जनआन्दोलन-२ का प्रथम सहिद दर्शनलालका परिवार भन्छन् : ‘राज्यले अपमान मात्र गर्यो’
राजविराज — लकडाउनका बीच मंगलबार सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियास्थित जनआन्दोलन–२ का प्रथम सहिद दर्शनलाल यादवको घरमा पुग्दा उनकी ६५ वर्षीया अर्धांगिनी बच्चीदेवी यादव खेतमा गएकी थिइन् । उनका जीवितमध्येका जेठा छोरा सरोजकुमार यादव भेटिए ।
सहिद दर्शनलाल यादवको विषयमा कुरा गर्नेबित्तिकै उनी भावुक बने । ‘राज्यद्वारा कैयौं पटक लज्जित बनेको छु, यो पीडा मलाई र मेरो परिवारलाई मात्र थाहा छ,’ सरोजले भने, ‘सहिद परिवारको त अहिले कुनै सम्मानै छैन । राज्यका निकायमा हामीलाई माग्न आएको जस्तो व्यवहार भइरहेको छ ।’
बुवा सहिद हुँदा आश्वासन र प्रतिबद्धताका पोको दिनेहरू थुप्रै रहेको उनी सम्झन्छन् । ‘तर केही कार्यान्वयन भएन, अहिले परिवार पाल्न धौधौ छ,’ उनले भने । दर्शनलाल सहिद हुनुभन्दा अगावै उनका जेठा छोरा विनोद यादव माओवादी जनयुद्धमा ०५९ सालमा सुरक्षाकर्मीद्वारा मारिसकिएका थिए । पछि दर्शनलाल पनि सहिद भए ।
०४६ सालअघि दर्शनलाल तत्कालीन जिल्ला पञ्चायतमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । उनी वामपन्थी विचारधाराका भएको सूचनापछि जागिरबाट निकालियो । ०४६ सालको जनआन्दोलनमा सक्रियतापुर्वक लागेका उनी जनआन्दोलनको सफलतापछि राजनीतिमै लागे । सहिद दर्शनका दाजु सत्यनारायण यादवका अनुसार उनी तत्कालीन नेकपा एमालेबाट त्यस बेलाको मलेकपुर गाउँ विकास समितिको उपाध्यक्ष पदमा समेत निर्वाचित भए । पार्टीप्रति पूर्ण रूपले समर्पित कार्यकर्ता दर्शनलाल यादव गाउँ र जिल्लास्तरमा हुने पार्टीका हरेक कार्यक्रममा सक्रियापूर्वक सहभागी हुन्थे ।
तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएपछि सुरु भएको जनआन्दोलन–२ मा उनी सदरमुकाम राजविराजमा हुने संयुक्त आन्दोलनका दैनिक सहभागी थिए । दाजु सत्यनारायण भन्छन्, ‘आन्दोलनमा सहभागी हुन जानु छ भन्दै उनी दैनिक राजविराज पुग्थे, नारा जुलुसमा सहभागी भएर साँझ घर फर्किन्थे । ‘माओवादी जनयुद्धमा जेठा छोरा विनोदलाई गुमाइसकेका दर्शनलालको आँखाभित्र ज्ञानेन्द्रको निरंकुश शासन ढाल्ने आत्मविश्वास थियो,’ दाजु सत्यनारायणले भने, ‘कुनै दिन घरमा रोक्दा पनि उनी अनेक बहाना बनाएर आन्दोलनमा सहभागी हुन राजविराज जान्थे ।’
संयुक्त जनआन्दोलन परिचालन समितिको आह्वानमा ०६२ साल चैत २४ गते राजविराजमा आयोजित मसाल जुलुसमा सहभागी भएका दर्शनलाल राजविराजको राममन्दिर नजिक प्रहरीसँगको झडपमा परे । प्रहरीको गोली लागी उनको ज्यान गएको थियो । ‘घरमा खाना खाएर आन्दोलनका लागि राजविराज गएका भाइ दर्शनलाल साँझ घर फर्किएनन्,’ उनी सहादत भएको दिन सम्झिँदै दाजु सत्यनारायणले भने, ‘उनलाई गोली लागी मृत्यु भएको खबरसँगै हाम्रो परिवारमा बज्रपात नै पर्यो ।’
सहिद दर्शनलाल यादवकी दुईवटी श्रीमती थिइन् । जेठी इन्दुवतीदेवी यादवको गतवर्ष मंसिरमा निधन भयो भने कान्छी बच्चीदेवी यादव अहिले जीवित छिन् । जेठीतर्फ विनोद, सरोज र योगेन्द्र गरी तीनवटा छोरा र कान्छीतर्फका प्रमोद र दीपेन्द्र दुई छोरा छन् । पाँचभाइ छोरा मध्ये सबैभन्दा जेठो विनोद माओवादी जनयुद्धका क्रममा मारिएका थिए । उनी माओवादीका कार्यकर्ता थिए । ‘दाइ विनोद माओवादी कार्यकर्ता भएकाले मेरो घरमा आएर आश्रय लिएर सुरक्षित हुनेहरू मन्त्री, सांसदसम्म हुन भ्याए तर हाम्रो परिवारलाई हेर्न माओवादीका कोही आएनन्,’ भाइ सरोजले भने ।
जनआन्दोलन–२ का प्रथम सहिद दर्शनलाल यादवका छोरा सरोज (रातो भेस्ट लगाएका) सँगै सहिदका दाजु सत्यनारायण र भाइ चन्द्रकान्त यादव सँगै छिमेकी (मास्क लगाएका) सहिदको घरमा । तस्बिर : अवधेशकुमार झा/कान्तिपुर
प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका सरोज बेरोजगार भई गाउँमै बस्छन् भने प्रमोद सरकारीमा काम गर्छन् । दीपेन्द्र पनि बेरोजगार नै छन् भने कान्छा भाइ योगेन्द्र बीएआरआईटीमा अध्ययनरत रहेको सरोजले बताए । ‘बुवा र दाइको नाममा राज्यले १०–१० लाख रुपैयाँ दियो,’ सरोजले भने, ‘त्यसपछि राज्यले सहिद परिवारप्रतिको आफ्नो दायित्व बिर्सियो ।’ खेतीपातीका नाममा यो परिवारसँग अहिले एक बिघा खेत छ । ‘एक बिघाको उब्जाउले कति दिन चल्ने हो, ठूलो परिवार छ, हामी सबै दाजुभाइ बेरोजगार छौं,’ सरोजले भने । तत्कालीन सरकारले ३ हजार ५ सयका दरले दुवै आमालाई भत्ता दिन सुरु गरेको उनी सुनाउँछन् । ‘गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीकालमा दिन सुरु गरिएको ३ हजार ५ सय रुपैयाँमा यतिका वर्ष बितिसक्दा पनि वृद्धि गरिएको छैन, अहिले पनि त्यही ३ हजार ५ सयको भर छ,’ सरोजले भने ।
बुवा तत्कालीन एमालेका कार्यकर्ता भएका कारण पार्टीका नेताहरू पटकपटक प्रधानमन्त्री हुँदा सम्पर्कमा गए पनि तिरस्कारबाहेक केही नपाएको सरोजको गुनासो छ । ‘कुनै रोजगार दिलाइदिन कैयौं पटक सिंहदरबार धाइयो,’ उनले भने, ‘तर सिंहदरबार सहिद परिवारप्रति उदार भएको कहिल्यै आभास भएन ।’ ‘उच्च तहका प्रशासकले लज्जित बनाए,’ सरोजले थपे, ‘प्रशासकहरूले कति सहिद परिवारलाई पाल्नु, यस्ता सहिद धेरै भए नेपालमा, १० लाख दिएकै हो अब कति पाल्नु भन्दै पटक पटक मगन्तेको व्यवहार र लज्जित बनाउन थालेपछि जान छोडे ।’
सहिदका दाजुभाइ र छोरा सरोजसँग कुरा गरिइरहेका बेला सहिद दर्शनलालकी कान्छी श्रीमती बच्चीदेवी पनि खेतबाट घर पुगिन् । ‘हाम्रो जीवन त जेनतेन चलिइरहेको छ, को छ र हामीलाई हेर्ने ?’ भावुक मुद्रामा उनले भनिन्, ‘कमसेकम छोरालाई जागिर दिएको भए हाम्रो परिवारको हातमुख जोर्ने आधार हुन्थ्यो ।’ सहिद परिवारको एउटै भनाइ छ, राज्यले केही दिन सक्दैन भन्ने हामीलाई मगन्ते जस्तो व्यवहार गरेर लज्जित बनाउने कार्य नहोस् ।