१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोना संक्रमितको संख्या ४२ पुग्यो, मंगलबारमात्रै ११ थपिए

काठमाडौँ — नेपालका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबारमात्रै थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमितको संख्या ४२ पुग्यो, मंगलबारमात्रै ११ थपिए

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमितहरु उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका १२ जनाको संसर्गमा आएका व्यक्तिहरु हुन् ।

संक्रमण पुष्टिपछि कोसी अस्पतालमा उपचार गराइरहेका १२ जनाको संसर्गमा आएका २६० जनाको नमुना काठमाडौंमा परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका रहेको नुरी मस्जिद वरपरका अन्य ६९ जनाको नमुना परीक्षणका लागि सोमबार नै कोसी अस्पताल विराटनगर पठाइएको थियो ।

कोसी अस्पतालका परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएपछि पुनर्पुष्टिका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरानमा पनि कोरोना पोजिटिभ देखिएपछि उनीहरुलाई थप उपचारका लागि कोसी अस्पताल पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

थप संक्रमित ११ जनामा १८, १८, २०, ३३, ४०, ४१, ५२, र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला र एक जना उमेर नखुलेकी महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । संक्रमण पुष्टि भएकामध्ये ४ जना निको भएर घर फर्किइसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख ९, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?