कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सर्वेन्द्र खनालको बयान- सांसद यादव बालुवाटार जाने भनेरै आएका हुन्

जनकराज सापकोटा

काठमाडौँ — समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरणमा परेको भन्दै बुधबार सोही पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले फेसबुक स्टाटस लेखे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै योजना अनुरुप राज्यमन्त्री यादवको अपरहण गरिएको आरोप लगाए ।

सर्वेन्द्र खनालको बयान- सांसद यादव बालुवाटार जाने भनेरै आएका हुन्

बुधबार जनकपुरबाट ल्याइएका यादवलाई लिन काठमाडौंबाट नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाल काठमाडौंबाट गएका थिए । उनीहरुले साथमा लिएर नभइ अपहरण गरेर नै ल्याएको भन्ने सूचना बाहिरियो ।

कान्तिपुरसँगको कुराकानीमा पूर्व आईजीपी खनालले आफू जनकपुर गएको स्वीकारे । उनले बुधबारयताको घटनाक्रम यसरी बताए:

मंगलबार घर फर्किन नपाएर अलपत्र परेका मान्छेलाई कसरी उद्धार गर्ने भनेर म भक्तपुरमा सांसद महेश बस्नेत र किसान श्रेष्ठसँग गफ गरिरहेको थिएँ । अलपत्र परेकालाई नि:शुल्क खाना खुवाउने कुरा पनि भइरहेको थियो ।

त्यहीबेला जनकपुर जाने र सांसद सुरेन्द्र यादवसँग कुरा गर्ने भन्ने कुरा आयो । म जनकपुरमा एसपी भएर रहँदा नै मेरो चिनजान सांसद उमाशंकर अरगरियासँग थियो । उनको सांसद महेशजीसँग पनि कुराकानी भइरहेको रहेछ । त्यही बेला मसँग पनि कुरा भयो । उहाँले नै मसँग सुरेन्द्रलाई काठमाडौं ल्याउनुपर्ने, लकडाउन भयो भन्ने कुरा गर्नुभयो । अरगरियाले भनेपछि मैले पनि सासंद सुरेन्द्रसँग कुरा गरें । उनले आफू लकडाउनमा परेको र काठमाडौं आउनुपर्ने भएको कुरा सुनाए । उनी र महेशबीच पनि कुरा भयो ।

महेशहरुले सांसद सुरेन्द्रसँग भएको कुराबारे बालुवाटारमा पनि जानकारी गराए । 'ऊ आउने खालको छ भने एप्रोच गर्दा हुन्छ' भन्ने खालको कुरा आयो । यो बिषयमा कसले डिल गरिरहेको छ भन्ने थाहा भएन । तर मसँग कुरा गर्दा भने सुरेन्द्रले राम्रै कुरा गरे ।

महेश र किसानले पनि जनकपुर जाने र कुरा गर्ने भनेपछि हामी मंगलबार त्यस्तै ४ बजेतिर हिँड्यौं । जाम पनि खोलखाल गरेर हामी बीपी हाइवे हुँंदै बर्दिवास पुग्दा रात परिसकेको थियो । हामी त्यहींको गौतम होटलमा बस्यौं । म खासमा त्यता जाने भन्ने नै थिएन । बाहिर जाँदा चाहिने कपडा पनि मैले बोकेको थिइनँ । लगाएकै कपडामा रात काटें ।

हिजो (बुधबार) बिहान करिब नौ बजेतिर हामी यादवको घर पुग्यौं । त्यहाँ के-के राजनीतिक गफ पनि भयो । हामीले खाजा खायौं । मज्जाले भात पनि खायौं । अनि तीन बजेतिर हामी फर्कियौं । हामी आफ्नै गाडीमा थियौं । जाने विषयमा उनले कुरा गरे । राजनीतिक तहमा पनि कुरा भयो । उनको ईच्छा भने यता उपेन्द्र यादवसँग पनि कुरा मिलेन त्यही भएर भन्ने खालको थियो । उनको कुरा दोधारेखालको देखिन्थ्यो । पछि आश्वासन मिलेपछि उनी तयार भए क्यार । भित्रको गोप्य कुरा भने मलाई थाहा भएन ।

त्यहाँका अर्का डाक्टर सूर्यनारायणसँग पनि उनले कुरा गरे । अरगरियासँग पनि उनले बारम्बार कुरा गरे । सुरेन्द्रका भिनाजु पनि त्यहीं थिए । बालुवाटार छिर्ने भन्ने कुरामा सहमत भए ।

करिब ४ बजेतिर सुरेन्द्र, कौशल भन्ने प्रदेश सांसद, पिएसओ, भिनाजु गरेर दुईवटा गाडीमा उनीहरु हिँडे । हामी अर्को गाडीमा भयौं । राति धुलीखेलमा आएर खाना खायौं । काभ्रेतिर पुग्दा नै यता जनता पार्टी र समाजवादी पार्टी मिलेको भन्ने कुरा सुनियो । सांसद अपहरण भयो भनेर सामाजिक संजालमा लेखियो भन्ने कुरा पनि मैले बाटोमै सुनेको थिएँ । सांसद यादव त्यो कुरा सुनेपछि निकै रिसाए । उनले त्यसबारे घरमा पनि कुरा गरेका थिए ।

राति काठमाडौं छिर्दा साढे दुई हो कि तीन बजिसकेको थियो । महेश र किसानसहित उनीहरु मेरियट होटलमा छिरे । म बालुवाटार छिर्छु भनेर आएका सुरेन्द्रले पछि त्यस्तो गर्छन् भन्ने नै भएन नि ! उनी त आफै खुशीसाथ आएका थिए । उनीहरुको आफ्नो किसिमको कुरा थियो होला । उनले त प्रधानमन्त्रीसँग आज बिहान बालुवाटार आउँछु भनेर भनेका थिए । तर, राति नै दुई पार्टी एकीकरण भएपछि सायद उनले आफूलाई अनसेफ ठानेर बाबुरामकहाँ पुगेका होलान् ।

म नागरिक हुं । यस्ता कुराले मलाई किन विवादमा तान्ने । मैले जबर्जस्ती गरेको पनि होइन । मलाई भेट्दा त सुरेन्द्र खुशी नै भएका थिए । यो कुरा विस्तारै आउँला नि त !

प्रकाशित : वैशाख ११, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?