कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तस्करको तारोमा साल-खयर

जनकपुर/रौतहट/महोत्तरी — धनुषाको मिथिला नगरपालिका ११ स्थित तल्लो तुलसी ढाडखोलाको तिरैतिर लहलहाउँदो छ, सुन्दर सामुदायिक वन । सामुदायिक वनको एरिया सक्दै सुरु हुन्छ, राष्ट्रिय वनको क्षेत्र ।

तस्करको तारोमा साल-खयर

साल र खयरकै धेरैजसो रूख रहेकाले यी दुवै वन काठ तस्करको जहिल्यै तारो बन्छ । लकडाउनले त काठ तस्करलाई झन् सजिलो बनाइदिएको छ ।

कोरोना भाइरसको महामारीले स्थानीय घरमै र प्रहरी बस्ती केन्द्रित सुरक्षामा खुम्चिएपछि धनुषाको सुन्दर सामुदायिक वन र सँगै रहेको राष्ट्रिय वनबाट साल र खयरको काठ तस्करी तीव्र बनेको छ । तस्करसँग स्थानीय र सामुदायिक वनकै पदाधिकारीको साँठगाँठ बढेपछि लकडाउनमा वन जोगाउन झन् जोखिम छ ।

धनुषाको तल्लो तुलसीको वन क्षेत्र सखुवा र खयरको खानी नै हो । त्यो क्षेत्रबाट काटिएको सखुवा र खयर सःमिललाई बेचिन्छ । महोत्तरीको बर्दिबास, बिजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी र जमुनीबासका सःमिलहरूमा तस्करीको काठ बेच्ने गरिएको वनका अधिकारीहरू बताउँछन् । धनुषाको मिथिला नगरपालिका-७ स्थित औरही खोला र बसी खोलाको सिरानमा रहेको वन क्षेत्रबाट पनि अहिले काठ तस्करी बढेको छ ।

प्रदेश-२ मा वन तस्करीमा सहयोग गर्ने वन कार्यालयका केही कर्मचारीलाई निलम्बन गरिएको छ । ‘लकडाउनको बेला सबैजना घरमै रहेको बेला काठ बेचेर कमाउने दाउमा रहेका कर्मचारीको पहिचान गरेर निलम्बन काम थालिएको छ,’ प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेशले भने, ‘तस्करी बढेको गुनासो आएपछि वन क्षेत्रमा सुरक्षाकर्मी र वनकर्मीको परिचालन बढाइएको छ । डीएफओहरूलाई पनि फिल्डमै खटाइएको छ ।’

लकडाउनको मौका छोपी महोत्तरीमा पनि वन फँडानी तीव्र छ । सालका ठुूला रूख र सालका लाथ्राहरू कटान भएका छन् । बर्दिबास नगरपालिका-३ स्थित पानिखोल्सी रातमाटा सामुदायिक वनमा अहिले काठ तस्करी बढेको छ । २ सय २२ हेक्टरमा फैलिएको वनक्षेत्रमा लकडाउनमा घरमा बसेका मानिस वनमा घाँस-दाउरा गर्ने वहानामा पस्नेको संख्या ≈वातै बढेको स्थानीय बताउँछन् । पानीखोल्सी वन क्षेत्रमा हेटौंडा-ढल्केवर विद्युत् प्रसारण लाइनमा परेर २ वर्षअघि कटान गरिएका रूखका काठ पनि अहिले धमाधम चोरी भइरहेको छ ।

सो वन क्षेत्रमा मात्रै प्रसारण लाइनमा पर्ने १२ सय ३४ रूख कटान भएका थिए । कटान भएका रूखका काठ घाटगद्दीबाटै अहिले चोरी भइरहेको भए पनि वनले त्यसको संरक्षमा चासो देखाएको छैन । उक्त फँडानी भएको क्षेत्रमा ८ हजार क्युफिट काठ सामुदायिक वनभित्रै घाटगद्दी गरिएको थियो । पानीखोल्सी सामुदायिक वनका अध्यक्ष माधव पोखरेलले भने वनमा कुनै किसिमको फँडानी र चोरीनिकासी नभएको दाबी गरे ।

वन कार्यालय महोत्तरीले भने अन्य वनको तुलनामा सामुदायिक वनमा अहिले चोरी निकासी बढेको बताएको छ । घाँस दाउराको बहानामा जंगल पस्ने र सालका लाथ्राहरू कटान गर्ने गरेको पाइएको गस्तीमा खटिएका गढण्ता सब-डिभिजन वनका रेन्जर सन्तोष यादवले बताए । ‘हामी रातको समयमा पनि गस्ती गरिरहेकै छौँ,’ यादवले भने, ‘वन फँडानी र चोरीनिकासी गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं ।’

लकडाउनको मौका छोपेर वन र वन्यजन्तुको सिकार बढेपछि डिभिजन वन कार्यालय रौतहटले वन प्रवेशमा कडाइ गरेको छ । यसका लागि डिभिजन वनले ठूलो संख्यामा कर्मचारी र सशस्त्र वन रक्षक परिचालन गरेको छ । लकडाउनका बेला मानिस अनधिकृत रूपमा वन क्षेत्रमा प्रवेश गरी डढेलो लगाउने, वन्यजन्तुको चोरीसिकार गर्ने र वनपैदावारको चोरीनिकासीलगायतका गतिविधि गर्न थालेपछि निषेधमा कडाइ गरेको डिभिजन वन प्रमुख विनोद सिंहले बताए ।

रामधुनीमा ३ पक्राउ

सुनसरी- रामधुनी नगरपालिका-६ बहत्तर बिघा वन क्षेत्रमा सखुवाको अवैध कटान गरी ट्र्याक्टरमा बाहिर ल्याउँदै गरेका तीन जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सोमबार राति पक्राउ पर्नेहरूमा सोही वडाका केशव खड्का, अर्जुन लिम्बू र रोशन राई रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरमा बरामद काठका गोलिया १ सय २० क्युफिट छ ।

सशस्त्रले कारबाहीका लागि उनीहरूसहित काठ लोड गरिएको ट्र्याक्टर र स१प ७४९८ नम्बरको मोटरसाइकल इनरुवास्थित डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ ।

प्रकाशित : वैशाख १०, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?