प्रहरीसँग छैन घर फर्कनेको विवरण

काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरू नागढुंगा र जगाती नाका हुँदै दैनिक सयौं यात्रुवाहक सवारी साधनमा घर फर्किरहेका छन् तर प्रहरीले कुन गाडीमा को कहाँ गए भन्ने विवरण राखेको छैन ।

काठमाडौं, काभ्रे, धादिङ — स्थानीय तहले घर फर्कने सवारी साधनको व्यवस्था गरेपछि काठमाडौं उपत्यकाबाट सर्वसाधारण धमाधम बाहिरिन थालेका छन् । सिट क्षमताभन्दा बढी कोचिएरै उनीहरू घर फर्किरहेका छन् । तर, प्रहरी प्रशासनले यात्रुको विवरण नराख्दा झन् जोखिम बढेको छ । यसरी समूहमा गएका यात्रुमध्ये कसैलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएमा ट्रेसिङ गर्न समस्या हुने विज्ञहरू बताउँछन् ।

प्रहरीसँग छैन घर फर्कनेको विवरण

उपत्यकाबाट बाहिरिने मुख्य नाका काठमाडौंको नागढुंगा र भक्तपुरको जगाती हुन् । कोटेश्वर हुँदै गएको बसको जगाती र काभ्रेको साँगामा बस नम्बर, कहाँबाट आएको, कहाँ पुग्ने, चालकको नाम, मोबाइल नम्बर, यात्रु संख्या र समय टिपोट गर्ने गरिएको छ । तर, यात्रुको नामथर र ठेगाना भने टिपिएको छैन । सोमबार र मंगलबार स्थानीय तहले बस रिजर्भ गरेर काठमाडौंमा अलपत्र आफ्ना पालिकावासीलाई फिर्ता लगेका छन् । गाउँमा को आए भन्ने विवरण स्थानीय तहले समेत राखेका छैनन् ।

‘कुन नाकाबाट कति बस गए भन्ने विवरण हामीसँग छैन,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले भने, ‘हामीले अत्यावश्यक सामान ढुवानी गर्ने सवारीको मात्रै विवरण लिने गरेका छौं ।’ साँगास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतका अनुसार मंगलबार साँझ ७ देखि बुधबार बिहान ५ बजेसम्म दुई सय ६८ वटा बस छुटेका छन् । त्यस्तै, ३० वटा साना सवारीमा पनि यात्रु सवार थिए । बस, ट्रक र साना गाडी गरेर १० हजार ६ सयभन्दा बढी यात्रु बाहिरएको प्रहरीले जनाएको छ । मंगलबार मात्रै दोलखातर्फ एक सय ४२, सिन्धुलीतर्फ २८, सिन्धुपाल्चोकतर्फ १२, काभ्रेका विभिन्न स्थानमा १४, उदयपुरतर्फ ६, ओखलढुंगा र सप्तरीतर्फ ४र४ र सिरहा र सुनसरीतर्फ १र१ वटा गाडी यात्रु बोकेर गएका छन् । केही साना गाडी र मोटरसाइकलमा घर फर्कनेहरू पनि छन् । ‘उपत्यका बाहिर कुन सवारीमा को चढेका छन्, हामीसँग रेकर्ड छैन,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले भने, ‘अब जान नदिन कडाइ गरिरहेका छौं ।’

भक्तपुर प्रहरीको तथ्यांकअनुसार एक सातायता ३२ हजार नागरिकले अरनिको राजमार्गअन्तर्गत जगाती चेक प्वाइन्ट हुँदै सवारी साधनमार्फत राजधानी छोडेका छन् । मंगलबार मात्र दुई सय ७९ गाडीमा ११ हजार पाँच सय ६४ यात्रु घर फर्किएको तथ्यांक प्रहरीसँग छ । राति गएका बसको आधारमा आठ हजार पाँच सय यात्रु बाहिरिएको प्रहरीको अनुमान छ । बसमा लैजाने भन्दै मन्त्री, सांसद र स्थानीय तहका प्रमुख नै सडकमा आएपछि तथ्यांक व्यवस्थापन गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले रुकुम, रोल्पा र जाजरकोटका करिब चार हजार व्यक्तिलाई गाडी रिजर्भ गरी पठाएपछि अन्य स्थानीय तहले पनि बस रिजर्भ गरेर आफ्ना स्थानीयलाई फिर्ता लगेका हुन् । ट्राफिक प्रहरी गजुरीका अनुसार सोमबार र मंगलबार ५४ वटा बसबाट सर्वसाधरण गाउँ फर्केका छन् । उनीहरू रोल्पा, रुकुम, सल्यान गएका हुन् । उनीहरू भक्तपुरको इँटाभट्टामा काम गर्थे । यस्ता बसलाई यात्रुले दुई हजार पाँच सय रुपैयाँसम्म भाडा तिर्ने गरेका छन् । बिहीबार थप पाँचवटा बसबाट सर्वसाधारण गाउँ फर्केका छन् ।

गजुरी ट्राफिकका इन्चार्ज प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले दर्जनौं बस मजदुर उद्धार नामको ब्यानर टाँगेर लस्करै जाने गरेको बताए । प्रहरीसँग ती यात्रुको पनि विवरण छैन ।

स्वास्थ्य जाँच न्यून

यतिबेला राजधानीमा अलपत्र परेका मजदुर घर पठाउने होडबाजी चलेको छ । लकडाउनको समयमा गाउँ फर्किएका नागरिकको स्वास्थ्य परीक्षण गरिएको छैन । जगातीस्थित महानगरीय प्रहरी वृत्तले ज्वरो नाप्न थर्मल गनको व्यवस्था गरे पनि प्रभावकारी देखिएको छैन । मंगलबारसम्म २२ हजार जनाभन्दा बढीले राजधानी छोडेको तथ्यांकमा भए पनि हालसम्म दुई हजार दुई सय ८४ जनाको मात्र तापक्रम नापेको नामावली छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सवारी साधन र यात्रु संख्याको मात्रै रेकर्ड राखिएको बताए । ‘हामीले संख्या मात्रै टिपोट गरेका छांै, अन्य विवरण र व्यवस्थापन स्थानीय तहले गर्ने गरी समन्वय गरेका छौं,’ उनले भने । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतापछि स्वास्थ्य परीक्षण गरेर मात्रै पठाइएको बताए । ‘परिवारका सदस्यले वडा कार्यालयमा निवेदन दिएपछि क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतापछि बनेपामा ज्वरो नापेर मात्रै पठाएका हौं,’ जिम्वाले भने, ‘बीचमा कोही यात्रु थपिन सक्ने भएकाले गाउँपालिकाको प्रवेशद्वारमा पुनस् स्वास्थ्य परीक्षण गरेर मात्रै छोडेका छौं ।’

जिल्ला कमान्ड पोस्टले १३ वटै तहका प्रमुखसँगको बैठकमा उपत्यकामा अलपत्र परेका पालिकावासी र गाउँमा अलपत्र परेका अन्य जिल्लाका मजदुरहरूलाई उद्धारको व्यवस्था गर्न अनुरोध गरेको थियो ।

चार हजार मजदुर इँटाभट्टामै रोकिए

भक्तपुरको इँटाभट्टामा कार्यरत चार हजार एक सय ९८ मजदुर लकडाउनका कारण घर जान पाएका छैनन् । उनीहरूलाई घर पठाउन सम्बन्धित स्थानीय तहमा पहल भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले बताए । बुधबारसम्म जिल्लामा सञ्चालित ६३ इँटाभट्टामा कार्यरत १६ हजार आठ सय १३ मजदुर फर्किसकेको प्रहरीले जनाएको छ ।

यहाँका इँटाभट्टामा दुई हजार नौ सय २३ भारतीय नागरिक कार्यरत छन् । उनीहरूलाई भने इँटा व्यवसायीले बस्ने व्यवस्था मिलाउनुपर्नेमा एसपी प्रधानले जोड दिए । भारतीय नागरिक कसैलाई पनि फिर्ता नगरिने उनले स्पष्ट पारे ।

प्रकाशित : वैशाख १२, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?