जनदबाबपछि मन्त्रालय र डा. पुनका आ-आफ्ना स्पष्टीकरण- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनदबाबपछि मन्त्रालय र डा. पुनका आ-आफ्ना स्पष्टीकरण

कान्तिपुर संवाददता

काठमाडौँ — आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख मेडिकल अधिकृत डाक्टर शेरबहादुर पुनलाई कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रालयले चालेको कदमका लागि सहयोग पुर्‍याउन बोलाएको स्पष्टीकरण दिएको छ ।

डाक्टर पुनले पनि आइतबार नै रामशाहपथस्थित मन्त्रालय पुगेर स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायतलाई भेटे ।

यसअघि आफूले पत्र नहेरेको र मन्त्रालय डाकिएको बताएका पुनले आइतबार भने सञ्चार माध्यममा प्रकाशित सामग्रीले आफ्नो ध्यानाकर्षण भएको र विकसित घटनाक्रमलाई आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको स्पष्टीकरण दिए ।

डा. पुनद्वारा जारी प्रेस विज्ञाप्ति ।

उनले आफ्नो हाजिरी टेकु अस्पतालमै हुने र बोलाएको बेला मन्त्रालय आएर कोभिड–१९ विरुद्धको अभियानमा सघाउ पुर्‍याउने बताएका छन् ।

डाक्टर पुनद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘उक्त पत्रानुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड १९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा छ ।’ साथै उनले आइतबार मन्त्रालयका सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरेको पनि जानकारी दिएका छन् ।

कोरोना भाइरसको अपडेटका लागि आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले मिडियाले अनर्गल प्रचार गर्दै स्वास्थ्य मन्त्री र मन्त्रालयका अधिकारी चरित्रहत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै आइन्दा यस्तो नगर्न पनि चेतावनी दिए ।

तर, उनै विष्टले शनिबार कान्तिपुरसँगको कुराकानीमा भने डाक्टर पुनलाई कुनै थप जिम्मेवारी दिन वा मन्त्रालयको अभियानमा सहयोग पुर्‍याउन बोलाइएको बारेमा केही भनेका थिएनन् । उनले डाक्टर पुनलाई मन्त्रालयले मौखिक रुपमा बोलाउँदा नआएपछि पत्र काटेर बोलाइएको बताएका थिए ।

डाक्टर पुनलाई स्पष्टीकरण सोध्न मन्त्रालय बोलाइएको भन्ने प्रश्नमा सहसचिव विष्टले भनेका थिए, ‘मन्त्रालयले उहाँलाई बोलाउन पनि नपाउने ? उहाँले के काम गर्दै हुनुहुन्छ भनेर बुझ्न बोलाइएको हो ।’ यसलाई स्पष्टीकरण नै भन्न मिल्छ भनेर दोहोर्‍याएर सोधिएको प्रश्नमा विष्टले आक्रोशित हुँदै उल्टै सोधेका थिए, ‘उहाँलाई मन्त्रालय बोलाइएको हो । त्यहाँभन्दा बढी तपाईंलाई किन चाहियो ?’

मन्त्रालयद्वारा डा पुनलाई उपस्थित हुनका लागि पठाइएको पत्र ।

सरुवा रोगको उपचार र अनुसन्धानको क्षेत्रमा नेपालकै दक्ष र वरिष्ठ डाक्टर शेरबहादुर पुनलाई विषम् परिस्थितिमा मन्त्रालय बोलाइएको भन्दै सरकारको सर्वत्र आलोचना भएको थियो । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेका बेला डाक्टर पुनलाई अध्ययन अनुसन्धानमा लगाउनुभन्दा पनि मन्त्रालयमा तानिएको भन्दै आलोचना भएको थियो ।

अस्पतालकै केही चिकित्सक र स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरुको उक्साहटमा डाक्टर पुनलाई स्पष्टीकरण सोधिएको पनि स्रोत बताउँछ ।

तर व्यापक जनदबाब आएपछि मन्त्रालयले अस्पतालको काममा बाधा नपुग्ने गरी कोभिड–१९ को अभियानमा सहयोग पुर्‍याउन आग्रह गरिएको स्पष्टीकरण दिएको हो । जनदबाबपछि डाक्टर पुन र मन्त्रालय दुवै ‘सेफल्यान्डिङ’ मा पुगेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले टिप्पणी गरे ।

यो पनि पढ्नुहोस्ः

दोषीलाई उन्मुक्ति, डाक्टरलाई स्पष्टीकरण

'मैले केही बिराएको छैन, जनचेतना फैलाउने मेरो काम नै हो'

प्रकाशित : वैशाख ७, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेश लकडाउनमा भाइ, अछाममा दिदीको छटपटी

मेनुका ढुंगाना

अछाम — विश्वसँगै नेपाल पनि  कोरोनाको कहरले त्रसित छ । छिमेकी मुलुक चीनबाट देखा परेको यो भाइरसले विश्व नै हल्लाउन थालेपछि नेपाल पनि असुरक्षित भएको महशुस सुरुका दिनमै हुनथालेको थियो । 

भारतका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमित भेटिएको खबर सार्वजनिक भइरहँदा मनमा भुइँचालो आएजस्तै हुन्थ्यो । किनभने अछामका हजारौं दाजुभाइ, दिदिबहिनीको कर्मथलो हो भारत । अनि, धेरै अछामीका परिवारको गुजारा पनि भारतबाटै चलेको छ । त्यहाँ कोरोना भाइरसका संक्रमितहरु भेटिएपछि धमाधम अछामीहरु फर्किन थाले । धनगढी, कोहलपुरबाट दैनिक अछामका लागि छुट्ने गाडीको संख्या वृद्धि भयो ।

अछाम पनि सुदूरपश्चिमका धेरै जोखिम भएको जिल्लामा गनिन थाल्यो । अब भने आफूले थप सर्तकता अपनाएर उनीहरुसँग सोधखोज गर्नु पर्ने भयो । केही दिनयता अछामका अरु विषयवस्तुले समाचारमा ठाउँ पाउन छोडे । मेरो दैनिकि नै भारतबाट आएकाहरु, उनीहरुका परिवार, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग कोरोना भाइरसकै बारे कुराकानी गर्दै समाचार लेख्नमा केन्द्रित रहेको छ । आफू सुरक्षित रहेर रिर्पोटिङ गर्नु आफैंमा चुनौती पनि हो ।

माथि उल्लेख गरिएका कुराहरु मेरो पेशागत जीवनका केही अंशमात्रै हुन् । भारतबाट फर्किएर अछाम पुगेका यात्रुहरुलाई देख्दा घरिघरी लाग्थ्यो आफ्नो घर पुग्ने यी मानिसहरु कति भाग्यमानी छन् । परिवारलाई पनि ढुक्क भयो होला ।

मेरो भाइ पनि बंगलादेशमा छ । ढाका युनिभर्सिटीमा कम्प्युटर इन्जिनियरिङ पढिरहेको छ । ऊ पनि यसैगरि घर आउन पाएको भए संसारकै खुशी मिल्थ्यो होलाझैं लाग्छ ।

मेरो भाइ बंगलादेश पढ्न गएको दुई महिनामात्रै भयो । ऊ पहिलोपटक आफ्नो देशै छोडेर बिरानो ठाउँमा गएको छ । बोली, भाषा, रहनसहन सबै उसलाई नौलो लाग्यो होला । के खायो, कहाँ बस्यो होलाजस्ता प्रश्नहरु मनबाट नहटेकै बेला कोरोनाको कहरले बंगलादेशलाई पनि छोयो ।

अब मलाई अर्को चिन्ता थपियो । भाइ कोरोनाको संक्रमणबाट जोगिन सक्छ की सक्दैन भन्ने चिन्ताले पोलिरहेको छ । उसले एक दिन फोनमा भन्यो, ‘दिदि यतै वरिपरि पनि थुप्रै संक्रमितहरु भेटिएछन् नि ! अब के गर्ने होला ? म घर आउन चाहन्छु । साह्रै छटपटी हुन थाल्यो । म यता बस्नै सक्दिनँ ।’

यही दिनदेखि मनमा सन्नाटा छाएको छ । अखबारका हरेक पाना कोरोनाकै समाचारले ढाकिन थालेछि घरमा पनि तनावको वातावरण सिर्जना भएको छ । काठमाडौंमा बस्ने गाउँका सबैजना फर्किएपछि मेरी आमाले अहिले पनि छोरा आउने बाटो कुरीराखेकि छन् । हरेकपटक समाचार सुन्दा आमाले ‘भाइलाई जसरी हुन्छ घरमा बोलाउ’ भन्दै आँशु खसाउँछिन् । तर, ऊ हामीबाट टाढा छ ।

उता बंगालादेश लकडाउनमा छ । यता नेपालमा लकडाउन छ । ऊ अहिले चाहेर पनि आउन सक्दैन । आमासँग भिडियो कलमा कुरा गर्दा ऊ जबरजस्ती हाँस्छ । आफूलाई कुनै पीडा नभएजस्तै गरि आमासँग बोल्ने प्रयास गर्छ । बोल्दाबोल्दै भावुक हुन्छ । फेरि हाँस्न खोज्छ । ऊ जबरजस्ती खुशी भएको देखाउनु र हाँस्नुको कारण एउटै हो, आमालाई चिन्ता नहोस् । छोरा सुरक्षित छ भन्ने लागोस् । तर उसको छटपटी, पीडा र चिन्ता मसँग कुरा गर्दा भने लुक्दैन । अझै भनौं उसले लुकाउन सक्दैन । किनकी, उसको मूख्य अभिाभावकको भूमिकामा म नै छु । हरेक सुख, दुःख मसँग ढुक्कले साट्न सक्छ ।

कोरोनाको त्रास फैलिँदा भाइको परीक्षा चलिरहेको थियो । अरु विद्यार्थीहरु लकडाउन हुनु पहिला नै नेपाल फर्किए । उता उसको युनिभर्सिटीले परीक्षा क्यान्सिल गरेको थिएन । तत्काल फर्कन पनि अन्योल नै भयो । जब परीक्षा क्यान्सिल भयो तब देशै लकडाउन भयो । विस्तारै होस्टेलको क्यान्टिन बन्द भयो । खाना कहाँ खाने टुंगो भएन, होटेलहरु समेत बन्द छन् । उसलाई फोन गरेर ‘खाना के खाइस् ?’ भनी सोध्दा उसको स्वर मधुरो हुन्छ ।

‘क्यान्टिन बन्द भइसक्यो, बाहिर जान सकिदैन । के खानु र ! बरु ममीले सोध्दा खाना खाइरहेको छ भन्नु,’ उसले यस्तो भनिरहँदा कस्तो समयमा विदेश पठाएछु भन्ने लाग्छ । यता हजारौंका कुरा सुन्दै सरोकारवालालाई घच्घच्याइरहँदा उता भाइका लागि केही गर्न नसकेकोमा पछुतो हुन्छ ।

न कोही आफ्नो मान्छे छन्, न त कसैलाई सोधपुछ नै गर्न सकिन्छ । ऊ हिरासतमा बसेजस्तै भएको छ । यता मनमा अनेकन कुराहरु खेलिरहेका छन् । उता भाइको पेट भोको रहँदा यता आमाबुबाको पेट भोको रहन्छन् । बुबाआमाले दिनहुँ मलाई प्रश्न गर्छन्, ‘तेरो भाइको हालत के छ ? नेपाल आउन सक्छ की नाईँ ? खाना के गर्दैछ ?’ मैले सधैं ढाँटेरै जवाफ दिन्छु । उसलाई ठीक छ । चाडै घर आउनेछ । खाना खाइरहेको छ । तीन दिनयता उसले खाना भने खान पाएको छ । सँगै बस्ने नेपाली विद्यार्थीले केही सहयोग गरेका छन् ।

केही दिन अघिमात्र मलेसिया, भुटान, नाइजेरिया, भारत, पाकिस्तानलगायतका सरकारले आफ्ना विद्यार्थीको उद्दार गरेर स्वदेश लगेपछि बंगलादेशमा अध्ययनरनत नेपाली विद्यार्थी आत्तिएका छन् । बंगलादेशका मेडिकल कलेज इन्जिनियरिङ इन्स्च्यिुट, एग्रिकल्चर तथा भेटेनरी इन्स्च्यिुटमा अध्ययनरत झण्डै एक हजार नेपाली स्वदेश फर्किन चाहेका छन् ।

बंगलादेशमा दिनानुदिन कोरोना संक्रमित बढ्न थालेको, युनिभर्सिटी बन्द भएको र देश नै लकडाउन भएपछि उनीहरु आत्तिन थालेका हुन् । कोरोनाको त्रास कहिलेसम्म रहन्छ भन्ने टुंगो नलागेकाले बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्किने वातावारण सिर्जना गर्नु पर्ने विश्वव्यापी विद्यार्थी संगठन बंगलादेशका सल्लाहकार डाक्टर राजेश साह बताउँछन् । ‘कतिपय कलेजका होस्टेलले तिमीहरुको सरकारलाई भनेर नेपाल जान मिल्छ भने जाओ, हामी होस्टेल बन्द गर्छौ भनिरहेका छन्् । कतिपय युनिभर्सिटीमा ४/५ जनामात्रै नेपाली विद्यार्थी छन् । उनीहरु आत्तिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले नेपाल आउने वातावरण मिलाइ दिनुपर्छ । यता परिवार र उता छोराछोरी आत्तिरहेका छन् । सरकारले केही पहल गरिदिएको भए त्यहाँ अभिभावकबिहीन अवस्थामा आत्तिएर बस्नु पर्ने थिएन ।’

यस्तो विषम परिस्थितमा हरेकले सरकार भएको महसुस गर्न चाहन्छन् । विदेशमा भएकाहरुले स्वदेश फर्किने वातावरण मिलाइदेओस् भन्ने चाहन्छन् । अथवा दूतावासले आफ्ना नागरिकको वास्ता गरोस् भन्ने चाहन्छन् । अहिले हामी पनि यही चाहिरहेका छौं । सरकारले बंगलादेशलगायत अन्य देशमा अलपत्र परेका हजारौं विद्यार्थीको खोजी गरोस् । वास्ता गरोस् । हामी परिवारका सदस्य यस्तो परिस्थितीमा चिन्ता, पीर र छटपटीबाहेक अरु केही देखाउन सक्दैनौं । तर, सरकारले अभिभावकत्व दिन सक्छ । नेपाली दूतावासमार्फत् आफ्ना जनताको खोजी गर्न सक्छ । कम्तिमा नआत्तिन आग्रह गर्नसक्छ ।

संसारै डराएको यो बेलामा आफ्ना नागरिकलाई स्वदेश फर्काइ आफ्नै भूमिमा बस्ने व्यवस्था सरकारले गरोस् । मेरोजस्तै हजारौं परिवारलाई हरेक रात ढुक्कले निद्रा पर्ने वातावरण सरकारले बनाओस् ।

प्रकाशित : वैशाख ७, २०७७ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×