१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उद्धार गरेर ल्याइएका मजदुर क्वारेन्टाइनमा नबसी सोझै घरमा

कर्णाली प्रदेश सरकारले प्रदेशमा आउने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो। तर बाहिरी जिल्लाबाट ल्याइएकाहरुको स्वास्थ्य जाँच गर्ने र क्वारेन्टाइनमा राख्नेतर्फ सरोकारवालाको ध्यान पुग्न सकेको छैन।

वीरेन्द्रनगर/कालीकोट/दैलेख — मजदुरीका लागि विभिन्न जिल्लामा गएका कर्णालीवासीलाई सम्बन्धित स्थानीय तहले उद्धार गरे पनि क्वारेन्टाइनमा नराखी सिधै घर पठाउने गरिएको छ।

उद्धार गरेर ल्याइएका मजदुर क्वारेन्टाइनमा नबसी सोझै घरमा

सोमबार राति जाजरकोटका ५० जनालाई बबई नाकाबाट उद्धार गरेर जिल्लातर्फ पठाइयो। उनीहरु सबै सामान्य स्वास्थ्य जाँचपछि आ–आफ्नो घरतिर लागेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले स्थानीय तहको क्वारेन्टाइनमा राख्न भनिए पनि सबै घरतिर लागेको स्विकारे। ‘उद्धार गरिएकाहरु होम क्वारेन्टाइनमा बसिरहेका छन्,’ उनले भने, ‘दुई जना क्वारेन्टाइनमा बसे पनि स्वास्थ्य परीक्षणपछि घरतिर लागेका छन्।’

सल्यानको वनगाडकुपिण्डे नगरपालिकाका ६१ जनालाई आइतबार बबईबाट उद्धार गरी घर पठाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले नगरपालिकालाई क्वारेन्टाइनमा राख्न भने पनि ठाउँ नभएको भन्दै घरतिर पठाइएको बताए। उनका अनुसार जिल्लामा ४ सय ६० बेडको क्वारेन्टाइन भए पनि हाल ३ सय ५ जनालाई मात्रै राखिएको छ। लकडाउनपछि दैलेखका करिब २ सय जनालाई उद्धार गरिएको स्थानीय तहहरुको भनाइ छ। तर, ती सबै आ–आफ्ना घरमा बसिरहेका छन्।

यो अवधिमा बबई नाकाबाट मात्र ७ सय ९० जनाको उद्धार गरिएको प्रहरीको तथ्यांक छ। तीमध्ये हाल सुर्खेतस्थित प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा २ सय ५ जना छन्।

अन्य व्यक्ति घरतिर लागेका छन्। उनीहरुको स्वास्थ्य जाँच गर्ने र क्वारेन्टाइनमा राख्नेतर्फ सरोकारवालाको ध्यान पुग्न सकेको छैन। कर्णाली प्रदेश सरकारले एक साताअघिको मन्त्रिपरिषद् बैठकमा प्रदेशमा आउने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो।

प्रदेश प्रवेश गर्ने प्रमुख नाका (बबई) रहेको भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेण आचार्य उद्धार गरिएकामध्ये अधिकांश व्यक्ति सम्बन्धित स्थानीय तह र जिल्लाको समन्वयमा घरतिर लाग्ने गरेका बताउँछिन्।

‘हामीले नाकामा आएकालाई राख्न सक्ने अवस्था छैन, त्यसैले सम्बन्धित जिल्लामा पठाउने गरेका छौं,’ उनले भनिन्, ‘त्यसरी भित्रिएकालाई सम्बन्धित तहले नै सावधानीसाथ क्वारेन्टाइनमा राख्नुपर्ने हो, तर के भइरहेको छ भन्नेबारे जानकारी छैन।’

सल्यान र जाजरकोटका केही व्यक्तिलाई उद्धार गरी १४ दिनपछि जिल्लामा पठाइएको उनले बताइन्। भेरीगंगा नगरपालिकाले बनाएको क्वारेन्टाइन करिब ६० बेड क्षमताको मात्रै छ। ती सबैमा भेरीगंगाबासी नै बसिरहेका छन्। अन्य स्थानीय तह र जिल्लाका मान्छेलाई राख्दा धान्न नसक्ने उनको भनाइ छ।

उद्धार भएका र क्वारेन्टाइनमा बसेकाहरुको संख्या हेर्दा पनि कति मान्छे घरतिर लागे भन्ने स्पष्ट हुन्छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयका अनुसार सुर्खेतमा ४ सय ३१, हुम्लामा ४, रुकुम पश्चिममा २४, जुम्लामा १५, कालीकोटमा २५, दैलेखमा ५४ जना क्वारेन्टाइनमा बसिरहेका छन्।

तीमध्ये कतिपय आफ्नै तरिकाले जिल्ला पुगेकाहरु पनि छन्। कालीकोटका नरहरिनाथ गाउँपालिकामा चैतयता करिब ४ सय जना घर फर्किएका छन्। ती सबै ‘होम क्वारेन्टाइन’ मा बसिरहेका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘क्वारेन्टाइनमा कतिलाई राख्न सकिन्छ र,’ उनले प्रश्न गरे, ‘त्यसैले घरमै सुरक्षित भएर बस्न भनेका छौं।’ मंगलबार मात्र कोहलपुर, काठमाडौंलगायत ठाउँमा अलपत्र परेका २५ जनालाई उद्धार गरेर ल्याइएको उनले जानकारी दिए।

संक्रमणको जोखिम

उद्धारको बेला पनि कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्ने गरिएको छैन। बस, ट्रक, टिपरमा खचाखच गरेर ओसारपोसार गर्ने गरिएको छ। कालीकोटको तिलागुफा नगरपालिकाले बबईमा अलपत्र २१ जनालाई मंगलबार घर पुर्‍यायो। प्रदेश सरकारको समन्वयमा कालीकोटको जितेसम्म बसमा पठाइएका उनीहरुलाई नगरपालिकाले जितेबाट टिपरमा उद्धार गरेर घर पठाएको हो।

नगरप्रमुख रतनबहादुर शाहीले विभिन्न ठाउँमा अलपत्र परेका ३ सय २८ जनालाई पनि उद्धारको तयारी भइरहको जनाए। उनका अनुसार भारतबाट आएका ६५ जना घर पुगेका छन्। ती सबै आ–आफ्नो घरमा पुगेका छन्।

कालीकोटका स्थानीय तहहरुले आफ्नो पालिकाका बासिन्दा को, कहाँ अलपत्र छन् भन्नेबारे लगत संकलन गरिरहेको जनाएका छन्। उनीहरुले सुर्खेत, काठमाडौंजस्ता प्रमुख सहरमा सम्पर्क व्यक्ति तोकेर उद्धारको काम गरिरहेका छन्। रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालका अनुसार जिल्लाबाहिर विभिन्न ठाउँमा रहेका ५ सय ३१ जनालाई उद्धार गर्नुपर्ने अवस्था छ।

‘हामीले प्रदेश सरकारसँग समन्वय गरेर उद्धारको पहल गरिरहेका छौं,’ उनले भने, ‘बरू यहाँ ल्याएपछि कहाँ राख्ने भन्ने केही समस्या हुन सक्छ।’ पलाँता गाउँपालिकाले भने उद्धार गरेर ल्याएकालाई धौलागोहमा रहेको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले कोहलपुरमा अलपत्र परेका २४ जनालाई उद्धार गरेर धौलागोह पुर्‍याइएको बताए।

बाहिरबाट आएकाहरु सिधै घर पुग्दा गाउँमा त्रास सिर्जना हुने गरेको छ। सोमबार साँझ सल्यान वनगाडकुपिण्डेका ६१ जनालाई स्वास्थ्य परीक्षणबिनै क्वारेन्टाइनमा नराखेर घरमा पठाएपछि आफूहरु त्रसित भएको छिमेकी गाउँ सुर्खेत धारापानीका किरण विकले सुनाए।

उनका अनुसार वनगाडकुपिण्डे नगरपालिका–११ को माझगाउँ र वडा–१२ को थापाचौर धारापानीसँग जोडिएका छन्। ‘बसमा खचाखच आएका थाहा पाएपछि हामीले कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्न प्रशासन र नगरपालिकालाई भनेका थियौं,’ उनले भने, ‘तर हाम्रो कुरा सुनुवाइ भएन, सबै आ–आफ्नो घरतिर गएका छन्।’ विकका अनुसार उनीहरुको आवतजावत निर्बाध भएकोले जोखिम झन् बढेको छ।

प्रकाशित : वैशाख ९, २०७७ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?