१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राहत वितरणमा पक्षपात भएको कांग्रेसको आरोप  

सहरबाट पैदल घर फर्किरहेका नागरिकलाई गाउॅ पुग्ने प्रबन्ध मिलाउन आग्रह
मधुसुधन भट्टराई

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले नेकपाले नेतृत्व गरेका स्थानीय तहमा राहत वितरणमा पक्षपात भएको आरोप लगाएको छ । कांग्रेस पदाधिकारीको शनिबार बसेको पदाधिकारी बैठकले राहत वितरण न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्ने निर्णय गरेको हो ।

राहत वितरणमा पक्षपात भएको कांग्रेसको आरोप  

राहत वितरण न्यायोचित भए/नभएको अनुगमन गर्न स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । बैठकले पैदल गाउॅ गइरहेका नागरिक र राहत, परीक्षण र स्वास्थ्य उपचार, स्वास्थ सामग्री अभाव र अनियमितता, विदेशमा रहेका नेपाली, अत्यावश्यक खाद्यान्न उत्पादन र कृषकलाई राहतका विषयमा विभिन्न १६ निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेपछि गरिएको लकडाउनका कारण राजधानीलगायत सहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किरहेका नागरिकलाई गाउॅ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ । बीच बाटोमा पैदल हिँडिरहेका नागरिकलाई भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न पार्टीलाई स्थानीय समितिहरुलाई अपिल गरेको छ ।

केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पुर्‍याउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ । लकडाउनका कारण व्यवसाय र अन्य काम बन्द भएको अवस्थामा निश्चित अवधिको ब्याज मिनाहा र मिनाहा गर्न नसक्ने अवस्था रहेका घटाउने निर्णयमा पुग्न सरकारसॅग माग गरेको छ ।

कोभिड–१९ को परीक्षण समुदायस्तरमा पुर्‍याउन ‘घुम्ती परीक्षण शिविर’ सञ्चालन गर्न माग गरेको छ । नियमित उपचार भइरहेको अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण फैलन सक्ने भन्दै छुट्टै ‘कोरोना उपचार केन्द्र’ व्यवस्था गर्नुपर्ने माग कांग्रेसले अघि सारेको छ । कोरोना बाहेकका रोगका बिरामीले कयौं जिल्लामा सहज उपचार पाउन नसकेको भन्दै बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वय गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्यकर्मीहरुलाई पर्याप्त गुणस्तरीय पीपीई अझैसम्म पुर्‍याउन नसक्नु सरकारको गैर जिम्मेवारी भएको भन्दै सबै अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । स्वास्थ्य सामग्री खरिदको अनियमिततामा संलग्नलाई पदमुक्त गरेर दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न अपिल गरेको छ ।

त्यस्तै विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी, ब्यवसायी एवं अप्ठ्यारोमा परेका सबैको सुरक्षा र राहतका लागि कुटनैतिक पहल बढाउन सरकारलाई आग्रह गर्दै नेपाली दूतावासहरुलाई नेपालीको हितमा विशेष सक्रियता बढाउन अपिल गरेको छ । अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्न आवश्यक अध्ययन र तयारी सुरु गर्न बैठकले सरकारलाई आग्रह गर्दै देशभित्र गर्नुपर्ने व्यवस्थापनको पूर्वतयारीमा ढिलाइ नगर्न पनि सजग गराएको छ ।

महाकाली पारी धार्चुला आइपुगेका नागरिकलगायत अन्य सिमा नाकामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगले प्रवेश दिने र क्वारेन्टाइनमा राख्ने कार्य अझैसम्म नगरिएकोमा दुःख प्रकट गरेको छ । बैठकले मातृ शोकमा परेका युवालाई धार्चुलाबाट नेपाल ल्याई परीक्षण पश्चात् आमाको काममा सरिक हुन दिन र अन्य सबैलाई पनि क्वारेन्टाइनमा राख्ने गरि नेपाल ल्याउन पुनः माग गरेको छ ।

त्यस्तै, कृषकको स्वास्थ्य परीक्षण एवं कृषि क्षेत्रलाई आवश्यक राहतसम्मको प्रबन्ध गर्न र गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : वैशाख ६, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?