कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एक महिनामा ५० हजार पीसीआर परीक्षण गरिने

विभिन्न स्थानमा परीक्षण बढाउँदै कोभिड–१९ संक्रमणको वास्तविक स्थिति पत्ता लगाउन र स्थान विशेषमा लकडाउन आवश्यक रहे/नरहेको निक्र्योल गर्न विज्ञहरुको सुझाव
अतुल मिश्र

काठमाडौँ — सरकारले एक महिनाभित्र देशभर ५० हजार पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्ने भएको छ । उदयपुरमा कोभिड–१९ को संक्रमण समुदायमा सरेपछि त्यहाँसहित देशभरको वास्तविक स्थिति पत्ता लगाउन परीक्षणलाई व्यापकता दिन लागिएको हो ।

एक महिनामा ५० हजार पीसीआर परीक्षण गरिने

उक्त क्षेत्रमा संक्रमण कुन हदसम्म फैलिएको भन्नेबारे हाल एक संयन्त्र प्रयोग गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

‘उदयपुरमा देखिएको संक्रमण कहाँसम्म फैलिएको छ भन्नेबारे विस्तृत रूपमा खोज्न एउटा विशेष टोली खटिएको छ,’ उनले भने । उनले अहिले देखिएको संक्रमणको अवधि पत्ता लगाउनु आवश्यक रहेकोमा जोड दिए । विज्ञहरुले जति धेरै पीसीआर परीक्षण भयो, उति संक्रमणको अवस्थाबारे थाहा हुने बताउँदै आएका छन् ।

१९ दिनअघि मुलुक संक्रमणको दोस्रो चरणमा गएको थियो । दुबईबाट फर्किएका कैलालीका एक युवकमा कोरोना संक्रमण देखिएको थियो । भ्रमण इतिहास नरहेको निजकी ३४ वर्षीय भाउजूमा समेत पीसीआर ‘पोजिटिभ’ देखिएपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा गएको सरकारले जनाएको थियो । मंगलबार उदयपुरमा थप ११ जनामा संक्रमण देखियो । सोपश्चात् केही विज्ञले संक्रमण समुदायस्तरमा पुगेको भन्दै यसलाई तेस्रो चरणसमेत भनेका छन् । यद्यपि संक्रमण दोस्रो वा तेस्रो चरणमा हो भन्नेबारे विज्ञहरुमा एकमत देखिएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका संक्रमित २४ जनाको कन्ट्याक्ट ट्रेसिङको प्रतिवेदन आएपछि सरकारले संक्रमणको विस्तारबारे थप स्पष्ट पार्नेछ । ‘सरकारले कन्ट्याक्ट ट्रेसिङ बढाएर मुलुकमा संक्रमणको चरण पहिचान गर्नुपर्छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ‘हामी अहिले दोस्रो चरणमा छौं वा तेस्रो चरणतिर जान लागेका छौं, यसको स्पष्ट पहिचान आवश्यक छ ।’ हाल मुलुकमा देखिएको कोभिड–१९ संक्रमणको गति सबैभन्दा महत्त्वपूर्ण हुने औंल्याउँदै डा. वन्त भन्छन्, ‘अहिले संक्रमण कुन गतिले बढिरहेको यो जान्नु अत्यन्त आवश्यक छ, किनभने कोभिड–१९ ले पार्ने प्रभाव संक्रमणको दरमा भर पर्छ ।’

विशेषज्ञहरुले संक्रमण देखिएकाहरुको सावधानीपूर्वक कन्ट्याक्ट ट्रेसिङ गर्नुको साथै क्वारेन्टाइन, होम क्वारेन्टाइन, आइसोलेसन (लक्षण देखिएकाहरुलाई) मा राख्दै परीक्षण र उपचारसमेत बढाउनुपर्नेमा जोड दिइरहेका छन् । उदयपुरमा अझै कोभिड–१९ संक्रमित पाउने सम्भावना रहेकोले परीक्षण बढाएर त्यहाँ एक–डेढ महिनाका लागि पूर्ण लकडाउन गर्नुपर्ने देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ बताउँछन् । उनका अनुसार इन्डोनेसिया तेस्रो चरणमा गएको छ भने साढे ६ सय जनाको मृत्यु र साढे १५ हजारभन्दा बढीमा संक्रमण देखिएको भारत अझै दोस्रो चरणमा रहेको मानिएको छ ।

‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार स्पोरडिक (फाट्टफुट्ट) रूपमा कोभिड–१९ को एकभन्दा बढी केस देखिनु पहिलो चरणनै हो,’ उनले भने, ‘हाल उदयपुर, धनगढी वीरगन्जमा समूहमा संक्रमण (क्लस्टर अफ केस) देखिएको छ, यो संक्रमणको दोस्रो चरण नै हो । अझैसम्म मुलुक संक्रमणको तेस्रो चरणमा गएको छैन ।’ महानिर्देशक श्रेष्ठले समेत बढीभन्दा बढी परीक्षण आवश्यक रहेकोमा जोड दिए । ‘हामीले हालसम्म एउटा बिरामी पहिचान गर्न ३ सय मात्र परीक्षण गरेका छौं,’ उनले भने, ‘यसकारण पनि वास्तविक अवस्था थाहा पाउन मुलुकभर ठूलो परिमाणमा परीक्षणमा जाने भनिएको हो ।’

कोभिड–१९ संक्रमणमा नेपाल विश्वभर देखिएको अवस्थाको अपवाद हुन नसक्ने औंल्याउँदै उनले संक्रमणको यकिन स्थिति पत्ता लगाउन परीक्षण बढाउनुको साथै अस्पताल, मानवीय संशाधन, औषधि र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रसमेत उदयपुरमा थपिएका संक्रमितपछि पनि मुलुक संक्रमणको दोस्रो चरणमै रहेको दाबी गर्छन् । ‘हालसम्म हामीकहाँ संक्रमण स्पोरोडिक (फाट्टफुट्ट) नै छ, यसैले संक्रमणको दोस्रो चरणमै छ,’ उनले भने, ‘यद्यपि स्थानीय संक्रमण भने बढ्दो छ ।’

लकडाउन जरुरी छ ?

मुलुकका विभिन्न ठाउँमा परीक्षण गरी त्यहाँ कोभिड–१९ संक्रमणको वास्तविक स्थिति पत्ता लगाएर स्थान विशेषमा मात्रै लकडाउन आवश्यक रहे–नरहेको निक्र्योल गर्न विज्ञहरुले सुझाएका छन् । ‘लकडाउन खोल्ने–नखोल्ने सरकारले निर्णय गर्ने हो तर प्राविधिक रूपमा आवश्यकता नभएको ठाउँमा किन लकडाउन गर्ने ?,’ श्रेष्ठले भने, ‘भविष्यमा दायरा थप विस्तार गरेर गरिने परीक्षणले बताउँछ कि कहाँ लकडाउन आवश्यक छ, कहाँ छैन ।’

उनका अनुसार काठमाडौंमा एक/दुई साता सघन परीक्षण गरी नयाँ संक्रमित नभेटिँदासम्म स्थानीय स्तरमा लकडाउन खोल्न सकिन्छ । यसका लागि आवश्यक सबै सावधानी भने अपनाउनुपर्छ । लकडाउन हटाइएको स्थानमा अन्यत्रैबाट आउने जोकोहीले कम्तीमा तीन साता क्वारेन्टाइनमा बस्नुपर्ने नियमलाई समेत कडाइका साथ लागू गराउनुपर्छ ।

कोभिड–१९ को संक्रमण थप विस्तार हुन नदिन ‘इपिडेमिक कर्भ’ लाई तल नै राख्नुपर्ने औंल्याउँछन् डा. मिश्र । अस्पतालमा सम्भाव्य संक्रमितको परीक्षण, आइसोलेसनमा उपचार एवं अस्पतालबाहिर कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन र क्वारेन्टाइनको क्षमता बढाउनुपर्ने उनको सुझाव छ ।

थपिए ३ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ३ जनामा कोभिड–१९ संक्रमण भेटिएको जनाएको छ । यससँगै संक्रमितको संख्या ४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोभिड–१९ संक्रमण पहिचान भएको जानकारी दिए ।

हालसम्म मुलुकमा ९ हजार ११ नमुनाको पीसीआर परीक्षण गरिएको छ । गत २४ घण्टामा (बुधबार) २ सय ४८ वटा नमुनाको पीसीआर परीक्षण गरिएको छ । आरडीटीबाट भने हालसम्म ३१ हजार ४ सय २० नमुनाको परीक्षण गरिएको छ । २४ घण्टामा मात्रै ३ हजार ४ सय ६४ वटा नमुना जाँच भएको छ ।

हाल देशभरि ८ हजार ५ सय ९५ जना क्वारेन्टाइनमा छन् भने उपत्यकामा ३ र उपत्यकाबाहिर ९२ गरी ९५ जना आइसोलेसनमा छन् । विभिन्न अस्पतालमा कोभिड–१९ संक्रमित ३८ जना उपचाररत छन् । ७ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित : वैशाख ११, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?