१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कोभिड-१९ विरुद्ध सरकार कति सफल ?

लकडाउनअघि विदेशबाट आउने व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकार चुक्यो । एक महिनादेखिको लकडाउनका कारण संक्रमण नियन्त्रणमा छ तर लामो समयसम्म यस्तै अवस्था राख्न सम्भव छैन । लकडाउनपछि के गर्ने त ? यससम्बन्धमा पनि सरकारले खासै तयारी गरेको छैन ।
गंगा बीसी

काठमाडौँ — मुलुकमा लकडाउन भएको एक महिना पुग्यो । कोभिड–१९ विरुद्धको लडाइँमा सरकार कति सफल भयो त ?
सरकारको दाबी छ, ‘कोभिड–१९ नियन्त्रणमा सरकार सफल छ ।’ प्रतिपक्षी दलका नेता भन्छन्, ‘लकडाउनका कारण संक्रमण व्यापक फैलिएन । सरकारले गर्नुपर्ने धेरै काम छन् ।’ चैत पहिलो सातादेखि कोरोनाविरुद्ध उत्रिएको सरकारले यो एक महिनाको अवधिमा के गर्‍यो ? समीक्षा सुरु भएको छ ।

कोभिड-१९ विरुद्ध सरकार कति सफल ?

सरकारले लकडाउन गरेका कारण संक्रमण विस्तार हुन पाएन । अर्थमन्त्री, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले एक महिनाको अवधिमा संक्रमण व्यापक नफैलिनु उपलब्धि भएको बताए । ‘संक्रमणको केस यतिमै सीमित हुनु एउटा पक्ष हो, अहिलेसम्म कसैको मृत्यु भएको छैन,’ उनले भने, ‘निको भएर घर फर्किरहनुभएको छ ।’

पूर्ण लकडाउनको मुख्य काम संक्रमण रोक्नु हो । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापाले नमुना परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा सरकार चुकेको बताए । ‘परीक्षण बढाउँदै लगिएको छ, यो राम्रो कुरा हो तर पीसीआर कि आरडीटी परीक्षणमा अलमल रह्यो,’ उनले भने, ‘संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानमा चुस्तता देखिएन । जसका कारण थप संक्रमणको जोखिम रहिरहन्छ ।’

लकडाउनअघि विदेशबाट आउने व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकार चुक्यो । विदेशबाट जहाजमा आएका व्यक्तिको ट्रेसिङ प्रभावकारी ढंगले गरेको भए संक्रमणको त्रास कम हुन्थ्यो । लकडाउन हुनुअघि चैत महिनाभित्र करिब २० हजार व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका थिए । उनीहरू क्वारेन्टाइनमा बसे/नबसेको स्पष्ट छैन । चार संक्रमितसँगै आएका सबै यात्रुको ‘कन्ट्याक्ट ट्रेसिङ’ अझै पूरा भएको छ । यसबीचमा संक्रमण रोकथाम गर्न सरकारको लकडाउन प्रभावकारी रह्यो । ‘लकडाउन बेलैमा गरेर सरकारले राम्रो काम गर्‍यो,’ जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षित भन्छन्, ‘यसबाट संक्रमण विस्तार हुन पाएन ।’

मुलुकमा संक्रमण भित्रिएपछि सरकारले रातदिन लगाएर स्वास्थ्य संस्थाहरू क्षमताले भ्याएसम्म उपचारका लागि तयारी अवस्थामा राख्यो । काठमाडौं, प्रदेश र स्थानीय तहसम्मका स्वास्थ्य संस्थामा कम्तीमा बिरामीलाई आइसोलेसन गर्ने व्यवस्था गर्‍यो । यो एक महिनाको अवधिमा स्वास्थ्य संस्थाको क्षेत्रमा गरेको काम यसअघि एक वर्षमा पनि भएको थिएन । पूर्वस्वास्थ्यमन्त्री थापाले यो पर्याप्त नभएको बताए । ‘हामीसँग संक्रमितको संख्या कम छ, त्यसकारण स्वास्थ्य संस्थाबारे खास कुरा बाहिर आएको छैन,’ उनले भने, ‘संक्रमण व्यापक हुने हो भने यो तयारी केही पनि होइन ।’ उनले सरकारले आफूसँग भएको साधनस्रोतको पर्याप्त सदुपयोग गर्न नसकेको बताए । ‘कुन अस्पतालले के गर्ने भनेर तोकियो भने धेरै गर्न सकिने ठाउँ छ,’ उनले भने ।

हाल सरकारले कोरोना उपचारका लागि २५ वटा हब अस्पताल तोकेको छ । जिल्लामा रहेका अन्य अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड–१९ नमुना परीक्षणका लागि यो एक महिनाको अवधिमा १५ वटा प्रयोगशाला विस्तार गर्‍यो । सातै प्रदेशमा पीसीआर परीक्षण ल्याब स्थापना नगरेको भए हालसम्म परीक्षण अझ थोरै हुन्थ्यो । बिहीबार बेलुकासम्म नौ हजार एक सय ९९ पीसीआर विधिबाट नमुना परीक्षण भएको छ । परीक्षणबाट ४७ जनामा संक्रमण भएको पुष्टि भएको छ । संक्रमित १० निको भएर घर फर्किसकेका छन् । त्यस्तै हालसम्म आरडीटी विधिबाट ३५ हजार पाँच सय २३ परीक्षण भएको छ ।

केही स्वास्थ्य सामग्री खरिदमा विवादबीच सरकारले पीसीआर किट, पीपीई सामग्री सबै प्रदेशमा पुर्‍यायो । सुरुका दिनमा मनोबल खस्किएका स्वास्थ्यकर्मीको मनोबल केही हदसम्म बढ्यो । प्रवक्ता खतिवडाले हाल औषधिको कुनै समस्या नभएको बताए । उनले सुरुमा स्वास्थ्य सामग्रीको समस्या भए पनि अहिले सहज भएको दाबी गरे । ‘अहिले औषधि, उपकरण प्रशस्त आएको छ, समस्या छैन,’ उनले भने, ‘तीन चार महिना पुग्ने औषधि स्टक छ । सन्तोष गर्नुपर्ने धेरै काम छन् ।’

प्रवक्ता खतिवडाले राजधानीमा दैनिक आवश्यक वस्तु अभाव हुन नदिनु उपलब्धि भएको बताए । ‘आमरूपमा आपूर्ति सहज छ,’ उनले भने ।

सरकार कहाँ चुक्यो ?

लकडाउनलगत्तै सरकारले हतारमा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्‍यो । ओम्नी समूहबाट खरिद गरिएका ती सामग्री खरिदमा ‘भ्रष्टाचार’ भएको भन्दै विवादित भयो । ओम्नी समूहसँग गरेका ठेक्का सरकारले रद्द गर्‍यो । त्यसपछि स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिइयो । स्वास्थ्य मन्त्रालयले आफैं गर्न सक्ने काम सेनालाई किन दिइयो भन्ने प्रश्न उठ्यो । सेनाले चीन र भारतबाट स्वास्थ्य सामग्री खरिद अन्तिम चरणमा पुर्‍याएको छ । दोस्रो खेप स्वास्थ्य सामग्री ल्याउन एक महिना नलाग्नुपर्ने हो । ‘अस्पतालमा स्वास्थ्य सामग्री सुरुको अवस्थामा जे थियो, अहिले पनि त्यही छ,’ पूर्वस्वास्थ्यमन्त्री थापाले भने ।

चैत पहिलो साता अन्तर्राष्ट्रिय उडान स्थगित गरे पनि नेपाल र भारतको सिमाना खुलै थियो । लकडाउनअघि भारतबाट हजारौं नेपाली फर्किए । लकडाउनपछि पनि सीमामा सयौं नेपाली व्यवस्थापन गर्न सरकार चुक्यो । नेपाल छिरिसकेका व्यक्तिहरूलाई उचित ढंगले क्वारेन्टाइन गर्न सकेन । उनीहरूबाट संक्रमणको ठूलो जोखिम थियो, केही हदसम्म कोरोना संक्रमण फैलन सक्ने जोखिम अझै छ । अर्को सीमामा आएर भारततर्फ क्वारेन्टाइनमा बसेका नेपालीले निकै दु:ख पाए । दुवै देशमा लकडाउन भएका कारण उनीहरू अझै सिमानामा अड्किएका छन् ।

सरकारका प्रवक्ता युवराज खतिवडाले भारतबाट आएका नेपालीलाई सीमामै क्वारेन्टाइनमा राखेर संक्रमण रोकेको बताए । ‘सीमापारिबाट हुने संक्रमण रोक्न सक्यौं, यो सजिलो विषय थिएन, छिमेकी राष्ट्रसँगको सम्बन्धको कुरा थियो,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने ।

लकडाउन भएपछि राजधानी र पोखरा क्षेत्रमा कार्यरत मजदुरहरू सयौं किलोमिटर हिँडेर पैदल घर फर्किए । उनीहरूलाई सरकारले बेलैमा न राहत दिन सक्यो, न घर फर्कने व्यवस्था गर्‍यो । यो साता भने स्थानीय सरकारले हजारौं व्यक्तिलाई यातायातको व्यवस्था गरी काठमाडौंबाट आ–आफ्नो क्षेत्रमा लगे । तर त्यहाँ पनि क्वारेन्टाइनको समस्या अझै छ । विज्ञहरूले ठूलो भीड गरेर फर्किएका व्यक्तिबाट संक्रमण हुनसक्ने जोखिम औंल्याएका छन् ।

परीक्षण न्यून र स्पष्ट मापदण्ड नबन्नु

विज्ञहरूले सुरुदेखि नै पीसीआर परीक्षण विधिलाई जोड दिँदै आएकोमा सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत रहेको आरडीटी किट प्रयोगमा ल्यायो । यसबारे सुरुमा परीक्षण ‘प्रोटोकल’ बनाउन सकेन । ‘सुरुमा परीक्षण प्रोटोकल बनाउनुपर्थ्यो, पीसीआर परीक्षणलाई मुख्य जोड दिनुपर्थ्यो,’ जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षित भन्छन्, ‘खासगरी भारतबाट आएका नेपालीका पीसीआर परीक्षण गरी घर पठाएको भए ढुक्क हुन्थ्यो ।’ उनले दक्षिण कोरियाले देश लकडाउन नगरी पीसीआर विधिबाट परीक्षण गरी संक्रमण नियन्त्रण गरेको बताए ।

एक महिनामा पीसीआर परीक्षण ३० हजारभन्दा बढी गरिसक्नुपथ्र्यो । सरकारले आरडीटी परीक्षणलाई जोड दिएको पाइन्छ । अबको एक महिनामा ५० हजार पीसीआर परीक्षण पुर्‍याउने सरकारको तयारी छ । जबकि यो एक महिनामा करिब १० हजार पीसीआर विधिबाट परीक्षण भएको छ ।

आगामी तयारी कमजोर

लकडाउनपछि सरकारको तयारी के छ ? लकडाउन अन्त्य गरिसकेपछि पनि संक्रमणको जोखिम रहन्छ । अर्कोतर्फ अर्थतन्त्र चलायमान गर्न लकडाउन आंशिक रूपमा खोल्नुपर्ने आवश्यकता पर्न थालेको छ । पूर्वस्वास्थ्यमन्त्री थापा भन्छन्, ‘लकडाउनपछि के गर्ने सरकारको तयारी छैन । लकडाउन लामो समय राख्न सकिँदैन, संक्रमण रोक्नु पनि छ, अन्य सेवा सुचारु पनि गर्नु छ । यो बेला सरकारको केही तयारी देखिँदैन ।’

उनले एक महिना कोरोना उपचारमा केन्द्रित गरिएका स्वास्थ्य संस्थाहरूमा अन्य रोगको उपचार सुचारु गर्नुपर्ने बताए । ‘रोकिएका उपचार अब सुरु गर्ने बेला भयो, रोकिएका शल्यक्रिया, क्यान्सरजस्ता उपचार गर्नुपर्छ । यसतर्फ अहिले नै ध्यान दिनुपर्छ ।’

उनले लकडाउन पूर्ण वा आंशिक रूपमा खोल्ने अवस्थामा संक्रमण रोक्न उत्तिकै चुनौती भएको बताए । ‘अहिले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरे पुग्ने अवस्था छ, लकडाउन खोलेको अवस्थामा तीन तहका सरकारका सबै संयन्त्र परिचालन नगरे संक्रमण जोखिम रहिरहन्छ,’ उनले भने ।

जनस्वास्थ्य वैज्ञानिक दीक्षितले लकडाउनपछि संक्रमण रोक्ने खास तयारी नभएको बताए । ‘लकडाउन अन्त्यपछि संक्रमण कसरी रोक्ने ? सरकारको तयारी के छ ?’ उनले भने, ‘संक्रमण देखिएका ‘हटस्पट’ बाहेक अरू क्षेत्रमा आर्थिक गतिविधि गर्दा अब खासै जोखिम देखिँदैन ।’ उनले नेपाल र भारतको लामो सीमाक्षेत्र अहिले पनि संक्रमणको ‘हटस्पट’ भएको बताए । उनले लामो दूरीका सार्वजनिक यातायात, विमानस्थल अझै बन्द गर्नुपर्ने जनाए । तर, बालबालिकालाई खोप र अन्य रोगेको उपचार सुचारु गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख १२, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?