यूएनएफपीएले सरकारलाई दियो १२ सय पीपीई- समाचार - कान्तिपुर समाचार

यूएनएफपीएले सरकारलाई दियो १२ सय पीपीई

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए)ले सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । संस्थाले सोमबार स्वास्थ्य सेवा विभागलाई १२ सय पीपीई थान पीपीई हस्तान्तरण गरेको थियो ।

चीनबाट खरिद गरिएका पीपीई तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको भएको यूएनएफपीए नेपाल प्रतिनिधि लुब्ना बाकीले बताइन् । ‘नेपालमा कोभिड–१९ संक्रमणको बढ्दो संख्या पुष्टि भएसँगै अग्रपंक्तिमा गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण छ,’ उनले भनिन्, ‘अन्य सहयोग आवश्यक पर्दा पनि संस्थाले सघाउनेछ ।’ सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शुकभर्स, लङ स्लिभ् गाउन, डिस्पोजेबल ब्याग र गमबुटसहितका यी पीपीई विश्व स्वास्थ्य संगठनको मापदण्डकै भएको उनले जानकारी दिइन् ।

यी पीपीईले कोभिड–१९ को महामारी प्रतिकार्यमा महत्वपूर्ण सहयोग पुग्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले बताए ।

पीपीई सहयोगका साथै यूएनएफपीएले सामुदायिक क्वारेन्टनइनमा बसेका महिला र किशोरीलाई सरसफाईका सामग्री पनि उपलब्ध गराइरहेको संस्थाका संचार अधिकृत सन्तोष क्षेत्रीले बताए । अहिले प्रदेश २ र ५ मा सरसफाई सामग्री हस्तान्तरण भैसकेको र अन्य प्रदेशका स्थानीय तहसँग सहकार्य भैरहेको उनले बताए ।



प्रकाशित : वैशाख १०, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्

जेल र प्रहरी हिरासत कक्षमा पनि कोरोना परीक्षण

मातृका दाहाल

काठमाडौँ — विभिन्‍न अपराध आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरी थुनुवा कक्षमा राख्नु अघि अनिवार्य रुपमा कोरोना परीक्षण गराउन थालिएको छ । थुनुवा नियन्त्रणमा लिदा खटिने सुरक्षाकर्मीको पनि आरडीटी गराउन सुरु गरिएको छ । परीक्षण नगरिएका थुनुवालाई भिन्‍नै कक्षमा राखिएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले विभिन्न कसुरमा पक्राउ परेका आरोपित र पक्राउ गर्न खटिएका सुरक्षाकर्मीको आरडीटी गराएर मात्रै थुनुवा कक्षमा प्रवेश दिने व्यवस्था लागू गरिएको बताए ।

‘मानिस नियन्त्रणमा लिएर थुनुवा कक्षमा राख्नु पर्ने अवस्था आएमा उनीहरुको अनिवार्य रुपमा कोरोना परीक्षण हुने व्यवस्था मिलाइएको छ,’ पोखरेलले भने, ‘त्यस्ता मानिस नियन्त्रणमा लिन खटिने सुरक्षाकर्मीले पनि सम्बन्धीत अस्पतालबाट आरडीटी गराउनुपर्नेछ ।’

केही दिन अघिबाटै उपत्यकाका परिसर, वृत्त तथा प्रभागको हिरासतमा रहेका सबै थुनुवाई कोरोना परीक्षण गराइएको छ । थुनुवाहरुलाई टेकुस्थित अस्पतालमा परीक्षण्णको व्यवस्था मिलाइएको छ ।

यसैगरी कारागार व्यवस्थापन विभागले उपत्यका, तराई/मधेस तथा कतिपय पहाडी जिल्लाका कारागारका बन्दीलाई पनि आरडीटी परीक्षण सुरु गरेको छ । विभागका महानिर्देशक प्रदीपराज कणेलले खाद्यान्न, तरकारी किन्न निस्किने, स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिदा तथा अदालति प्रक्रियामा ओहोरदोहोर गर्ने कैदीको आरडीटी गर्ने गरिएको बताए ।

'सम्भव भएसम्म कैदीबन्दी सबैको कोरोना परीक्षण गर्ने योजना छ तर अहले उपत्यका, तराई/मधेस, कास्की तथा केही पहाडी जिल्लाका कारागारमा रहेका थुनुवा जो बाहिरभित्र गरिरहनु पर्छ, उनीहरुको आरडीटी सुरु गरिएको छ,’ महानिर्देशक कणेलले भने, ‘सम्भव हुँदासम्म सबै बन्दीको परीक्षण गर्ने सोचमा छौं ।’

संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि पछिल्लो समय बाहिरका मानिसलाई कैदीबन्दीसँग भेटघाटमा रोक लगाइएको उनले बताए । देशभर करिब २४ हजार कैदीबन्दी छन् । उनीहरु सबैको एकैपटक परीक्षण गर्न सम्भव नभएको उनले बताए ।

प्रकाशित : वैशाख १०, २०७७ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×