२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

जाे दुई वर्षको छोरा छाडेर जनआन्दोलनमा होमिइन्

सन्दर्भ : लोकतन्त्र दिवस
मधु शाही

बाँके — यो सेतु विकको घर हो ? पिँढीमा टोलाएर बसिरहेका शेरबहादुर विकले पहिलो आवाज सुनेनन् । दोस्रोपटक अलि ठूलो स्वरमा फेरि सोधें । उनी चनाखो भए । टाउको हल्लाउँदै घरतिर आउने इशारा गरे । पिँढीमा रहेको कुर्सीमा बस्न लगाए । चिसो पानी खुवाए र ‘केही थियो कि हजुर ?’ भन्दै उनी आफैंले कुरा कोट्याउन थाले ।

जाे दुई वर्षको छोरा छाडेर जनआन्दोलनमा होमिइन्

अटोरिक्सा चलाउने शेरबहादुर लकडाउनले घरै छन् । अटोरिक्सा थन्किएको छ । कान्छी पत्नी र छोराछोरी पाल्ने उनको जिम्मेवारी दिन प्रतिदिन बोझिलो बन्दै छ । वडाले लकडाउनमा दिएको १० किलो चामल सकिन लागेको छ । सहिद पत्नीको नाम लिएर आउने जोकोहीप्रति उनको ठूलो आशा हुन्छ । किनकि सेतुले नै उनको जीवनमा एकातिर शून्यता ल्याइदिइन् भने अर्कातिर जीवन जिउने आधार पनि । बाँकेस्थित खजुरा गाउँपालिका–३ ‘क’ गाउँमा सेतु विकको सानो झुप्रो थियो । अहिले त्यही झुप्रोमा टिनको छानो लगाइएको छ । उनी सहिद भएपछि सहयोगमा आएको ४ लाख रुपैयाँले छाप्रो घरमा टिनको छानो राख्न सकिएको थियो । शेरबहादुर सेतुको सम्झना गर्दै भन्छन्, ‘उनी सहिद बनिन्, घरमा टिन छायो ।’ तर उनकै कोखबाट जन्मिएका तीन छोराको अवस्थाले उनको खुसीमा अँध्यारो छायो । ०६२/६३ सालको दोस्रो जनआन्दोलनमा सेतु सहिद भएकी थिइन् । शेरबहादुरले पत्नी गुमाए । छोराहरूले आमाको काख गुमाए ।

वैशाख ५ को त्यो दिन उनी छोराहरूलाई लिएर नेपालगन्जस्थित सेतु विक चोकमा पुग्छन् । फूलका थुँगा सालिकमा चढाइदिन्छन्, अनि घर फर्कन्छन् । लोकतन्त्र दिवसमा समग्र सहिदलाई देशले सम्झिए पनि शेरबहादुर र उनका छोराहरूले वैशाख ५ गते नै सेतुको सम्झना गर्छन् । किनकि त्यही दिन उनले जनआन्दोलनमा सरिक हुँदा कुल्चिएर ज्यान गुमाएकी थिइन् ।

पुर्ख्यौली घर रुकुम भएका शेरबहादुर र सेतुको प्रेमविवाह भएको थियो । बाँकेको ‘क’ गाउँमा बस्दादेखि उनीहरू स्कुल पढ्थे । विवाह भयो । २५ वर्षको उमेरमा सेतुले तीन छोरा जन्माइसकेकी थिइन् । जेठो छोरा ८, माइलो ६ र कान्छो छोरो २ वर्षको हुँदा उनी जनआन्दोलनमा सरिक भएकी थिइन् । सेतु सानैदेखि विद्रोही स्वभावकी थिइन् । उनकी आफन्त सुशीला विकका अनुसार गाउँघरको अन्याय अत्याचारप्रति सेतु विरोध गर्थिन् । खास गरी दलित समुदाय व्यवस्थित हुन आफैंले परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता उनको थियो । शेरबहादुर त्यतिबेला भारतमा मजदुरी गर्थे । गाउँघरमा हुने सानोतिनो झगडा मिलाउन, महिला समूह गठन गरेर आर्थिक बचत गर्ने, विभेदविरुद्धको जनचेतना जगाउन र रक्सी पार्नु हुँदैन भन्दै गाउँका महिलालाई सचेत बनाउन सेतु घरघरै पुग्थिन् । उनको यो व्यवहारले शेरबहादुर कहिलेकाहीं दुःखी हुन्थे । ‘नेतागिरी गर्न छोड भन्थें,’ उनी सम्झन्छन्, ‘गाउँमा बसेपछि यी सबै गर्न जरुरी छ भन्दै मलाई सम्झाउँथिन् ।’

बाँकेस्थित खजुरा गाउँपालिका—३ ‘क’ गाउँमा रहेको सहिद सेतु विकको घर । पिँढीमा बसेका सेतु विकका श्रीमान् शेरबहादुर विक ।

भारतमा मजदुरी गर्न गएका शेरबहादुरले फोनमा समेत सेतुलाई सम्झाएका थिए । तीन छोराको स्याहार गर्दै बसेकी उनी वैशाख ४ गते माइत गएकी थिइन् । भोलिपल्ट टोलटोलमा माइक फुक्दै नेताहरू आए । चन्दा देऊ कि सयौं जनालाई खाना खुवाऊ, कि आन्दोलनमा हिँड भन्ने आवाज सुनियो । सेतुकी आफन्त सुशीला विकका अनुसार सेतु भने खाना खुवाउन अन्न छैन, चन्दा दिन पैसा छैन बरु छोराछोरी छाडेर आन्दोलनमा होमिन्छु भन्दै ठूलो आँट जुटाएर निस्किएकी थिइन् ।

सेतुका जेठा छोरा आशिष विक २३ वर्षका भए । आमा गुमाउँदा उनी ८ वर्षका थिए । आमाको मुहार कस्तो थियो भन्ने मगजमा धमिलो चित्र छ । माइलो भाइ र कान्छो भाइले त त्यही धमिलो अनुहार पनि सम्झन पाएनन् । कान्छो भाइ दुई वर्षको थियो । ‘भाइ राम्रोसँग हेर्नु म एकैछिनमा आउँछु’ भन्दै बज्यैको साथ छाडेर आमा आन्दोलनमा गएको दिन आशिष कहिल्यै भुल्न सक्दैनन् । वैशाख ५ गते उनले सम्झने पहिलो दृश्य नै त्यही हो । ‘आन्दोलनमा गएकाहरू बेलुका सबै फर्किए, आमा आउनुभएन,’ उनी भन्छन्, ‘त्यो रात आमा सम्झेरै बिताएँ ।’ सहिदको छोराछोरी भनेर पढ्ने अवसर पाएका आशिषले त्यसको सदुपयोग गर्न सकेनन् । ‘सबै सुविधा थियो, खै के कुरा पुगेन ? पढ्नै मन लगेन,’ उनी भन्छन् । सहिद आमाको छोरोभन्दा उनको छाती फुलिन्छ । त्यहीअनुसार आफ्नो करिअर बनाउन नसक्दा निराश छन् । माइलो छोराले पनि पढाइ छाडे । कान्छो छोरा एसओएसमा कक्षा ८ मा पढ्दै छन् ।

शेरबहादुर सहिद पत्नीको भन्दा पनि छोराहरूको भविष्य बिथोलिएकामा चिन्तित छन् । सहिद भएपछि तीन भाइ छोराको नाममा नाबालक खाता खोलेर सरकारले १० लाख रुपैयाँ बचत गरिदिएको छ । सुरुका एक–दुई वर्ष सेतुको सम्झनामा सहयोग गर्ने हात थुप्रै थिए । त्यति सहयोगले शेरबहादुरले झुप्रो हटाएर टिन लगाए । आफ्नै मिहिनेतले अटोरिक्सा किनेर भारत नगई स्वदेशमै रोजगार गर्न थाले । दिनभरि अटो चलाए पनि उनको घरमा चुल्हो जल्नमै ठिक्क छ । बल्लतल्ल सहयोगले छाएको टिनको घर अब कहिले भत्कने हो टुंगो छैन । ५ आना ऐलानी जग्गामा बस्दै आएका शेरबहादुरको आफ्नो सम्पत्ति भनेकै अटोरिक्सा हो । ऐलानी जग्गा पनि कुनै व्यक्तिको नाममा रहेको भनेर विवाद सुरु भएको छ । बेलाबखत बस्ती नै हटाउने खालका विवाद आउँछन् ।

४७ वर्षे शेरबहादुरलाई त्यो बस्तीसँग पत्नी सेतु विकको प्रेम समेटिएको छ । ‘बस्ती उजाडिए सेतुको इतिहास मेटिन्छ,’ उनी भन्छन्, ‘कहाँ गएर बस्ने हो ? एक टुक्रो जमिन छैन ।’

प्रकाशित : वैशाख ११, २०७७ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?