१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !

विज्ञ भन्छन्, ‘परीक्षणको दायरा बढाउने र कडा लकडाउनको पालना गर्ने’

काठमाडौँ — उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित नुरी मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोभिड–१९ भाइरसको संक्रमण रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश !

भुल्केको नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा गत शुक्रबार नै कोरोना संक्रमण रहेको पुष्टि भइसकेको थियो भने विराटनगरका थप एकजनामा शनिबार संक्रमण भेटिएको थियो । यस्तै, मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी कुल ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएकोमा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि गर्दै संक्रमितको कुल संख्या ४२ पुगेको जनाएको छ ।

सुरुमा कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकजनाको रिपोर्ट आउन बाँकी नै थियो । यस्तोमा पोजिटिभ देखिएका ८ जनालाई भुल्केबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ नै आएको हो । साथै, मंगलबार नै भुल्केकै तीनजनाको काठमाडौंमा परिक्षण गर्दा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

नेपाली सेनाको चिकित्सकीय टोलीले आइतबार २५१ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएकोमा हालसम्म भएको परिक्षणमा तीनजनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ ।

मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुनसक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गर्दा ११ जनामा पोजिटिभ देखिएको हो । उदयपुरमा समुदायमै संक्रमण देखिएसँगै विज्ञले नेपालमा कोरोना संक्रमणको तेस्रो चरण देखिएको संकेत गरेका हुन् ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विदेशबाट आएका व्यक्तिमा मात्र देखिनु पहिलो चरण हो भने उनीहरुको आफन्त तथा छिमेकीमा सर्नुलाई दोस्रो चरण भनिन्छ । त्यसैरी समुदायमा नै फैलिनु तेस्रो चरण हो । उनको अनुसार नेपालमा तेस्रो चरण आउनु भनेको खतराको घण्टी हो ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पनि उदयपुरमा देखिएका संक्रमितहरुको संख्याले नेपालमा भाइरसको संक्रमण समुदाय स्तरमै पुगिसकेको पुष्टि हुने बताए ।

‘यदि सुरुमा पोजिटिभ देखिएका ११ जना भारतीयहरुको बयानलाई सही मान्ने हो भने पनि उनीहरुलाई नेपालमा नै संक्रमण भएको देखिन्छ,’ उनले भने, ‘यस्तोमा त्यो क्षेत्रमा संक्रमितहरुको संख्या ठूलो हुनसक्छ । कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउनुपर्ने देखियो ।’

जनस्वास्थ्य विद् डा. वन्तका अनुसार पनि उदयपुरमा भेटिएका २४ जनामा कोरोना पोजिटिभ कहाँबाट आयो भनेर खोज्न एकदमै जरुरी छ । ‘उनीहरुमा कहाँबाट संक्रमण भएको हो त्यसको खोजी गर्न एकदम जरुरी छ,’ उनले भने, ‘ती संक्रमित बाहिर नै संक्रमित भएर आएका हुन् वा नेपालभित्रै संक्रमित भएका हुन् त्यो पनि सोचनीय विषय हो ।’

विज्ञहरुका अनुसार समुदायमा संक्रमण फैलिएको अवस्थामा झन् सतर्क रहन जरुरी हुन्छ । लकडाउन, सामाजिक दुरीको अलावा सम्भावित संक्रमितको खोजी कार्यलाई पनि तीव्रता दिनुपर्छ ।

‘सरकारले मुख्यतः खोजी प्रणाली चुस्त बनाउनुका साथै सम्भावित संक्रमित समुदायलाई परीक्षणको दायरामा ल्याउनै पर्छ,’ उनले भने, ‘अब त झन् पीसीआर परीक्षणलाई बढाउनुपर्ने देखिन्छ ।’ तेस्रो चरणसम्म आइपुग्दा एउटाबाट अर्कोमा मात्र होइन यसको संख्या अझ बढ्दै जाने भएकाले पनि थप सतर्क हुन आवश्यक रहेको उनको विचार थियो ।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले ट्रयाकिङ र ट्रेसिङको जिम्मा लिएको छ । महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमित व्यक्तिको खोज्ने र परीक्षणको दायरामा ल्याउने काम भइरहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २२ गते नेपालमा कोभिड–१९ भाइरस व्यक्तिबाट व्यक्तिमा सरेको पुष्टि गर्दै संक्रमण दोस्रो चरण, ‘लोकल ट्रान्समिसन’मा प्रवेश गरेको जानकारी गराएको थियो । नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको ठिक १८ दिनपछि तेस्रो चरणमा पनि प्रवेश गरिसकेको पुष्टि भएको छ ।

चैत २२ गते संक्रमित भएको पुष्टि भएकी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त थिइन् । त्यससँगै पहिलोपटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण सरेको पुष्टि भएको थियो ।

नेपालमा देखिएका संक्रमितमध्ये पहिलोपटक विदेशबाट आएका संक्रमित व्यक्तिबाट उनको परिवारमा अर्को सदस्यमा सरेपछि नेपालमा कोरोनाभाइरसको संक्रमणलाई दोस्रो चरण अथवा ‘लोकल ट्रान्समिसन’ भनिएको थियो ।

दोस्रो चरण देखिएसँगै यसअघि विज्ञले नेपालमा कोरोना भाइरसको तेस्रो चरण पनि आउन सक्ने भनेर आंकलन गरेका थिए ।

मंगलबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ भने ती मध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । परीक्षणको दायरा बढाइएसँगै संक्रमितको संख्या पनि बढेको देखिन्छ । नेपालमा मंगलबारसम्म आरडीटी र पीसीआर विधिबाट ३६ हजार ७ सय १९ जनाको परीक्षण भइसकेको छ ।

प्रकाशित : वैशाख ९, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?