर जमेपछि मृगौलाले काम गर्न छाड्ने र केही दिनमै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ । सरकारले २०६३ जेठ २३ देखि डाइक्लोफेनेकको आयातमा रोक लगाएको छ । त्यो बेच्ने, उत्पादन गर्ने र भण्डारण गर्नेलाई जरिवानासमेत तोकेको छ । त्यसको सट्टा सन् २००६ देखि नै ‘मेलोक्सिक्याम’ आविष्कार गरी प्रवद्र्धन गरिएको छ ।

प्रकाशित : वैशाख १३, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?