कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लकडाउनमा पनि सहजै सुत्केरी सेवा

लकडाउन अवधिमा प्रादेशिक अस्पतालमा ४ सय ४४ जना सुत्केरी भएका छन्। यो संख्या अघिल्लो महिनाको भन्दा बढी हो।
चाँदनी कठायत

वीरेन्द्रनगर — चैत २३ गते राति बराहताल गाउँपालिका–४, सुर्खेतकी २४ वर्षीया नन्दा परियारलाई सुत्केरी बेथाले च्याप्यो। लकडाउन भए पनि खासै आत्तिनुपर्ने अवस्था आएन । किनभने घरका मान्छेले पहिल्यै एम्बुलेन्सको नम्बर टिपेर राखेका थिए ।

लकडाउनमा पनि सहजै सुत्केरी सेवा

आफन्तले प्रदेश अस्पतालमा फोन गरी एम्बुलेन्स बोलाए। ‘फोन गरेको एक घन्टामै एम्बुलेन्स आइपुग्यो,’ नन्दाका श्रीमान् विक्रमले भने, ‘लकडाउनले समस्या हुन्छ कि भनेर डर लागेको थियो, तर समयमै अस्पताल ल्याएपछि राम्रो भयो।’ अस्पतालमा छोरी जन्मेकी र श्रीमतीको अवस्था पनि सामान्य रहेको उनले सुनाए ।

लकडाउनले जनजीवनसँगै स्वास्थ्य सेवा प्रभावित भए पनि गर्भवती र सुत्केरीले पाउने सेवामा भने खासै प्रभाव परेको छैन। वीरेन्द्रनगर नगरपालिका-७ की सम्झना राना पनि आफूलाई सामान्य बेथा लागेको महसुस हुनेबित्तिकै प्रदेश अस्पताल पुगिन्। कोरोना भाइरसका कारण आफ्नो सुत्केरी अस्पतालमा नहुने हो कि भन्ने डरैडरमा थिइन् उनी। तर, अस्पतालमा सामान्य अवस्थामै उनको प्रसूति भयो ।

‘अहिले त सबै अस्पतालमा कोरोना भाइरस लागेकोलाई मात्र हेर्ने हो कि भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर मलाई त्यहाँ पुगेपछि त्यस्तो डरलाग्दो अवस्था केही आएन, सजिलै डेलिभरी भयो, छोरा जन्मियो।’ सम्झनालाई सुरुमा लकडाउन र कोरोनाका कारण अस्पतालमा सुत्केरी गराइँदैन भनेर सल्लाह पनि दिएका थिए। तर घरमा सुत्केरी हुनुभन्दा अस्पताल नै जान्छु भनेर गएको उनले बताइन् ।

चैत ११ गतेदेखि सरकारले लकडाउन गरे पनि प्रदेश अस्पतालमा प्रसूति सेवा प्रभावित भएको छैन। लकडाउन अवधि सुरु भएदेखि बिहीबारसम्म ४ सय ४४ जनाको प्रदेश अस्पतालमा प्रसूति भएको छ।

तीमध्ये ७१ जनाको शल्यक्रिया भएको छ भने ३ सय ७३ को सामान्य सुत्केरी भएको अस्पतालका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको कात्तिकमा २ सय ९२, मंसिरमा ३ सय ३१, पुसमा ६ सय २३, माघमा ४ सय ५ र फागुनमा ४ सय २२ जना प्रदेश अस्पतालमा सुत्केरी भएका छन् ।

यस आवको चैतसम्मको तथ्यांक हेर्दा ३ हजार ९ सय ३२ जनाले अस्पतालमा सुत्केरी गराएका छन्, जसमा ३ हजार २ सय ५३ को सामान्य प्रसूति भएको छ। उनले ६ सय ७९ जनाको सामान्य अवस्थामा सुत्केरी भएको जानकारी दिए।

यो तथ्यांक हेर्दा लकडाउनको अवधिमा पनि अस्पतालले प्रसूति सेवामा कुनै कमी गरेको छैन। प्रदेश अस्पतालमा गत वर्ष ४ हजार ४ सय १९ जना सुत्केरी भएकोमा ८ सय ८८ को शल्यक्रिया भएको थियो भने बाँकीको सामान्य सुत्केरी भएको थियो ।

अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पतालले सेवा बढाउनुका साथै सहजता पनि प्रदान गरेकाले पनि सुत्केरी हुन आउनेको संख्यामा कमी नआएको बताए। लकडाउनका कारण आवतजावतमा केही समस्या भए पनि गर्भवती अवस्थामै सम्पूर्ण पूर्वतयारी गरिने हुनाले खासै समस्या झेल्नु नपरेको उनको भनाइ छ।

‘हामीले कोरोनाकेन्द्रित भएर काम गरे पनि जटिल अवस्थाका अन्य बिरामीको सेवामा कुनै अभाव खड्किन दिएका छैनौं,’ उनले भने, ‘सुत्केरी र गर्भवतीको सवालमा त अस्पताल अझ बढी गम्भीर भएर सेवा प्रवाह गरिरहेको छ।’ लकडाउनअघि सामान्य अवस्थामा कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रसूति गराउन आउने भए पनि अहिले बाहिरबाट नआएको उनले बताए ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि लकडाउनको समयमा सुत्केरी हुन आउनेको संख्या घटेको छैन। प्रतिष्ठानका अस्पताल निर्देशक मंगल रावलले अहिले पनि पहिलाकै तुलनामा दैनिक ५ जनासम्मको सुत्केरी भइरहेको बताए। ‘पहिले र अहिलेको अवस्था उस्तै छ,’ उनले भने, ‘नजिकै भएकाले पनि आउन सहज हुन्छ, यहाँभन्दा दुर्गम भेगका त धेरैजसो घरमै सुत्केरी हुन्छन्, अवस्था गम्भीर भएपछि उद्धार भएर सुर्खेत जान्छन्।’

चालु आर्थिक वर्षको फागुनसम्ममा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धारमार्फत कर्णालीका २६ जना सुत्केरीको उद्धार भएको छ। लकडाउन अवधिमा पनि देशका दुर्गम जिल्लाका ८ जना सुत्केरीको उद्धार गरिएको कार्यक्रमकी कर्मचारी प्रमिला भण्डारीले बताइन्।

उनका अनुसार लकडाउनको अवधिमा कर्णालीका मात्रै ४ जना सुत्केरीको उद्धार भएको छ। ‘लकडाउनले गर्दा उद्धारमा कुनै कमी हुनेछैन,’ उनले भनिन्, ‘खबर पाउनेबित्तिकै सम्बन्धित ठाउँमा पुगेर सुत्केरीको उद्धार गर्ने वातावरण तुरुन्त मिलाउँछौं।’

प्रकाशित : वैशाख ११, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?