१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जेल र प्रहरी हिरासत कक्षमा पनि कोरोना परीक्षण

मातृका दाहाल

काठमाडौँ — विभिन्‍न अपराध आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरी थुनुवा कक्षमा राख्नु अघि अनिवार्य रुपमा कोरोना परीक्षण गराउन थालिएको छ । थुनुवा नियन्त्रणमा लिदा खटिने सुरक्षाकर्मीको पनि आरडीटी गराउन सुरु गरिएको छ । परीक्षण नगरिएका थुनुवालाई भिन्‍नै कक्षमा राखिएको छ ।

जेल र प्रहरी हिरासत कक्षमा पनि कोरोना परीक्षण

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले विभिन्न कसुरमा पक्राउ परेका आरोपित र पक्राउ गर्न खटिएका सुरक्षाकर्मीको आरडीटी गराएर मात्रै थुनुवा कक्षमा प्रवेश दिने व्यवस्था लागू गरिएको बताए ।

‘मानिस नियन्त्रणमा लिएर थुनुवा कक्षमा राख्नु पर्ने अवस्था आएमा उनीहरुको अनिवार्य रुपमा कोरोना परीक्षण हुने व्यवस्था मिलाइएको छ,’ पोखरेलले भने, ‘त्यस्ता मानिस नियन्त्रणमा लिन खटिने सुरक्षाकर्मीले पनि सम्बन्धीत अस्पतालबाट आरडीटी गराउनुपर्नेछ ।’

केही दिन अघिबाटै उपत्यकाका परिसर, वृत्त तथा प्रभागको हिरासतमा रहेका सबै थुनुवाई कोरोना परीक्षण गराइएको छ । थुनुवाहरुलाई टेकुस्थित अस्पतालमा परीक्षण्णको व्यवस्था मिलाइएको छ ।

यसैगरी कारागार व्यवस्थापन विभागले उपत्यका, तराई/मधेस तथा कतिपय पहाडी जिल्लाका कारागारका बन्दीलाई पनि आरडीटी परीक्षण सुरु गरेको छ । विभागका महानिर्देशक प्रदीपराज कणेलले खाद्यान्न, तरकारी किन्न निस्किने, स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिदा तथा अदालति प्रक्रियामा ओहोरदोहोर गर्ने कैदीको आरडीटी गर्ने गरिएको बताए ।

'सम्भव भएसम्म कैदीबन्दी सबैको कोरोना परीक्षण गर्ने योजना छ तर अहले उपत्यका, तराई/मधेस, कास्की तथा केही पहाडी जिल्लाका कारागारमा रहेका थुनुवा जो बाहिरभित्र गरिरहनु पर्छ, उनीहरुको आरडीटी सुरु गरिएको छ,’ महानिर्देशक कणेलले भने, ‘सम्भव हुँदासम्म सबै बन्दीको परीक्षण गर्ने सोचमा छौं ।’

संक्रमण रोकथाम तथा नियन्त्रणकै लागि पछिल्लो समय बाहिरका मानिसलाई कैदीबन्दीसँग भेटघाटमा रोक लगाइएको उनले बताए । देशभर करिब २४ हजार कैदीबन्दी छन् । उनीहरु सबैको एकैपटक परीक्षण गर्न सम्भव नभएको उनले बताए ।

प्रकाशित : वैशाख १०, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?