कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'मैले केही बिराएको छैन, जनचेतना फैलाउने मेरो काम नै हो'

'जनतालाई सूचना दिँदा मन्त्रालयले स्पष्टिकरण नै सोधेर पत्र काटेको देख्दा अचम्म लागेको छ'
शेरबहादुर पुन

काठमाडौँ — मैले जहिल्यै पनि आमजनताको हितको काम गर्दै आएको छु । जनमानसलाई सही सूचना दिने र जनचेतना जोगाउने मेरो काम हो । विगत १८ वर्षदेखि म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत छु ।

'मैले केही बिराएको छैन, जनचेतना फैलाउने मेरो काम नै हो'

यो अस्पताल साउथ एसियाकै सरुवा रोग अस्पतालको हब अस्पताल बनोस् भन्ने भिजनका साथ म हिँडिरहेको छु । बाहिरका ठूला अस्पतालले जागिर अफर गर्दा पनि नगएर मैले यस अस्पतालको सेवा गरेको छु ।

सार्स, जापनिज इन्सेफ्लाइटिस, स्वाइन फ्लू, डेंगु ,बर्ड फ्लूजस्ता थुप्रै महामारी देखेको छु । त्यसमा डटेर काम गरेको छु । कोरोना महामारीमा सुरुदेखि नै खटिरहेको हुँ । म त यो अस्पतालको लागि एउटा जिउँदो इतिहासको रुपमा छु ।

आफ्ना अभिव्यक्ति दिँदा केही कुरा गलत बोलेजस्तो मलाई लाग्दैन । जनतालाई सुसूचित गर्ने काम नै गरें जस्तो लाग्छ । मलाई अध्ययन अनुसन्धानमा रुचि छ । त्यसमा घोत्लिरहेको हुन्छु । लेखहरु लेख्छु । केही पाउँला भन्ने आशले त मैले कहिल्यै सोचेको छैन । आममानिसमा जनचेतना जगाउनु नै मेरो लागि प्रमुख हुन्छ ।

बिहीबार मन्त्रालयले मलाई त्यहाँ बोलाएको छ भन्ने खबर थाह पाएँ । के कारणले बोलाइएको हो भन्ने मलाई थाह भएन । त्यो दिनमा निकै नै व्यस्त भएँ । ओपीडी थियो । पीपीई लगाएर काम गर्दै थिएँ । त्यो लगाएपछि फोन पनि उठाउन पाइन । बिरामीहरु अलि बढेका थिए । सनसिटीबाट केसहरु आएको थियो । अस्पतालको निर्देशक डा. सागरराज भण्डारीले ‘तपाईंलाई मन्त्रालय बोलाएको छ रे, जानुस् डा. साब,’ भन्नुभयो ।

त्यस्तो के हतार होला र केही कुराले होला भन्ने सोचिराखेको थिएँ । अर्को दिन शुक्रबार थाह पाएँ मन्त्रालयले हाजिर भएन भनेर पत्र नै काटिसकेको रहेछ । मैले पत्र भने पढ्न पाएको छैन किनकी म घर गइसकेको थिएँ । पत्रमा के छ भनेर मलाई आधिकारिक जानकारी छैन । तर, मैले अनौपचारिक रुपमा सुनें अनुसार मैले मिडियामा गरेका कुराकानीसँग सम्बन्धित कुरा पत्रमा छ । चिठी नै आइसकेपछि मैले के जघन्य अपराध गरेको रहेछु भन्ने लाग्यो ।

सरुवा रोगको जानकारका हिसाबले धेरैले मलाई प्रश्न गर्नुहुन्छ । सोधेपछि भन्नै पर्‍यो । मिडियामा आइराखेको हुन्छ । तर, सधैं मैले भन्ने भनेको रोगका कुरा र संक्रमणबाट बच्ने कुरा त हो । प्राविधिक कुरा भन्ने गरेको छु । पोलिसी लेभलको कुरा गर्ने गरेको छैन । जनतालाई सुझाव दिने काम गरेको छु । सरकारलाई भन्दा पनि जनतालाई सुझाव दिने गरेको हो । यति ससाना कुराको लागि यस्तो गर्नु नपर्ने हो ।

जनतालाई सूचना दिँदा मन्त्रालयले स्पष्टिकरण नै सोधेर पत्र काटेको देख्दा अचम्म लागेको छ । अरु धेरैले पनि बोलेका छन् । उनीहरुलाई पनि त कारबाही गर्नुपर्ने होला नि ? खै त कारबाही ? सधैं मै मात्र टार्गेट हुनुपर्छ भन्ने के छ र ? फाइदाको लागि गरेको भए, बदमासी गरेको भए वा भ्रष्टाचार नै गरेको भए अर्कै कुरा । नत्र यस्तो कदम चाल्नुपर्ने कुरै छैन जस्तो लाग्छ ।

भित्रैभित्रै राजनीति हुने रहेछ । तर, मन्त्रालयको यो कदमलाई मैले नराम्रो रुपमा लिएको छैन । तर, यसले जनचेतना फैलाउने मेरो कामबाट मलाई हतोत्साही बनाउने हो कि भन्ने लागेको छ । राम्रो काम गर्दै जाँदा विभिन्न अड्चन आउँछन् । दुःख पाइन्छ । मैले सहज रुपमा नै लिन्छु । विभिन्न बाधालाई पार गर्दै अगाडि बढ्नुपर्छ । यस्ता कुरामा धेरै अल्झिएँ भने मेरो नियमित काम, अध्ययन र अनुसन्धानमा बाधा पुग्छ ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक हुन् । मिडियामा अभिव्यक्ति दिएको भन्दै शुक्रबार मन्त्रालयले पत्र लेख्दै उनीसँग स्पष्टिकरण सोधिएको छ । यसै सन्दर्भमा बुनु थारुले उनीसँग गरेको कुराकानीमा आधारित ।)

प्रकाशित : वैशाख ६, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?